कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ओलीलाई पर्खंदै दौंतरी

चन्द्र कार्की

(आठराई, तेह्रथुम) — आफ्नो जन्मदिनको अवसर पारेर जन्मथलो आठराई गाउँपालिका–४ इवा आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दौंतरी पर्खिरहेका छन् । ओलीले यहाँ मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रमको तयारी पूरा भएको छ ।

ओलीलाई पर्खंदै दौंतरी

आठराईको सुकेपोखरीबाट ओलीको जन्मथलो इवा हुँदै जननेता भण्डारीको जन्मस्थान ढुंगेसाँघुबाट ताप्लेजुङको दोभान जोड्ने करिब एक सय किलोमिटर सडकको शिलान्यास गर्दै जन्मदिन पनि मनाउन ओली जन्मघर आउन लागेको नेकपा आठराईका इन्चार्ज भीम घिमिरेले बताए ।


नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद लक्ष्मण तिवारीका अनुसार उक्त सडकको सुकेपोखरी–प्रमाणी मावि खण्ड कालोपत्र यही वर्ष सुरु हुने र बाँकी खण्डको निर्माण अगाडि बढाउने तयारी छ । ओलीको जन्मघर इवामा विशेष कार्यक्रम आयोजना गरिएको छ । घिमिरेका अनुसार आठराई क्षेत्रका ७० वर्षभन्दा माथिका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि छ ।

‘आइतबारका लागि गाउँपालिकामा स्थानीय बिदा दिएका छौं,’ गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले भने । आठराईका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । जन्मघर इवाबाट प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पनि छ ।


‘केपी शर्मा ओली ट्रस्ट नेपाल तेह्रथुम’ ले प्रधानमन्त्रीको जन्मथलो आसपासमा झन्डै ४०० रोपनी जमिन खरिद गरेको छ । प्रधानमन्त्रीको इच्छाअनुसार उक्त जमिनमा कृषि विद्यालयसहितको अनुसन्धान केन्द्र निर्माणको घोषणा गर्ने गाउँलेको अपेक्षा रहेको स्थानीय प्रेम फोम्बोले बताए ।


आफू जन्मिएको घरमा प्रधानमन्त्री ओली तेस्रोपटक आउन लागेका हुन् । आठराईका बासिन्दा स्वागतको तयारीमा छन् । उनी आएका बेला कृषि विश्वविद्यालय, कृषि अनुसन्धान केन्द्र, सुविधासम्पन्न अस्पताललगायत स्थापनाका लागि माग गरिने स्थानीय तुलसी संग्रौलाले बताए । नेकपा जिल्ला कमिटीले जिल्लाको विकास निर्माणको अवस्था र आयोजनाको विवरण समेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । यो गाउँमा जन्मेर ओली १२ वर्षको हुँदासम्म बसेका थिए ।


आठराई क्षेत्रका चोक–चोकमा र पाँचथरबाट तेह्रथुम प्रवेश गर्ने सीमा तमोर नदीको माझीटारदेखि नै स्वागतद्वार निर्माण गरिएका छन् । आठराईवासीले शनिबार र आइतबार घरघरमा दीपावली गर्ने कार्यक्रम तय गरेको जनप्रतिनिधिले बताएका छन् । ओलीको भ्रमण तय भएपछि जन्मघर र आसपासका क्षेत्रमा सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पुगेका छन् ।


प्रधानमन्त्रीको जन्मघर नजिकै हेलिप्याड बनाइएको छ । गाडीका लागि पार्किङस्थल छुट्याइएको छ । क्याट्रिङ र शौचालय निर्माणको काम पनि धमाधम निर्माण भइरहेको छ । ओलीको जन्मघरसम्म पुग्ने कच्ची सडकको स्तरोन्नति गरिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?