१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — दैलेखको डुंगेश्वर गाउँपालिका–५ का वडाध्यक्ष टेकबहादुर भण्डारीसहित ६ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा

डुंगेश्वर–५ को पीपलचौतारा माविको राहत शिक्षक छनोट परीक्षाको गोपनीयता भंग गरी आफ्ना निकटलाई उत्तीर्ण गराएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएकाले वडाध्यक्ष भण्डारीसहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


भण्डारीसँगै उक्त वडा सदस्यसमेत रहेका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर शाही, छनोटमा परेका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकविरुद्ध पनि मुद्दा दायर भएको छ । भण्डारी र शाहीले घनश्याम भण्डारी शिक्षक छनोट भएपछि रिक्त हुने विद्यालयका लेखापाल पदमा नियुक्त गर्ने प्रलोभन दिएर विश्वकर्मालाई समेत परीक्षाको अनियमिततामा संलग्न गराएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।


अख्तियारले सुर्खेतको चौकुने गाउँपालिका–१ को कोटदरबार सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष बलबहादुर कठायतविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कठायतले आफू पदमा रहँदा समूहको बजेट हिनामिना गरेको, वन हेरालुलाई तोकिएको भन्दा बढी तलब दिएको फर्जी भर्पाइ बनाएर ७९ हजार रुपैयाँ भ्रष्टाचार गरेको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


यस्तै अख्तियारले छोटी भन्सार कार्यालय, धनुषाका नायब सुब्बा अहमद रजा अन्सारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्सारीले नेपाल–भारत सीमा बजारबाट घरायसी सामान ल्याउने सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?