२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पाँच किलोमिटरको सकस

पर्वत पोर्तेल

(काँकडभिट्टा) — मुक्ति चोक, बिर्तामोड झापा ।
यो चोकमा पूर्व–पश्चिम र उत्तर–दक्षिण बाटा मिल्छन् । पूर्व लाग्ने बाटो सीमा सहर काँकडभिट्टा ठोक्किन्छ । पश्चिमको बाटो प्र्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकतिर लम्कन्छ ।

पाँच किलोमिटरको सकस

उत्तर लाग्ने बाटो अर्जुनधारा हुँदै इलामको शान्तिपुर पुग्छ । दक्षिणको बाटोले सदरमुकाम चन्द्रगढी–भद्रपुर हुँदै भारतको विहार जोड्छ ।


मुक्ति चोकबाट दक्षिण फर्किएर हेरौँ । ५३ फिट चौडा, चार लेनको कालोपत्रे सडक । बीचमा हरिया बिरुवा लहरै उभिएको सडक डिभाइडर । सडकको दुवैतिर झन्डै चारचार फिट चौडाइका ढल । ढलसँगै जोडिएको तीन फिटभन्दा चौडा व्यवस्थित फुटपाथ ।


२०७६ पुससम्ममा बिर्तामोड, मुक्तिचोकदेखि सैनिक मोडसम्मको झन्डै पाँच किलोमिटर बाटो यस्तो हुनुपर्ने थियो । तर छ चाहिँ अर्कै खालको ।


सडकका दायाँबायाँ ढल बनाउन खनिँदै छ । सडकभरि माटो थुपारिएको छ । टेलिफोनका पोल र खानेपानीका पाइप सार्ने हुँदा तार र पाइप छरपस्ट छन् । होटल, लज र निजी घरको फोहोर सडकमा छताछुल्ल पोखिएको छ । बिर्तामोड नगरपालिकाको दमकल बिहान र दिउँसो सडकमा पानी खन्याउँदै कुद्छ । त्यसबेला सडक हिलाम्ये हुन्छ । घामले जमिन सुकाएपछि धुलाम्ये । ग्राभेलमा परेका खाल्डामा भने दमकलले खन्याएको पानी दिनभर जमेको हुन्छ । मुक्ति चोक क्षेत्रमा कल्भर्ट बनाउन थालेकै छैन । फुटपाथ बन्न बाँकी छ ।


मोटरसाइकल यात्री र अन्य सर्वसाधारण मास्क नलगाई हिँडडुल गर्न सक्दैनन् । मुक्ति चोकबाट दक्षिण लाग्नासाथ देखिन्छ सडकको बेहाल ।


बाटो बिजोग भएपछि २०७६ कात्तिक २० गते झापा उद्योग वाणिज्य संघ बिर्तामोडले ढाट तेर्स्याएर एक घण्टा चक्काजाम गरेको थियो । वाणिज्य संघले भनेको थियो– मापदण्डअनुरूप बाटो बनेको छैन, बाटो बन्ने काममा ढिलाइ छ आदि । संघका महासचिव प्रशान्त भण्डारी सम्झिन्छन्, ‘सडक र नगरपालिका कार्यालयलाई पटकपटक ज्ञापन पत्र बुझायौं । तर सडक बनाउनेतिर चासो दिइएन । बाटै बन्द गर्नुपर्‍यो ।’


अझ दक्षिण लागौँ । सानिमा बैंक भएको ठाउँबाट दक्षिण बायाँतिर ढल बनिसकेको छ । तर त्यसलाई छोपिएको भने छैन । त्यसैले मान्छे ढलमा खस्ने खतरा छ । २०७६ असारताका ‘क्वालिटी कम्प्युटर’ को भवन अगाडि ढल बन्दै थियो । ढल बनाउन खनेको खाल्डोमा एकजना यात्री मोटरसाइकलसहित खसेका थिए । मोटरसाइकल र चालक दुवै घाइते भएका थिए ।


