चुनाव हारेकोलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नु लोकतन्त्रको हत्या : भट्टराई

कांग्रेस प्रवक्ताको प्रश्न- व्यक्तिको अनुहार हेरेर संविधान संशोधन ? 
कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनावमा पराजित भएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने उद्देश्यले संविधान संशोधन गरे लोकतन्त्रको हत्या हुने बताएका छन् ।

चुनाव हारेकोलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नु लोकतन्त्रको हत्या : भट्टराई

सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधन कार्यदल गठन गरेको सार्वजनिक भएपछि भट्टराईको उक्त प्रतिक्रिया आएको हो ।

नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी कमिटी सदस्य तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको थियो । संविधानमा प्रतिनिधि सभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था रहेको छ ।


सत्तारुढ नेकपाको उक्त कार्य विनाशकालमा उब्जिएको विपरीत बुद्धि भएको व्याख्या प्रतिनिधि सभा सदस्यसमेत रहेका भट्टराईले गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'विनाशकाले विपरीत बुद्धि ! निर्वाचन हारेको वा चुनाव नलडेको व्यक्तिलाई देशको प्रमुख कार्यकारी बनाउनु भनेको लोकतन्त्रको उपहास मात्र नभइ वस्तुत: त्यसको हत्या हो ।'


नेकपाका नेताहरूलाई भट्टराईले चुनौती दिँदै अगाडि लेखेका छन्, 'दुई तिहाइको दम्भ र अलिकति हिम्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदकानिम्ति संविधान संशोधन गर ।'


कांग्रेस प्रवक्ताको प्रश्न- व्यक्तिको अनुहार हेरेर संविधान संशोधन ?


नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने तयारी गरेको छ । राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छैन । उक्त व्यवस्था परिवर्तन गरे मात्र आफू राष्ट्रिय सभामा जाने अडान गौतमले राख्दै आएका छन् । गौतमले आफूले सबै पद पाइसकेको र प्रधानमन्त्री मात्रै बन्न बाँकी रहेको भन्ने सार्वजनिक अभिव्यक्ति यसअघि नै दिइसकेका छन् ।


उनले आफू प्रधानमन्त्री बन्नका लागि नै संसद प्रवेश गर्ने नत्र पार्टीको काममा लाग्ने बताउने गरेका थिए । तर, नेकपाका शीर्ष नेताहरूले भने वामदेव गौतमका लागि नै संविधान संशोधन गर्न खोजेको आशंका प्रमुख प्रतिपक्षी कांग्रेसले गरेको छ ।


कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, 'मधेसले माग्यो संविधान संशोधन, भनियो- हुन्न l जनजातिले मागे हुन्न भनियो l दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो l तर, आज कोहि एक व्यक्तिको अनुहार हेरेर संशोधन तयारी ?' प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उनले प्रश्न गरेका छन्, 'गम्भीर राष्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरू ?'


संविधान संशोधनका लागि समाजवादी पार्टी र राजपाले बारम्बार माग गर्दै आएका थिए । सरकार, संसद र सडकमा आन्दोलनसमेत गरेका यी दुई पार्टीको मागमा प्रधानमन्त्री ओलीले 'आवश्यकता र औचित्यका आधारमा उपयुक्त समयमा संविधान संशोधन' हुन्छ भन्दै आएका थिए । तर, एकाएक संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि सरकार र नेकपा नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ ।


वामदेव गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्यका रूपमा संघीय संसदमा लैजाने नेकपाभित्र तयारी भइरहेको छ । अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल फागुन २० गते सकिँदैछ ।

उनको ठाउँमा गौतमलाई सांसद नियुक्त गर्नेबारे नेकपाभित्र छलफल भइरहेको हो । गौतमले यसअघि राष्ट्रिय सभा निर्वाचन लड्न अश्वीकार गरेका थिए । संविधान संशोधन गर्न कार्यदल बनेपछि गौतम राष्ट्रियसभा सदस्य बन्न लागेको अड्कल काट्न थालिएको छ ।


यो पनि पढ्नुहोस्ः

चुनाव हारेदेखि नै सांसद बन्ने इच्छा राख्दै दौडिएका थिए वामदेव गौतम

प्रकाशित : फाल्गुन ११, २०७६ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?