१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्यूठानकी अल्लो अभियन्ता

गिरुप्रसाद भण्डारी

(प्यूठान) — प्रदेश रत्न पदकबाट विभूषित चित्रकली बुढामगरलाई अहिले बधाई थाप्न भ्याइनभ्याइ छ । उनको ध्यान बधाईभन्दा प्यूठानमा जारी महोत्सवमा अल्लोका कपडा बेच्नमै केन्द्रित छ । स्टलमा अल्लोका कपडा बुन्ने तरिका हेर्न र टोपी, कोट र ब्यागलगायत किन्न आउने मानिसको भीड छ ।

प्यूठानकी अल्लो अभियन्ता

गत बिहीबारदेखि सुरु महोत्सवमा उनी स्टल राखेरै बसेकी छन् । नौबहिनी–१ स्याउँलीबाङकी ५२ वर्षीया चित्रकलीलाई स्टलमा श्रीमान् खिमबहादुर र कामदारले सघाइरहेका छन् ।


सरकार र ग्राहकको मायाले आफूलाई अल्लो व्यवसायमा लाग्न हौसला मिलेको बुढाले बताइन् । प्रदेश ५ प्रमुख धर्मनाथ यादवको हातबाट प्रदेश स्थापनाको अवसरमा उनले पदक पाएकी थिइन् । ‘पदकले मेरो गर्जो टर्दैन,’ उनले भनिन्, ‘हौसलाचाहिँ ठूलै हुँदो रहेछ ।’ २० वर्षअघिसम्म उनले जिल्लाकै दुर्गम गाउँ स्याउलीबाङमा परम्परागत रूपमा भांग्रो (अल्लोको कपडा) बनाउँथिन् । कपडा बनाउन उनलाई आमाले सिकाएकी थिइन् । अल्लो सिस्नो प्रजातिको वनस्पति हो । उनले गाई–बाख्रा चराउन जाँदा जंगलबाट त्यही सिस्नोको धागो निकालेर ल्याउँथिन् । जाँगर लगाएर परिवारलाई चाहिने कपडा बुन्थिन् । त्यस बेलासम्म उनलाई जिल्लामा कसैले चिन्दैनथे । अहिले त्यही सीपले उनलाई अल्लो व्यवसायी बनाएको छ । देशभर अल्लो अभियन्ताका रूपमा चिनाएको छ । दर्जनौं पुरस्कार दिलाएको छ ।


चित्रकलीले १८ वर्षअघि १० हजार रुपैयाँ लगानीबाट नौबहिनी–६ बाहाने बजारमा अल्लो व्यवसाय थालेकी हुन् । अहिले उनी वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्छिन् । गाउँमा खेर जाने सिस्नो उपयोग गरेर आम्दानी गर्न सकिन्छ भन्ने जिल्ला लघुउद्यम विकास कार्यक्रमले सिकाएको उनले बताइन् । ‘काम गर्दै गएपछि अल्लोबाट बनाएका सामानको माग बढ्दै गयो,’ उनले भनिन्, ‘मलाई अहिले अल्लोले चिनाएको छ ।’ अल्लोको अन्तर्राष्ट्रिय बजारबारे पछि मात्रै थाहा पाएको उनले बताइन् । अल्लोले नै देशविदेश घुमेकी छन् । ‘अल्लो त महत्त्वपूर्ण रहेछ,’ उनले भनिन्, ‘यसैले पदक पनि दिलायो । वर्षमा दुई–चार लाख रुपैयाँ कमाइका साथ देशविदेश घुम्ने अवसर पनि जुरिरहेको छ ।’ अल्लोका पोसाकको माग बढ्दै गएपछि उनले अल्लो उद्योगमा लगानी पनि बढाएकी छन् । बाहनेबाट जिल्लाको व्यापारिक केन्द्र बाग्दुलामा समेत अल्लो उद्योगको विस्तार गरेकी छन् ।


उनको उद्योगमा अहिले १८ जनाभन्दा बढी कामदार संलग्न छन् । चित्रकली अल्लोका कपडा बिक्री गर्न मेला–महोत्सवमा समेत धाउँछिन् । श्रीमान्ले पनि उनको व्यवसायलाई सघाइरहेका छन् । जिल्लामा मेला–महोत्सव लागे उनी अल्लोका सामग्री लिएर पुगिहाल्छन् ।


चित्रकलीको कोठी हिमाल अल्लो उद्योगमा अल्लोका कोट, टोपी, जुत्ता, पछ्यौरा, झोला र पर्सलगायत सामान बन्छन् । कोठी हिमाल अल्लो उद्योगका उत्पादन जिल्लामा प्रख्यात छन् । प्यूठानमात्रै होइन, छिमेकी रोल्पा, रुकुम र बागलुङका महिलालाई समेत उनले अल्लो धागो खरिदबिक्रीमा संलग्न गराएकी छन् । उनको उद्योगमा उत्पादित अल्लोका कपडा अहिले साउदी, कतार, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, इजरायल, सिंगापुरसम्म निर्यात हुन्छन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?