प्रधानमन्‍त्रीलाई गाउँलेले सिँचाइ माग्‍ने

आनन्द गौतम

(कुम्यायक, पाँचथर) — कुम्यायक गाउँपालिका–१ का ७८ वर्षीय हुकुमबहादुर कार्की आइतबार गाउँपालिकाको केन्द्र याशोक बजार आउँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनी यहाँ आउन लागेका हुन् ।  छिमेकी जिल्ला तेह्रथुमको आठराईमा जन्मिएका ओली कार्कीका दौंतरी वा पहिला भेटेका व्यक्ति पनि होइनन् । उनले भेट्न नपाए पनि कोही सुनाइदिने भए उनको एउटा प्रस्ताव छ– ‘खानेपानी आयो, अब सिंचाइ पनि दिनुपर्‍यो ।’ 

प्रधानमन्‍त्रीलाई गाउँलेले सिँचाइ माग्‍ने

कार्कीको जस्तै प्रस्ताव उनका ८० वर्षीय काका भुवनसिंहको पनि छ । उनले भैंसी, गाइगोरु र बाख्रा पालेका छन् । बिहानभरि घाँस काट्ने उनी चौपायालाई पानी खुवाउन दिन बिराएर तमोर नदीसम्म पुर्‍याउँछन् । पुर्‍याएर फर्काउँदा दुई घण्टा बढी समय लाग्छ । नलगे चौपायालाई पानी खुवाउनै समस्या छ । मौका पाए उनले पनि सुक्खाका कारण आफूले भोगेका समस्या प्रधानमन्त्रीलाई सुनाउने चाहना राखेका छन् ।


यी वृद्धको चाहना हरियाली गाउँ हेर्ने हो । ‘पहिले पहिले यहाँ पानी छताछुल्ल थियो, भूकम्पपछि मरुभूमि जस्तो भयो,’ हुकुमबहादुरले भने, ‘सरकारलाई त हारगुहार माग्नुपर्‍यो नि ।’ पानी भए सुक्खाग्रस्त भनिएको कुम्यायकका पाखामा तीन बाली लाग्छ । हिउँदे र बर्खे धान, गहुँ, तोरी, फापर, मकै फल्छ । सिँचाइ नभएकाले अहिले वर्षमा एक बाली पनि लगाउन मुस्किल छ ।


पानीको समस्या रहेको यहाँ खानेपानीका लागि भने सरकारले लिफ्टिङ खानेपानी योजना ल्याएको छ । जन्मघर टेक्ने मेसोमा ओलीले उक्त आयोजनाको उद्घाटन पनि गर्दैछन् । ओलीसँगै खानेपानीमन्त्री बिना मगर, यही जिल्लाबाट निर्वाचित भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो र प्रदेशका मुख्यमन्त्री शेरधन राई पनि आउने कार्यक्रम छ ।


खानेपानीको समस्या निदानका लागि यहाँ लिफ्टिङ प्रविधिमार्फत तमोर नदीको पानी गाउँमा ल्याएर वितरण भइरहेको छ । सातवटा स्टेसन भएको यो पम्पिङ आयोजनाले तमोरको पानी लुमुघाटदेखि १७ किलोमिटरमाथिको कुम्मायक मन्दिर छेउसम्म ल्याएको छ । यसको लागत ५१ करोड ३० लाख छ । ‘तल खोलाको पानी माथि लगेर बाँड्दा हुँदैन होला जस्तो लागेको थियो,’ हुकुमबहादुरले भने, ‘खानेपानी त धारामा झर्न थालेको छ । अब यसरी नै सिँचाइका लागि पानी झारिदिए भने हामीलाई राहत हुने थियो ।’


आफूहरूका लागि पनि नौलो योजना सफलतापूर्वक उपभोक्ताको घरमा पुग्दा प्रविधिको प्रयोगले हुँदो रहेछ भन्ने आशा जागेको आयोजनाका प्राविधिक ज्ञानु रिजाल बताउँछन् । खानेपानी अभावले बढिरहेको बसाइँसराइ रोकिने आयोजनाको दाबी छ तर खेतीपाती गर्न नपाए खानैको समस्या हुने भएकाले अबको सर्त सिँचाइ भएको यहाँका बासिन्दा बताउँछन् । गाउँपालिकाको १, ३, ४ र ५ नम्बर वडामा पम्पिङमार्फत खानेपानी आयोजना पुर्‍याइएको छ ।


यो २०७२/७३ बाट निर्माण सुरु भएको आयोजना हो । उद्घाटनको चरणसम्म पुग्दा पनि केही काम भने बाँकी रहेको आयोजनाले जनाएको छ । यो आयोजनाबाट प्राविधिक सिकाइ पनि भएको प्राविधिकहरू बताउँछन् । ‘केही जटिलता थिए तर उपभोक्ताको घरमा पुग्यो,’ निर्माण व्यवसायी लोकेन्द्र राजभण्डारीले भने, ‘बाँकी काम थोरै मात्रै छ, चाँडै पूरा हुन्छ ।’

प्रकाशित : फाल्गुन ११, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?