२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मृत्युदण्डबाट उम्केका उमेश यादव भन्छन्- अब के गर्ने ?

जनकराज सापकोटा

काठमाडौँ — उनी करिब डेढ दशकपछि घर फर्केका हुन् । एक महिना पुग्न लाग्यो तर उमेश यादवले अझै खलबलिएको जिन्दगीको लय मिलाउन सकेका छैनन् । २००६ को जुनमा वैदेशिक रोजगारीका लागि साउदी पुगेका उनले एक पाकिस्तानी नागरिकको हत्यामा मृत्युदण्डको सजाय पाएका थिए ।

मृत्युदण्डबाट उम्केका उमेश यादव भन्छन्- अब के गर्ने ?

१३ वर्षभन्दा बढी समय जेल बसे । मृतक परिवारले माफीनामा दिएपछि उनले कैद माफी पाए । गत माघ ८ मा स्वदेश फर्के । काठमाडौं ओर्लेको पाँच दिनपछि जनकपुर पुगेका उनले त्यसयता प्रत्येक दिन अनौठोसँग बिताइरहेका छन् ।


उमेशलाई परिवारसँगको साथ छुटेका दिन भेटिएजस्तो भइरहेको छ । नहोस् पनि किन, २४ वर्षको उमेरमा साउदी हान्निँदा ठूलो छोरा कमलेश तीन वर्ष र कान्छो जितेष १७ दिनका मात्रै थिए । १३ माघमा उनलाई लिन जनकपुरस्थित विमानस्थलमा पत्नी, छोराहरू र आफन्त माला लिएर आएका थिए । बुबाको उपस्थितिबिना १५ वर्ष बिताएका जेठा छोरा कमलेशले कान्तिपुरसँगको कुराकानीमा धेरैपछि बुबालाई देख्दा आफ्नो आँखा आँसुले भरिएको सुनाए । उनले भने, ‘मलाई त सानैमा बुबालाई देखेको धमिलो सम्झना थियो तर भाइले त बुझ्ने भएर पहिलोपटक बुबा देखेको थियो ।’


धनुषाको माचीझिटकैयास्थित घरमा कुरिरहेका वृद्ध बाआमासँग केही समय बिताएर अहिले उमेश धनुषाकै महेन्द्रनगरस्थित सालोको घरमा ओत लागिरहेका छन् । उनले फेरिएको गाउँ, फेरिएको समय र हुर्किएका छोराहरूको कुरा सुनाए अनि भने, ‘सबै कुरा नयाँ–नयाँ लागिरहेछ ।’ नलागोस् पनि किन कामदारका रूपमा साउदी पुगेको एकाध महिनामै उनी हत्याको आरोपमा जेल परेका थिए । जेलका कोठामा करिब १४ वर्ष एक्लै–एक्लै उदासीमा बिताएका थिए ।


१८ वर्षको उमेरमा ८ कक्षा पढ्दापढ्दै भागेर भारतको गुजरातमा काम गर्न गएका उमेशको जीवनमा प्रवासी कामदारको अनुभवको हिस्सा धेरै छ । त्यसपछिका सात वर्ष उनले गुजरातमै पसिना बगाए । घर फर्केपछि बिहे गरे । दुई छोराको बुबा बने, अनि तिनैको भविष्य सम्झेर साउदी हान्निए ।


त्यतिबेला साउदी जान उनले स्थानीय साहुबाट ऋण काढेर काठमाडौंस्थित एक मेनपावरलाई एक लाख ४० हजार रुपैयाँ बुझाएका थिए । मासिक ५ सय रियाल तलबमा उनले गर्नुपर्ने काम थियो, निर्माण क्षेत्रमा दैनिक आठ घण्टा बेल्चा चलाउनु, सामान ओसार्नु तर काम सुरु गरेको १२ औं दिनमा अप्रत्याशित घटना भइदियो ।


उनी पानी पास हुने फलामको पाइप बोकेर भर्‍याङ उक्लिँदै थिए । पाइपको एक छेउले पाकिस्तानी नागरिक मोहम्मद लतिफ वसिरलाई छुस्स छोयो । यही घटनापछि उनीहरूबीच झगडा भयो । झगडाकै बेला पाकिस्तानीको मृत्यु भयो ।


यही घटनापछि उनी जेल चलान भए । जेल बसाइँको १२ वर्षपछि २०१८ मे १५ मा साउदीस्थित अदालतले उनलाई मृत्युदण्डको सजाय सुनायो । आफ्नै गाउँठाउँको मान्छे साउदीमा मृत्युदण्डको सजाय पाउन लागेको सुनेपछि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका जनकपुरकै सरोज रायले छुटाउन सकिन्छ कि भनेर पहल सुरु गरे । धेरै जनासँग परामर्श गरे । अनि २६ अप्रिल २०१८ मा सरोज रायले पाकिस्तानपस्थित मृतक परिवारकै सबै सदस्यलाई भेटेर ३० लाख रुपैयाँ दिने सर्तमा सामूहिक रूपमा माफीनामाको कागज गराए । माफीनामाको यही कागज साउदी अदालतमा पेस गरिएपछि उमेशको रिहाइको बाटो खुल्यो । उमेशले सरोजतिर हेर्दै सुनाए, ‘उहाँ नभएको भए म जेलभित्रै मरिसकेको हुन्थें ।’


