कलंकीमा मालवाहक ट्रकले एक दर्जन सवारीलाई ठक्कर दियो, १ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कलंकीमा एक मालवाहक ट्रक अनियन्त्रित भएर १० वटा सवारी साधनलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

कलंकीमा मालवाहक ट्रकले एक दर्जन सवारीलाई ठक्कर दियो, १ को मृत्यु

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्कीका अनुसार थानकोटबाट कलंकी आउँदै गरेको ना ६ ख २८७१ नम्बरको मालबाहक ट्रकको ब्रेक फेल भएर बा ४४ प १८१० को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको हो । चितवनको रत्‍ननगर नगरपालिका-१ घर भएका गुरुङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको इन्सपेक्टर कार्कीले इकान्तिपुरलाई बताए ।


सोमबार राति ६ बजेर ४० मिनेटमा उक्त दुर्घटना भएको थियो । दुर्घटनाबाट २ वटा स्कुटर, ट्रक, बस, सरकारी गाडी, ट्याक्सी, मिनी ट्रक र स्कारपियो गरी १० वटा सवारीमा क्षति पुगेको छ । प्रहरीले ट्रक चालक सर्लाही घर भएका वीरेन्द्रकुमार साहलाई नियन्त्रणमा लिएको छ ।


प्रहरीका अनुसार थानकोटबाट कलंकी आउँदै गरेको उक्त ट्रकले सुरुमा यातायात व्यवस्था विभागको गाडीको टायरलाई छोएर उत्तरतर्फबाट आउँदै गरेको ट्याक्सीलाई ठक्कर दिएको थियो । त्यसपछि दक्षिणबाट बाटो पार गर्दै गरेका स्कारपियो,मिनी ट्रक र स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो ।


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार प्रहरीले सुरुमा दुर्घटनापछि घाइते भएकाहरुको उद्धार तथा बाटो सुचारु गर्नका लागि आफ्‍नो टोली परिचालन गरेको थियो । 'अहिले सबै घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ ।बाटो सुचारु छ । के कारणले दुर्घटना भएको हो यसको अनुसन्धान गर्दैछौँ,' उनले भने ।

प्रकाशित : फाल्गुन १२, २०७६ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?