अझ दक्षिण भद्रपुरको बस स्टेन्डतिर लागौं । बिर्तामोडबाट दक्षिण भद्रपुर, पृथ्वीनगर, बनियानी, केचना जाने गाडी यात्री पर्खेर यहाँ बस्छन् । सडकपेटीमा गिट्टी–बालुवाको थुप्रो छ । निर्माण सामग्री जथाभावी छरपस्ट छन् । धूलोले बस स्टेन्डको रूप विरूप भएको छ । बस सडकको बीचमै बसेका छन् ।


‘लु छिटो चढौं, छिटो । ढिलो गर्‍यो भने धूलोले पुर्छ,’ गाडीका सहायक कराउँछन् । यात्रीहरू पनि हतारिँदै गाडीभित्र पस्छन् ।


पहिले त्यहाँ गाडी चढ्ने यात्रीको भीडभाड हुन्थ्यो । अहिले छैन । बसिसक्नुभए पो मान्छे बसुन् । अटोरिक्सा चालक सुनिल थापाका अनुसार सडक भत्काएकाले यात्री पाउन मुस्किल छ । भद्रपुर बस स्टप नजिकै यात्री पर्खेर बसेका थापाले धूलोका कारण यात्रुको चाप घटेको सुनाए । ‘यात्री पर्खँदा गाडी र मान्छे धूलैधूलो भइन्छ । बाटो चौडा बनाउन थाल्नुभन्दा अघि सजिलो थियो, अहिले गाह्रो भएको छ ।’


यातायात व्यवसायी राकेश यादवका अनुसार दुई लेनको बाटो फराकिलो पारेर चार लेनको बनाउने भएपछि समस्या उब्जेको छ । बाटो बनाउने भनेर केही समयअघि ट्राफिक प्रहरीले यहाँ बस रोक्न दिएन । ‘ट्राफिक प्रहरीले लखेट्दा बस कहाँ रोक्ने भन्ने ठूलो चिन्ता भएको थियो । केही दिनयता आलोपालो गरी बस त्यहीबाट चल्ने गरेका छन्,’ यादवले भने ।


आफ्नै गाडी हुनेहरू यो बाटो हिँड्न छाडेका छन् । यादव पनि चारआली–चन्द्रगढी रोडबाट हिँड्छन् । त्यो सडकबाट जाँदा भाडा यो बाटोभन्दा झन्डै दोब्बर पर्ने भएकाले सार्वजनिक गाडीमा यात्रा गर्नेहरूचाहिँ यही बाटोमा हिँड्छन् ।


मोटरसाइकल चढ्नेको त हरिबिजोकै देखिन्छ, यो बाटोमा । यहाँबाट अलि तलसम्म पुग्दा धूलोले छोपिएर उनीहरू नचिनिने हुन्छन् । ‘अफिस जाँदा कर्मचारी साथीहरूले चिन्दैनन्, अफिस सकेर घर फर्कंदा घरका मान्छेले चिन्दैनन्,’ नेपाल परिवार नियोजन संघ, झापाकी कार्यालय प्रमुख सुजन काफ्ले भन्छिन् । सुजन जस्ता स्कुटर वा मोटरसाइकल चलाउनेहरू पनि चारआली–चन्द्रगढी रोड नै रुचाउने गर्छन् ।


२०७६ असार १५ गते भद्रपुर बस स्टेन्डको अघिल्तिर सडक आसपासका व्यवसायीले सडकमा रोपाइँ गरेर सरकारलाई व्यंग्य गरेका थिए । ‘लामो समयदेखि सडक हिलाम्ये पारिएकाले रोपाइँ गरेर सांकेतिक विरोध गरेका थियौं,’ व्यवसायी सन्तोष अग्रवालले भने ।


भद्रपुरको गाडी लाग्ने ठाउँदेखि डेढ सय मिटर जति दक्षिण इडन गार्डेन स्कुल छ । त्यहाँदेखि बिर्ता समावेशी टोलसम्म सडकको बीचमा डिभाइडर राख्ने काम थालिएको छ । यसले यात्रीलाई झन् सकसमा पारेको छ । धूलोसँगै छरपस्ट भएका गिट्टीले गर्दा दुर्घटनाको जोखिम बढेको छ ।


