बालुवाटारमा ओली-दाहाल छलफल जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भइरहेको छ ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव लगायत विषयमा दुई अध्यक्षबीच बालुवाटारमा छलफल जारी रहेको प्रधानमन्‍त्री एवं नेकपा अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

बालुवाटारमा ओली-दाहाल छलफल जारी

सचिवालयका अनुसार छलफल अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्‍धमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, गौतमलाई राष्ट्रिय सभामा लैजाने शनिबारको प्रस्ताव, संविधान संशोधनका लागि गठन गरिएको भनेको कार्यदलबारे केन्द्रित छ । त्यस्तै अध्यक्षद्वयबीच पार्टी एकताका टुंगिन बाँकी कामबारे छलफल हुने छ ।


राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि नेकपाले गठन गरेको भनिएको संविधान संशोधन कार्यदलका विषयमा चर्को आलोचना भइरहेको छ । नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने कसरतबीच उनको चाहनाबमोजिम संविधान संशोधनको गृहकार्य थालेको हो ।

झलनाथ खनाल संयोजक रहेको एमसीसी अध्ययन कार्यदलले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझावसहित शुक्रबार ओली र दाहाललाई प्रतिवेदन बुझाएको थियो ।


शीर्ष नेताको छलफलपछि आजै नेकपा सचिवालय बैठक बस्‍ने तयारी छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?