प्रहरीको अवस्था सडकछापको जस्तो छ : गृहमन्त्री

रमेशकुमार पौडेल

चितवन — गृहमन्त्री रामबहादुर थापाले व्यवस्थापनको हिसाबले नेपाल प्रहरीको अवस्था त्यति राम्रो नभएको बताएका छन् । सोमबार चितवन जुटपानीमा बनेको प्रहरी चौकी भवनको उद्‍घाटन गर्दा मन्त्री थापाले भने, ‘प्रहरीको अवस्था सडकछापको जस्तो छ । उनीहरुको मनोबल उठाउन चौकी र भवनहरु बनाउन आवश्यक छ ।’

देशका धेरै ठाउँमा चौकीको भवन नै नभएको उनले बताए । उनले सरकारले ‘एक टोल एक चौकी र एक पालिका एक इलाका प्रहरी’ स्थापना गर्ने योजना अगाडि सारेको जानकारी दिए । सरकारले छिट्टै प्रदेश प्रहरी गठन गर्न लागेको पनि उनले बताए । यसका लागि समायोजनको प्रक्रिया सुरु भएको उनको भनाइ छ । शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश प्रहरीको पनि हुने उनले बताए । संघीय र प्रदेश प्रहरीको समन्वयमा स्थानीय तहमा शान्ति सुव्यवस्था कायम गर्ने योजना सरकारको रहेको उनले बताए ।


कालिका नगरपालिकाको जुटपानीमा स्थापना भएको प्रहरी चौकीको निर्माण लागत एक करोड ६५ लाख रुपैयाँ रहेको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक शंकर सिलवालले पेस गरेको प्रगति प्रतिवेदन अनुसार साढे दुई तले भवनमा ११ वटा कोठाहरु रहेका छन् । भवन निर्माणको प्रक्रिया ७५ सालको भदौदेखि सुरु भएर गएको मंसिरमा निर्माण पूरा भएको थियो । प्रकाशित : फाल्गुन १२, २०७६ १४:५४

प्रतिक्रिया
पठाउनुहोस्

ललितपुर प्याट्रियट्सले भित्र्यायो तीन पाकिस्तानी खेलाडी

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेष्ट प्रिमियर लिग(ईपीएल) को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले थप तीन जना विदेशी खेलाडीलाई भित्र्याएको छ । पाकिस्तानका अलराउन्डर हमाद आजम र हसन खान तथा लेफ्ट आर्म सिमर मिर हाम्जालाई टिममा भित्र्याएको ललितपुर प्याट्रियट्सले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 


यसअघि सन् २०१९ को जनवरीमा इंग्ल्यान्डको ससेक्स काउन्टी क्लबमा अनुबन्ध भएका थिए। त्यस्तै हसन पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडियटर्स तथा क्यानडाको ग्लोबल टी–२० लिगमा एडमन्टन रोयल्सबाट खेलेका थिए। उनी सन् २०१८ को यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानी टिमका कप्तानसमेत रहेका थिए। त्यस्तै हमाद आजम पाकिस्तानका घरेलु लिग खेलिरहेका खेलाडी हुन्।

ललितपुर प्याट्रियट्सले यसअघि श्रीलंकाका पूर्वकप्तान उपल थारङ्गालाई भित्र्याइसकेको छ। प्रतियोगिताको नियमअनुसार प्रत्येक टिमले कम्तीमा तीन जना विदेशी खेलाडी राख्नुपर्नेछ।

ललितपुर प्याट्रियट्सका कप्तान नेपाली राष्ट्रिय टिमका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल हुन् भने टिमको प्रमुख प्रशिक्षक राजु बस्नेत हुन्। एभरेष्ट प्रिमियर लिग आउँदाे मार्च १४ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १४:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×