निर्माणाधीन सडकमा अहिले ठाउँठाउँमा एउटा बोर्ड राखिएको छ– ‘यहाँ निर्माण कार्य हुँदैछ’ लेखिएको । पहिला त त्यस्तो बोर्ड पनि थिएन । यत्तिले पनि दुर्घटना घटाएको थियो ।


लिटल फ्लावर स्कुलदेखि दक्षिण लागेपछि सडकमा कुइरीमण्डल धूलोको साम्राज्य हुन्छ । यो बाटो फराकिलो पार्न थालेदेखि इडन गार्डेन र लिटल फ्लावर अंग्रेजी स्कुलले अगाडिको गेटबाट विद्यार्थी ल्याउनलैजान छाडे । सडकतिरको गेट खोल्ने ड्युटी घटेका, स्कुलका चौकीदार राजेन्द्र प्रधानले भने, ‘बाटो नबनुन्जेलसम्म अगाडिबाट गाडी हिँडाइएला जस्तो लाग्दैन । पछाडिकै गेट मेनगेट भएको छ ।’

०००

डिभिजन सडक कार्यालय, दमकको मातहतमा रहेको यो बाटो बनाउन २०७४ फागुन २१ गते सूचना प्रकाशित गरी टेन्डर आह्वान गरिएको थियो । सिलबन्दी ठेक्कामा प्रतिस्पर्धा गरेकामध्ये नयाँबाटो, ललितपुरको आशिष–प्रेरा जेभीले यो बाटो बनाउने ठेक्का पाएको थियो । २०७५ असार २४ गते २७ करोड ९ लाखमा ठेक्का सम्झौता भएको थियो ।


ठेक्काको म्याद पुसमा सकियो । तर, अहिलेसम्म आधाउधी काम पनि भएको छैन । यस सडकको काम पहिले राजकिशोर यादवको समूहले गर्थ्यो । उनले २०७५ कात्तिकदेखि करिब एक वर्ष काम गरे । चित्तबुझ्दो काम नगरेको गुनासो स्थानीय बासिन्दाले गरेपछि २०७६ कात्तिकदेखि केदार गिरीले गर्न थाले । डिभिजन सडक कार्यालय दमकका इन्जिनियर चन्द्रेश्वर साहका अनुसार सडक विभागबाट ठेक्का पाएको कम्पनीले व्यवस्थापन (पेटी कन्ट्याक्टर) फेरेको हुनुपर्छ । ‘हाम्रो सम्झौतामा आशिष–प्रेरा जेभी नै ठेकेदार छ । हामी अरूलाई चिन्दैनौँ, जान्दैनौँ ।’


ठेक्का पाएको १८ महिनामा सक्नुपर्ने काम २० महिना बित्न लाग्दा पनि सकिएको छैन । बरु सार्वजनिक खरिद ऐनमा रहेको ६ महिना म्याद थप्न सकिने छिद्र खोजेर म्याद थप्न सडक डिभिजनले विभागमा फाइल पठाएको छ । इन्जिनियर साहले भने, ‘विभागले धेरै त हैन बढीमा ६ महिनासम्म म्याद थप गरिदिन्छ कि भन्ने हाम्रो आशा हो । त्यसो भयो भने अबको ६ महिनामा बाटोका सबै काम सकिन्छ ।’


यो काम नसकिएर के भयो र ? डिभिजन सडक कार्यालयको सडक बनाउने उत्साह घटेको छैन । सो कार्यालयका अनुसार यस खण्डको काम सकिनेबित्तिकै यसै सडकको थप आठ किलोमिटर खण्ड निर्माण सुरु गरिँदै छ । सुरुमा मुक्ति चोकदेखि सैनिक मोडसम्म मात्रै चार लेन बनाउने योजना थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष माघमा चन्द्रगढीसम्मै चार लेनको सडक निर्माण गर्न निर्देशन दिएपछि चन्द्रगढीसम्मैको सडक फराकिलो पार्न र कालोपत्रे गर्न सडक विभाग तयार छ ।


विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का अनुसार करिब आठ किलोमिटर लामो थप चार लेन बाटोका लागि ४० करोडभन्दा बढी खर्च लाग्ने अनुमान छ ।


सडक कार्यालयका प्रमुख यादवले भने, ‘भौतिक मन्त्रालयमा प्रस्ताव पेस भएको छ । भौतिक मन्त्रालयले अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ र सम्भवत: आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन भएर काम सुरु हुनेछ ।’


‘प्रधानमन्त्रीले डीपीआर तयार गर्न र बाटो तत्काल बनाउन निर्देशन दिनुभएकै वर्ष दिन बित्यो, तर अझैसम्म चार किलोमिटर बाटो पनि बनेको छैन, उताको हालत के हुने होला...’ यो बाटो म्यादभित्रै बनिसक्नुपर्छ भनी लगातार दबाब दिँदै आएका, बिर्तामोडको रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोख्रेलले भने ।

०००

काम समयमा नसकिनुमा ठेकेदार कम्पनीको मात्रै दोष रहेनछ । डिभिजन सडक कार्यालयका प्रमुख श्यामकुमार यादवका अनुसार विद्युत् प्राधिकरणले सडकका बिजुली पोल, नेपाल टेलिकमले टेलिफोनको पोल र खानेपानी कार्यालयले जमिनमुनि बिछ्याइएका खानेपानीका पाइप समयमा हटाइदिएको भए यति बेला बाटो तयार भइसक्ने रहेछ ।


‘विद्युत् र टेलिफोनको पोल र खानेपानीको भूमिगत पाइप सार्न २०७५ भदौपछि सम्बद्ध निकायलाई पटकपटक पत्राचार गर्‍यौँ । दर्जनौँ पटक भेला र छलफल गरेपछि विद्युत् र फोनको पोल सार्न ती निकायले बल्ल तदारुकता देखाएका छन्,’ यादवले भने ।


यादवका अनुसार पोल सार्न विद्युत् प्राधिकरणलाई ५३ लाख ७८ हजार र टेलिकमलाई ५ लाख रुपैयाँ भुक्तानी गरिसकिएको छ । प्राधिकरणले करिब सवा सय र टेलिकमले करिब अढाई सय नयाँ पुराना पोल सारेको, हटाएको छ । बिर्तामोड खानेपानी उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङले मुक्ति चोकदेखि सडकको अन्तिम विन्दुसम्म सबै नयाँ पाइप बिछ्याइरहेको बताए ।


सडक आसपासमा बसेको बस्ती हटाउन झनै सकस भयो । २०७६ असार अर्थात् बाटो बनाउन ठेक्का दिएको एक वर्षपछि बल्ल सडक छेउ बसेका २९ घर हटाइयो र बाटो फराकिलो पार्ने ठाउँ खुल्यो ।


तत्कालीन पूर्वाञ्चल सडक डिभिजन नम्बर २ कार्यालय दमकले २०५६ असार ३ गते स्थानीय पत्रिकामा सूचना प्रकाशित गरी सडकको बीच बीचभागबाट दुवैतर्फ १५/१५ मिटर जमिन सडक विभागको हुने भनी सो जग्गा भोगचलन गरेकाहरूलाई त्यहाँबाट हट्न भनेको थियो ।


तर, सडक विभागको हुने भनिएको उक्त जमिनको धनीपुर्जा भने सबै घरसँग थियो । त्यही भएर जमिन र घर दुवैको क्षतिपूर्ति माग गर्दै उनीहरूले २०७५ पुस ४ गते जिल्ला अदालत झापामा मुद्दा दायर गरे । अदालतले पुस २९ गते सडकछेउमा बसेका मानिसलाई नधम्क्याउन, हूलहुज्जत गरी घरजग्गा कब्जा या तोडफोड नगर्न अन्तरिम आदेश जारी गर्‍यो ।


