कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुई पूर्व डीएसपीसहित ११ जनाविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — हुम्लाका तत्कालीन डीएसपीद्वय त्रिलोकबहादुर चन्द र कृष्णबहादुर कुँवरसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दुई पूर्व डीएसपीसहित ११ जनाविरुद्ध मुद्दा

चन्दसहित ५ जनाविरुद्ध शव ओसारेको नक्कली बिल तथ प्रहरी जवानहरूको नक्कली हस्ताक्षर गरी ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । चन्दले मिलेमतोमा हुँदै नभएका कर्मचारीलाई समेत कार्यरत रहेको देखाएर भ्रष्टाचार गरेको समेत अभियोगपत्रमा उल्लेख छ ।


मुद्दा दायर गरिएकामा चन्द, कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्तबहादुर शाही, लेखापाल सई माधवचन्द ठकुरी, लेखा शाखाका सहायक हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्री छन् ।


अख्तियारले करिब २० लाख रुपैयाँ अनियमितताको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाकै अर्का तत्कालीन डीएसपी कृष्णबहादुर कुँवरसहित ९ जनाविरुद्ध पनि अर्को मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएकामा कुँवर, लेखापाल सई माधवचन्द ठकुरी, लेखाशाखामा कार्यरत हवल्दार टंकबहादुर मल्ल, प्रहरी जवान सर्वराज खत्री, कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापालद्वय भक्तबहादुर शाही र भवानीप्रसाद अधिकारी, महालेखा परीक्षण विभागका लेखा परीक्षकहरू प्रेमकुमार अधिकारी, छत्रनाथ शर्मा गैरे र संगीता फुयाल छन् ।


चन्दसहितले मिलेमतोमा जिल्ला प्रहरी कार्यालयमा निकासा भएको बजेटबाट प्रहरी कर्मचारीहरूको २०७१ भदौदेखि २०७२ को भदौ महिनासम्मको तलब, स्थानीय भत्ता तथा राशनसमेतको शीर्षकको तलबी भर्पाइको रकम फरक पारी १९ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

सहायक हवल्दार टंकबहादुर मल्ल, प्रहरी जवान सर्वराज खत्री, कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापालद्वय भक्तबहादुर शाहीविरुद्ध भने दुवै अभियोगमा मुद्दा दायर गरिएको हो ।

प्रकाशित : फाल्गुन १३, २०७६ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?