यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकको बयान सकियो, अभिभावक र छात्राहरुको लिइने

विद्या राई

काठमाडौँ — छात्राहरुलाई यौन दुर्व्यवहारको आरोप लागेका ललितपुर चांगाथलीस्थित नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौलाको सोमबार बयान सकिएको छ ।

उनलाई फागुन ७ मा जिल्ला अदालत ललितपुरले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएपछि पाँच दिनको म्याद लिएर बयान लिइएको थियो ।


अनुसन्धानमा प्रभाव पार्ने भन्दै उनको बयानलाई प्रहरीले सार्वजानिक गरेको छैन । सातदोबाटो प्रहरी वृतका डीएसपी मित्रबन्धु शर्माका अनुसार मंगलबारदेखि दोस्रो पटक सात दिने म्याद थप गरेर पीडित छात्रा र अभिभावकहरुको अनुसन्धान गर्ने प्रक्रिया बढाइएको छ । ‘हामी सबै अनुसन्धान सक्काएर घटनाको यथार्थ विवरण बाहिर ल्याउनेछौं,’ उनले भने ।


मंगलबार नै एक अभिभावकले सातदोबाटो प्रहरीमा गएर घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै जाहेरी दिएका छन् । आरोपी शिक्षक फागुन २ देखि प्रहरी नियन्त्रणमा छन् ।


फागुन १ मा आरोपित शिक्षकले तीन, चार र पाँच कक्षामा पढ्ने छात्राहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितले विद्यालयमा हस्तलिखित सामूहिक उजुरी गरेका थिए । उक्त उजुरीमा २६ छात्राका हस्ताक्षर गरेका छन् । आरोपित शिक्षक नारायण आधारभूतमा ५ कक्षासम्म सामाजिक विषय अध्यायपन गराउँछन् ।


उनी यसअघि पनि यस्ता गतिविधिमा संलग्‍न थिए । पाटनको पाटन माध्यामिक विद्यालय र लाकुरीभञ्ज्याङ्गको कालीदेवी आधारभूत विद्यालयमा पढाउने क्रममा पनि महिलाहरुलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । कारबाही स्वरुप नारायण आधारभूत विद्यालयमा सरुवा भएर आएको पनि एक वर्ष पुगेको छैन ।

यो पनि पढ्नुहोस्ः

यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न अदालतको अनुमति

प्रकाशित : फाल्गुन १३, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?