दुई महिनापछि २०७५ चैत ३ गते अदालतले निवेदकहरूले उल्लेख गरेका जग्गामा आफ्नो स्वामित्वको निर्विवाद हक देखिने प्रमाण देखाउन नसकेको र सरकारले क्षतिपूर्तिको प्रबन्ध गरेको भनी उनीहरूलाई हटाउने बाटो खोलिदिएको थियो ।


सडक विभागका अनुसार उनीहरू गैरकानुनी रूपमा सडक छेउमा बसेका थिए । त्यसैले उनीहरूलाई जमिनको मुआब्जा दिन मिल्दैनथ्यो । सडक डिभिजन दमकका प्रमुख श्यामकुमार यादवका अनुसार मन्त्रिपरिषद्ले मुआब्जा उपलब्ध गराउने निर्णय गरेपछि २०७६ असारमा रकम वितरण गरिएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजनाले घरटहराको मूल्यांकन गरी प्रचलित कानुनबमोजिम २९ घरटहराको ४ करोड ४२ लाख ८ हजार रुपैयाँ मुआब्जा उपलब्ध गराउन सडक विभागलाई सिफारिस गरेको थियो ।


‘बस्ती हटाएपछि ठेकेदार कम्पनीलाई काम गर्न सजिलो भएको छ । काम तीव्र गतिमा अघि बढेको छ,’ कार्यालय प्रमुख यादवले भने । ‘तीव्र गतिमा काम अघि बढेको’ सात महिना बितिसक्यो, काम सकिएको छैन ।


२०७५ असोजमा सर्वोच्च अदालतले अर्को छुट्टै मुद्दामा सरकारले बाटोका लागि व्यक्तिको जग्गा लिन सक्ने तर यसो गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो ।

०००

तीव्र गतिमा निर्माण भइरहेको सडक हेर्न अझ अगाडि बढौँ । इडन गार्डेन र लिटिल फ्लावर स्कुलदेखि बिर्ताबजारसम्मको बाटोको हालत स्कुलभन्दा उत्तरतिरकै जस्तो, ऐजन ऐजन छ । बिर्ताबजारमा चाहिँ दुर्गा मन्दिर बाटोका बीचमा गजधम्म उभिएको छ ।


सो मन्दिर त्यहाँबाट हटाउन सडक विभागले नगरपालिकालाई पत्र पठाएको थियो । यसबारेमा बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिम्सिनासँग कुरा गरौँ । सडक फराकिलो पार्न मन्दिर हटाउनैपर्छ भन्ने कुरा उनलाई थाहा छ । तर मन्दिर हटाउन स्थानीय बासिन्दा मञ्जुर नभएकाले सडक फराकिलो पार्न समस्या भएको छ । ‘मन्दिर सारेर अर्को ठाउँमा बनाउन बिर्तामोड नगरपालिकाको पहलमा २२ लाख रुपैयाँ बजेट जुटेको थियो तर केही व्यक्तिले मन्दिर नसार्ने अडान लिएपछि बजेट फिर्ता भयो,’ तिम्सिनाले भने ।


‘मन्दिर अर्को ठाउँमा बनाइदिए यहाँबाट हटाउन आपत्ति छैन तर मन्दिर बन्नुचाहिँ पर्छ,’ मन्दिर समितिका अध्यक्ष विश्वनाथ साहले ढुक्क पार्न खोजे ।


बिर्ताबजारबाट अझ दक्षिण लागौँ । सडकको बायाँ, नगरपालिका कार्यालय भवन आसपास ढल बल्ल खनिँदै छ । सय मिटर जति खाल्डो खन्दै ढल बनाइँदै छ । त्यसभन्दा दक्षिण सैनिक मोडसम्मको दुई सय मिटरमा खण्डमा ढल खन्न थालेको छैन । सैनिक मोड आसपास दुवैतिर करिब पाँच सय मिटर ढल खनिएको छ । बाटोमा ग्राभेल छरिएको छ । सडकमा धूलैधूलो छ ।


