मेरो पालामा नेपाल ट्रष्टको जग्गा लिजमा दिएको छैन : देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापनबारे मंगलबार सार्वजनिक श्‍वेतपत्रमा आफूविरुद्ध भ्रम पैदा गरिएको बताएका छन् । 

मेरो पालामा नेपाल ट्रष्टको जग्गा लिजमा दिएको छैन : देउवा

बुधबार विज्ञप्ति जारी गर्दै देउवाले नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्‌ले कुनै निर्णय नगरेको तर आफ्‍नो नाम जोडेर भ्रामक प्रचार गरिएको बताएका छन् ।

‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ,’ देउवाले विज्ञप्तिमा भनेका छन् ।

नेपाल ट्रष्ट ऐन अनुसार ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ भएकाले यसको बोर्डले गर्ने निर्णयमा आफूलाई गाँस्नु राजनीतिक र कानुनी दृष्टिले गलत भएको देउवाले बताएका छन् । ‘प्रथमतः ०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाास्नु राजनीतिक र कानूनी दृष्टिले समेत गलत छ,’ देउवाले भनेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्न आफूलाई ट्रष्टको व्यवस्थापनमा जोडेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

देउवाले कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दबाबलाई निरन्तरता दिन सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित : फाल्गुन १४, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?