कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गर्भ जँचाउन दिनभर पैदल

ग्रामीण क्षेत्रमा स्वास्थ्यचौकी टाढा हुँदा गर्भवतीहरू जचाउँन जाँदैनन्

(मुगु) र (कालीकोट) — मुगुको सोरु गाउँपालिका तीन वडामा प्रसूति गृह छैनन् । गर्भ जाँच गराउनुपर्दा महिलाले दिनभर पैदल यात्रा गरेर नाथर्पु स्वास्थ्यचौकी पुग्नुपर्छ । सोरु–३ को भीई, ४ को लिब्र, रावलबाडा, भादगाउँ, फोत, ५ नम्बर वडाको नेर र ताँजागाउँबाट नाथर्पु पुग्न एक दिन पूरै पैदल यात्रा गर्नुपर्छ । 

गर्भ जँचाउन दिनभर पैदल

धेरै टाढा पुग्नुपर्ने भएकाले यी पहाडी ग्रामीण क्षेत्रका धेरै महिलाले गर्भ जाँच गराउँदैनन् । स्वास्थ्यचौकीमा प्रसूति हुन आउनेको संख्या पनि निकै कम छ । ‘एक त स्वास्थ्यचौकी टाढा, त्यसमा पनि गर्भवतीको स्वास्थ्य अवस्था,’ स्थानीय कमला मल्लले भनिन्, ‘गर्भ जाँचकै लागि ज्यानकै जोखिम मोलेर दिनभरि को हिँडोस् ।’


भीई गाउँकी स्वास्थ्य स्वयंसेविका चन्दा बुढाले एक्लै दिनभर हिँड्नुपर्ने बाध्यताले गर्भवती महिलालाई सास्ती भएको बताइन् । ‘एकै दिन गएर गर्भवती महिलाले जँचाएर घर फर्कन सक्ने अवस्था हुँदैन,’ उनले भनिन्, ‘प्रसूतिका लागि पनि महिलाले ठूलो कष्ट बेहोर्दै आएका छन् ।’ यस्ता दुर्गमका गाउँबाट जटिल अवस्थाका गर्भवतीलाई सुविधा सम्पन्न अस्पतालमा पठाउन हेलिकप्टर नै बोलाउनुपर्ने अवस्था रहेको उनले बताइन् । भौगोलिक विकटताका कारण गाउँका करिब ७५ प्रतिशत महिला घरमै सुत्केरी हुन्छन् ।


भीई गाउँका गर्भवती महिलाले नाथर्पु पुगेर अर्को दिन गर्भ जाँच गराउँछन् । उनीहरूले गर्भ जाँचकै लागि तीन दिनको समय छुट्याउनुपर्ने बाध्यता रहेको भीईको गुरु माविका प्रधानाध्यापक उमेर बुमीले बताए । ‘प्रसूति गृह नजिकै नहुँदा गर्भवतीलाई साह्रै कष्ट छ,’ उनले भने, ‘गाउँमा प्रसूति गृह निर्माणका लागि पटकपटक आग्रह गरिए पनि अझै सुनुवाइ भएन ।’ उनका अनुसार फोतु, रावलबाडा, नेर र ताजा गाउँका महिलाले पनि प्रसूतिका समयमा उचित स्वास्थ्योपचार सुविधा पाएका छैनन् । यातायात सुविधा नभएका गाउँबाट गर्भ जाँच गर्न पठाइएका कतिपय महिला हिँडाइको थकानले घर आइपुग्दा बिरामी पर्छन् । घरमा सुत्केरी हुन नसकेका गर्भवतीलाई काठको स्ट्रेचर बनाएर दिनभरि बोकेर नाथर्पु पुर्‍याउने गरिएको छ ।


स्वास्थ्यचौकी नपुग्नेहरू गर्भवतीका लागि सरकारले उपलब्ध गराउने खोप र यातायात खर्चबाट पनि वञ्चित हुने गरेका छन् । नियमित रूपमा गर्भ जाँच गराउने महिलालाई सरकारले आठ सय, प्रसूति गृहमा सुत्केरी हुनेलाई तीन हजार र पोषणबापत तीन हजार रुपैयाँ दिने गरेको छ । गर्भावस्थामा दैनिक आइरन चक्की सेवन गर्नुपर्ने भए पनि दुर्गममा औषधि वितरणको व्यवस्थापन अझै हुन सकेको छैन ।


भीई गाउँमा प्रसूति गृह सञ्चालनका लागि प्रदेश सरकार र विभिन्न गैरसरकारी संस्थालाई अनुरोध गरिएको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘गाउँपालिकाको आफ्नै भरपर्दो स्रोत छैन,’ उनले भने, ‘माथिल्ला सरकारबाट आउने अनुदान शीर्षकै तोकिएर आउँदा समस्या छ ।’ जिल्ला स्वास्थ्य कार्यालय मुगुले भने जिल्लाका नौ स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको जनाएको छ । चार स्थानीय तहका ४५ वडालाई सुविधा दिन मानव अधिकार तथा वातावरण विकास केन्द्रले ११ वटा प्रसूति गृह निर्माण गरेको छ । प्रसूति गृह नभएका बस्तीका महिला गर्भ जाँच, खोप, उपचार र प्रसूति सेवाबाट वञ्चित रहेको अवस्था अझै नहटेको जिल्ला अस्पतालकी डा. मीना चौलागाईंले बताइन् । ‘हरेक वडामा कम्तीमा एउटा प्रसूति गृह स्थापना भए गर्भवतीले अकालमा ज्यान गुमाउनुपर्ने थिएन,’ उनले भनिन् ।