माघ ८ मा काठमाडौं ओर्लेको भोलिपल्ट भेट्दा उमेशको मनस्थिति एकतमासको थियो । कतिखेर घर पुगौंला र बाआमा, पत्नी र छोराहरू भेट्न पाउँला भनेर उनी हतारिएका देखिन्थे । उमेशको उद्धारको काम गरिरहेका सरोजले सुनाए, ‘कहिल्यै नेपाल टेक्नै नपाई मरिने भइयो भन्ठानेका थिए उनले । तर बाँचेर आए ।’


घर पुगेपछि उमेशलाई थाहा भयो, यतिका वर्षमा कति धेरै बदलिएछ । त्यसो त काठमाडौंमै पनि उनले फेरिएको काठमाडौंका बारे बताएका थिए । १३ वर्षको जेल बसाइले उमेशको भाषा र लवज नै बदलिएको थियो । उनले भने, ‘नमक पनि नभएको दालजस्तो खोले खाँदा खाँदा मेरो जिब्रो नै फेरिएको थियो ।’ स्वदेश फर्केपछि त उनले पुरानै स्वाद चाख्न पाएका छन् तर घर फर्किएपछि सुरु भएको पारिवारिक दायित्व कसरी पूरा गर्ने भन्ने प्रश्नले उनलाई घेरिसकेको छ ।


उनी जेलमै रहेका बेला दाजुभाइ छुट्टिए । उनको भागमा ४ कट्ठा खेत र ५ धुर घडेरी परेको थियो तर साउदी पुगेलगत्तै जेल परेका कारण उनले साहुबाट लिएको ऋण तिर्न सक्ने कुरै भएन । परिवारका सदस्यले उनको भागमा परेका अंश बेचेर ऋण तिरिदिए । यतिबेला उनीसँग बाँचेर आएकोमा सबैको माया र स्नेह त छ तर कसरी कमाइखाने भन्ने योजना अनिश्चित छ ।


कान्तिपुरसँगको कुराकानीमा उनले काठमाडौंमा मात्रै नभएर गाउँ पनि खर्चिलो भएको सुनाए । भने, ‘विकास त भएछ तर भाउ पनि बढेछ ।’ काठमाडौंमा भेट्दा उनले अब कहिल्यै बिर्सेर पनि विदेश पस्न नपरोस् भनेर आफूले संकल्प गरेको सुनाएका थिए तर जनकपुर पुगेपछि भने उनलाई के गरौं र कसो गरौं भइरहेको छ । १३ वर्षको जेल बसाइको तन्द्राबाट उनी बाहिर निस्कन त खोजिरहेका छन्, तर मन भुलाउने कामको विकल्प पनि पाइसकेका छैनन् । उनले भने, ‘दोकान खोलौ कि भन्ने पनि सोचेको छु । तर लगानी कसले गरिदिन्छ ? केही सोच्न सकेको छैन ।’


काठमाडौं उत्रिँदा उमेशलाई आफूसँगै जेलमा रहेका ६ नेपाली पनि कसरी छुटेर आउलान् भन्ने चिन्ताले पनि सताएको थियो । उनले भनेका थिए, ‘उदयपुरका विवेक दाहाललाई कसरी छुटाउन सकिएला भनेर पहल गर्नेछु ।’ उमेशका अनुसार उनी बसेको जेलमा रक्सी सेवन गरेको, फर्जी कागज र दुर्घटनाका कारण ६ जना अरू नेपालीसँगै थिए ।


वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले प्रकाशन गरेको एक दशक स्मारिकाका अनुसार अहिले गन्तव्य मुलुकहरूमा नेपाली आप्रवासी कामदार विभिन्न कारणले कारावासको सजाय भोगिरहेको, कानुनी झमेला आइपरेको, मृत्युदण्डको सजाय पाएको र विभिन्न कारणले मृत्यु हुनेको संख्या ठूलो छ । बोर्डका अनुसार हाल मलेसियामा २०४, यूएईमा १८५, साउदी अरबमा ८२, कुवेतमा ५८, कतारमा २८, बहराइनमा तीन, इजरायलमा दुई, ओमन र लेवनानमा एक/एक गरी ५६१ जना नेपाली कामदार विभिन्न अभियोगमा जेलमा छन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?