‘काम सकिएको ठाउँमा कालोपत्रे गर्न सकिन्थ्यो । तर, ठेकेदारको ध्यान सबै काम सकेर कालोपत्रे गर्नेतिर छ,’ स्थानीय बासिन्दा भीम आचार्यले भने । सडक कार्यालयका इन्जिनीयर चन्द्रेश्वर साहले ढल लगायतका सबै काम नसकी कालोपत्रे गर्दा खर्च बढ्ने बताए । ‘सकिएका ठाउँमा कालोपत्रे गर्न सकिन्छ तर कालोपत्रे गर्ने मेसिन लामो समयसम्म राख्दा खर्च बढ्छ । त्यसैले, अरू काम सकेपछि कालोपत्रे गर्छौं । मेसिनको काम हो, १५ दिनभन्दा बढी लाग्दैन,’ उनले भने । निर्माणको जिम्मा पाएका ठेकेदार केदार गिरीले काम धमाधम भइरहेको र चाँडै पिचिङको काम पनि गर्ने जनाए । उनले भने, ‘कालोपत्रे गर्नुअघि गर्नुपर्ने धेरै काम बाँकी छन् । ती काम सकेर पिच गर्छौँ ।’


सैनिक मोडबाट पूर्व आँखातिर अस्पताल मोडिऔँ । यो कुनोमा ढलका लागि खाल्डो खनिएको थियो । २०७६ भदौ ६ गते सैनिक मोडकै सुमित्रा राई त्यसको छेउबाट हिँड्दा अचानक खाल्डोमा डुबेर मरिन् । उनको शव खाल्डोमा घोप्टिएको अवस्थामा भेटिएको थियो । उनको परिवारलाई ठेकेदारले क्षतिपूर्ति भनेर पाँच लाख रुपैयाँ दिएको थियो ।


सडक बनाउने कार्ययोजना अनुसार, यो ढल २०७६ असार मसान्तसम्ममा अर्थात् सुमित्रा ढलमा परेर बित्नुभन्दा एक महिनाभन्दा पहिल्यै बनिसक्नुपर्ने थियो । जम्मा २ हजार ८ सय मिटर ढल निर्माण गर्नुपर्ने छ । तर, अहिलेसम्म करिब २ हजार २ सय मिटर जति मात्रै ढल बनेको छ । ‘बाँकी ढल र पिचको काम अन्तिमतिर गर्छौँ,’ डिभिजन सडक कार्यालयका साहले भने ।


बाटोको टुंग्यौनी नजिकैको धौला कल्भर्ट छेउमा घुम्ती पसल गरेर बसेकी इन्दिरा निरौलाको दिन पसलको धूलो टकटक्याएरै बित्छ । हत्तपत्त ग्राहक आउँदैनन् । भन्छिन्, ‘पसलमा धूलो जम्छ ।’


आँखा अस्पताल अगाडि दुवैतिर ढल छैन । सडक ग्राभेल चाहिँ भएको छ । करिब डेढ किलोमिटर जति सडकको दायाँबायाँ बाटो बनाउने र कल्भर्ट बनाउने काम जारी छ । ढल बनाउने काम थालेकै छैन ।


ठेक्का लगाएको २० महिनामा पाँच किलोमिटरभन्दा कम बाटो नबनेको यो विषयमा रिपोर्टिङ गरेर फर्कंदा प्रधानमन्त्री केपी ओलीले कान्तिपुर कन्क्लेभमा गरेको उद्घाटनको लाइभ अनलाइनमा आउँदै थियो । उनले भनेको एउटा वाक्य साह्रै घत पर्‍यो, ‘यो काम (सरकारले गर्नुपर्ने काम) आजै गर्नुपरेको छ, भोलि होइन । हामीलाई काम ढिलो गर्ने छुट छैन । असफल हुन हामीलाई छुट छैन ।’


त्यही भएर होला, यो रिपोर्टिङ तयार गरेको समय र यो छापिने समयका बीचमा एउटा प्रगति भएको छ : मुक्ति चोक छेउमा सडक डिभाइडरलाई सिमेन्टका इँटा लगाएर चिटिक्क पारिएको छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?