चौथो पटकको गर्भ जाँच न्यून

कालीकोटको खाडाचक्र–११, जिम्जेडीकी १८ वर्षीया मिन्का लुवार सात महिनापछि पहिलोपटकको गर्भ जाँच गराउन गत शुक्रबार बदालकोटको स्वास्थ्य इकाई पुगिन् । उनीसँगै स्वास्थ्यचौकी पुगेकी १९ वर्षीया कमला लुवारको पेटमा पनि सात महिनाको बच्चा छ । उनीहरू दुवैले धनुष्टंकार र भ्यागुते रोगविरुद्धको खोप बल्ल लगाउन पाए । पहिले दिनभरि हिँडेर जिम्जेडी, बदालकोटलगायत ठाउँका गर्भवती महिला सदरमुकाम मान्मस्थित जिल्ला अस्पताल पुग्थे ।


गत वर्ष खाडाचक्र नगरपालिकाले गाउँमै अस्थायी स्वास्थ्यकर्मी भर्ना गरेर इकाई स्थापना गरेको छ । तर पहिल्यैदेखि जँचाउन र खोप लगाउनुपर्ने चेतना अभावमा गर्भवतीहरू इकाईमा पुग्दैनन् । चालु वर्षको सात महिनामा ११ नम्बर वडामा पर्ने बरातु, बदालकोट, रेंगिल र जिम्जेडी बस्तीमा १६ शिशु जन्मिए । तर चार जनाले मात्र इकाईबाट प्रसूति सेवा लिएको अनमी यमुना शाहीले बताइन् । ‘गाउँबाट स्वास्थ्यचौकीसम्म आउने बाटो पनि अप्ठेरो छ,’ उनले भनिन्, ‘नर्मल डेलिभरीको अवस्थामा घरमै बच्चा जन्मन्छन्, अप्ठेरो परेपछि मात्र गर्भवतीलाई आफन्तले यहाँ ल्याउँछन् ।’


जिल्ला अस्पतालमा गर्भ जाँच गराउन पुग्नेमध्ये ९० प्रतिशत महिलाले घरमा बच्चा जन्माउँदैनन् । उक्त अनुपातमा ग्रामीण क्षेत्रका महिलाको भने स्वास्थ्यचौकी पुग्ने दर निकै न्यून छ । ‘हिँड्न सक्नेलाई २/३ घण्टाको बाटो भए पनि गर्भवतीलाई स्वास्थ्यचौकी पुग्न दिनभरि लाग्छ,’ महिला स्वास्थ्य स्वयंसेविका समाजकी अध्यक्ष लालचन्ना पाण्डे भन्छिन्, ‘भीर–पहरामा उकालो–ओरालो हिँड्नुपर्छ । स्वास्थ्यकर्मी घरमै पुगेर गर्भ जाँच सेवा दिन सके सुत्केरी गराउन चौकीमा ल्याउनेको संख्या बढ्न सक्छ ।’


भत्ताका कारण स्वास्थ्य संस्थामा सुत्केरी हुन आए पनि जाँच गराउनेको संख्या न्यून रहेको खाडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालले बताए । ‘अझै पनि ३० प्रतिशत महिलाले घरमै बच्चा जन्माउँछन्,’ उनले भने । माल्कोट स्वास्थ्यचौकीकी अनमी मीठु बटालाले साउनयता ७३ जनाले प्रसूति सेवा लिए पनि गर्भ जाँच गराउनको संख्या ३६ मात्र रहेको बताइन् । उनले भनिन् ‘सुत्केरी भइसकेपछि जाँच गराएकाको संख्या पनि सात महिनामा २० जनामात्रै छ ।’


स्युना चौकीमा एक सय २७ जना सुत्केरी भए पनि ८६ जनाले मात्र गर्भ जाँच गराएका थिए । जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डा. भीष्म पोखरेल भन्छन्, ‘चेतना कमी र भौगोलिक विकटताका कारण गर्भ जाँच गराउनेको संख्या न्यून भएको हो ।’ जिल्लामा चारपटक गर्भ जाँच गर्ने महिलाको संख्या ६४ प्रतिशत मात्र छ । प्रसूति हुन स्वास्थ्य संस्थामा पुग्नेको संख्या भने ९० प्रतिशत रहेको उनले दाबी गरे ।


गत वर्ष गर्भ जाँचको संख्या जिल्लाभरि ५३ प्रतिशत थियो । गत वर्ष पलातामा ४८, पचालझरनामा ७६, रास्कोटका ८८, सान्नीत्रिवेणीकी ६३ र नरहरिनाथमा ६९ प्रतिशत महिलाले गर्भ जाँच गराएको तथ्यांक छ । त्यस्तै खाडाचक्रकी ४५, तिलागुफामा ७७, महाबैका ४९ र शुभकालिकामा ६१ प्रतिशतले गर्भ जाँच गराएका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?