१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तमिलनाडु बस दुर्घटनाका थप एक घाइतेको मृत्यु 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — गत बुधबार राति दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा भएको सडक दुर्घटनामा घाइते भएकामध्ये थप एकजनाको उपचारका क्रममा निधन भएको छ । दुर्घटनामा घाइते सुनसरी दुहवी निवासी ५९ वर्षीय सदानन्द घिमिरेको चेन्नईको अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

तमिलनाडु बस दुर्घटनाका थप एक घाइतेको मृत्यु 

यो सँगै तमिलनाडु बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । घिमिरको उपचारका क्रममा मंगलबार बिहान पाँच बजे निधन भएको घिमिरेका ज्वाईं कुमार निरौलाले पुष्टि गरे ।


‘भित्र धेरै नै चोट लागेको रहेछ । बचाउन सकिएन,’ निरौलाले कान्तिपुरसँग भने । दुर्घटनामा घिमिरेको घाँटीको हड्डी सँगै करंगका छवटा हड्डी भाँचिएका थिए ।


घिमिरेसहित ३४ जना नेपाली तीर्थालुहरु चढेको को १ ख ५३३४ नम्बरको बस कन्याकुमारीबाट तमिलनाडुको मिनाक्षी मन्दिर दर्शन गरेर महाराष्ट्रको नासिकतर्फ जाँदै गरेको बेला तमिलनाडुको सालेमजिल्ला स्थित ४४ नम्बर हाईवेमा बुधबार राति दुर्घटना परेको थियो । दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए । एकजनाको उपचारको क्रममा भोलीपल्ट मृत्यु भएको थियो ।


घिमिरे आफ्नी छोरी, साढु दाई, दिदीसँगै भारतको तीर्थयात्रामा थिए । तीर्थालुहरुले कन्याकुमारी, रामेश्वरम, मिनाक्षी मन्दिर, जगन्नाथ, बाबाधाम, गंगासार घुमिसकेका थिए । र, उनीहरुको तमिलनाडुको मदुराई गएर महाराष्ट्रको नासिक हुँदै राजस्थानको बाटो नेपाल फर्कने कार्यक्रम थियो । बसका यात्रुहरुका अनुसार नेपाली तिर्थालु बोकेको बसलाई विपरीत दिशाबाट आएको भारतीय बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।


चालकले राति गाडी नचलाउने भने पछि केही यात्रुहरु रात बिताउन मन्दिर खोज्ने क्रममा बस राजमार्गको छेउमा रोकिराखिएको थियो । एउटा मन्दिर भेटिएपछि चालकले बसलाई त्यतै तर्फ मोड्दै थिए तर, त्यहीबेला विपरीत दिशाबाट तीब्र गतिमा आएको रात्री बसले नेपाली यात्रु चढेको बससँगै सिधै ठोक्किएको थियो ।


घाइतेहरुको सालेमको स्थानीय सरकारी अस्पतालमा उपचार गरिएको थियो । उपचारमा लापरवाही भएको भन्दै सालेम पुगेका आफन्तहरुले घाइतेहरुलाई नजिकको मनिपाल र चेन्नईको अपोलो अस्पताल पुर्‍याएका थिए ।


मंगलबार निधन भएका घिमिरेलाई पनि उनको परिवारले थप उपचारका लागि गत बिहिबार चेन्नईको अपोलो अस्पताल लगेका थिए । घिमिरेसँगै यात्रा गरिरहेका अमरनाथ चौधरीले अझै पनि चारजना घाइतेको सालेमकै अस्पतालमा उपचार भइरहेको कान्तिपुरलाई बताए ।


‘अरु बिरामीहरुलाई आफन्तहरुले अन्य अस्पतालमा लैजानुभयो चारजनाको भने यहीँको अस्पतालमा उपचार भइरहेको छ,’ चौधरीले सालेमबाट फोनमा कान्तिपुरलाई बताए ।



प्रकाशित : फाल्गुन १३, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?