२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘यतिले पुर्‍याएको केक देखेर त्यो घरले अपमानित महसुस गर्‍यो होला प्रधानमन्त्रीज्यू !’

मिनेन्द्र रिजाल

सरकार कुन लोकमा छ थाहा छैन, प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन । पुराना राजाहरुको जन्मदिनको तस्बिर केही दिनअघि देखेको थिएँ । जन्मदिन मनाउने शैली सामान्य नै थियो ।

‘यतिले पुर्‍याएको केक देखेर त्यो घरले अपमानित महसुस गर्‍यो होला प्रधानमन्त्रीज्यू !’

जन्मदिनमा तपाईंको सत्ताउन्माद देखेर आम जनता दिक्दार भएका छन् । जनता निराश छन् प्रधानमन्त्रीज्यू। जन्मदिनको कार्यक्रममा प्रधानमन्त्रीको पुर्ख्यौली घर पनि देखियो । प्रधानमन्त्री जन्मिनुभन्दा २० वर्षअघिको हो भन्ने सुनियो ।

घरको संरचना त निर्जीव होला तर यसको इतिहास त सजीव होला । आफ्ना आस्थाका लागि जुनसुकै संघर्ष र क्रान्तिका लागि बलिदान गर्न तयार आफ्नै आँगनको केटोले कीर्तिमान राजनीतिक यात्रा तय गर्यो भनेर स्वागतको अभिलाषा थियो होला त्यो घरलाई ।

तर जुन तामझामका साथ चार–पाँच हेलिकप्टर लिएर देश, प्रदेश र अन्य राज्य संरचना तथा पार्टीका विशिष्ट व्यक्तिलाई बोकेर जानुभयो । घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद ओली होइन, नयाँ महाराजा सवारी भएछ भनेर । सायद त्यो घरको आत्माले चिनेन होला तपाईंको आत्मालाई । प्रधानमन्त्रीज्यू तपाईंलाई एक निमेष त्यो घरले चिनेन पनि होला ।

तपाईंले त्यो घर अगाडि एक निमेष उभिएर आफ्नो अन्तरमनलाई सोध्नुभयो ? जसअपजसलाई अन्तर्मनबाट चिन्तन गर्नुभयो ? आफ्नो विवेकलाई अन्तर्मनबाट टटेल्नुभयो ? अनि आफ्नो प्रतिबिम्ब नियाल्नुभयो प्रधानमन्त्रीज्यू ? तपाईं कुन लोकमा हुनुहुन्छ ? जनता कुन लोकमा छन् ? यति होल्डिङ्सले पुर्‍याएको केक र हेलिकप्टर देख्दा त्यो घरले पनि अपमानित महसुस गर्‍यो होला । त्यो घरको इतिहासलाई सम्झ्यो होला, आज नराम्रोसँग अपमानित भएँ भन्ने लाग्यो होला । मेरो घरको केटालाई स्वागत गर्न बस्याथेँ भन्ने लाग्यो होला । जन्मदिनमा ४ हजार वृद्धवृद्धालाई सारी र कोट बाँड्‍ने कार्यक्रम थियो भन्ने सुनियो । पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउने राजामहाराजाहरुलाई पनि इर्ष्या लाग्यो होला ।

पुर्ख्यौली घरमा ओलीले मनाए जन्मदिन

हिजो राजनीति गर्ने हो भने श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । इटालीयन कवि दाँतेको ‘डिभाइन कमेडी’ याद आयो । भोलिका विद्वानले नेपाली परिवेशमा नयाँ ‘डिभाइन कमेडी’ लेख्लान् । तर आज श्री डेढ, श्री अढाइ, श्री साढे सातजस्ता थरीथरीका श्रीपेच लगाएका कम्युनिष्ट आत्मजन र मित्रहरुलाई देख्दा के भन्दै होलान् मदन भण्डारी ?

-प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले व्यक्त गरेको धारणाको सम्पादित अंश

प्रकाशित : फाल्गुन १३, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?