एमसीसी जस्ताको तस्तै पास नगर्न नेकपा नेतृत्व सहमत

बबिता शर्मा

काठमाडौँ — अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनका लागि नेकपाको नेतृत्वतहमा सहमति जुटेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसीसी परिमार्जनका लागि सहमति जुटेको हो । बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए । त्यसकै आधारमा एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने सहमति जुटेको नेकपा उपाध्यक्ष वामदेव गौतमले इकान्तिपुरलाई बताए ।

‘कार्यदलको तर्फबाट ब्रिफिङ भयो। कार्यदलका संयोजकले अध्ययनलाई आधार मानेर त्यसमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाउनुभयो। त्यो सुनेपछि सचिवालयका सबै सदस्य एमसीसी जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने निष्कर्षमा पुग्यौं,’ उपाध्यक्ष गौतमले भने, ‘अब कार्यदलका सबै सदस्यले प्रतिवेदनमाथि थप अध्ययन गर्ने र अर्को बैठकबाट एमसीसीबारे निर्णय गर्ने गरी उठ्यौं।’

बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक सबै उपस्थित थिए।

सचिवालय सदस्यले प्रतिवेदन अध्ययन गरेपछि दुई/तीन दिनमा सचिवालयको अर्को बैठक बस्ने छ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो। शनिबार कार्यदलले प्रतिवेदनको विषयबस्तुबारे सचिवालय बैठकमा ब्रिफिङ गरेको हो।

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनको लागि खनालको संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन भएको थियो। उक्त कार्यदलले २० दिन अध्ययन गरेर प्रतिवेदन बुझाएको हो।

प्रकाशित : फाल्गुन १०, २०७६ १८:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काठमाडौंबाट भारत आउने हवाई यात्रुको कोरोना परीक्षण हुने

विमानस्थलमै कोरोना संक्रमण छ/छैन परीक्षण गरिने
सुरेशराज न्यौपाने

नयाँ दिल्ली — चीनको वुहानबाट सुरु भएर विश्वभर नै त्रासदी सिर्जना गरेको कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यून गर्न भारत सरकारले काठमाडौंबाट हवाईमार्ग हुँदै आउने यात्रुहरुको पनि ‘स्क्रिनिङ’ गर्ने भएको छ । मन्त्रिपरिषद्का सचिवको अध्यक्षतामा शनिबार बसेको उच्चस्तरीय बैठकले त्यस्तो निर्णय गरेको हो ।


स्वास्थ्य तथा सामाजिक कल्याण सचिव, नागरिक उड्डयन, रक्षा, सूचना तथा प्रसारण मन्त्रालयका सचिवहरु लगायतका अन्य सरोकारवाला निकायका उच्च अधिकारीहरुसमेत उपस्थित रहेको उक्त बैठकले कोरोनाको भाइरस भित्रिन सक्ने सम्भावित मुलुक र सहरहरुको विस्तृत समीक्षा गरेर त्यस्तो निर्णय लिएको यहाँको स्वास्थ्य तथा समाजकल्याण मन्त्रालयले जनाएको छ।

‘वृहत समीक्षा पछि काठमाडौं, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत आउने उडानका लागि वृहत स्वास्थ्य परीक्षण गरिनेछ’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ। यो निर्णयसँगै अब काठमाडौं हुँदै हवाई मार्गबाट भारतका विभिन्न गन्तव्यमा आउने यात्रुहरुको विमानस्थलमै कोरोना भाइरसको संक्रमण छ छैन भन्ने परीक्षण गरिनेछ। हाल काठमाडौंबाट विभिन्न एयरलाइन्सले भारतका नयाँदिल्ली, मुम्बई र बैंग्लोर र बनारस लगायतका सहरमा सिधा उडान गर्दै आएका छन्। भारतले एक महिनादेखि नै नेपालसँगका जोडिएका प्रमुख नाकामा थर्मल स्क्यानर राखेर सीमा ओहोरदोहोर गर्नेहरुको स्क्रिनिङ सुरु गरेको थियो।

चीनसँग सीमा जोडिएको हुँदा नेपालबाट आउने यात्रुहरुकोसमेत स्वास्थ्य परीक्षण हुनुपर्ने माग भारत सरकारअन्तर्गतका विभिन्न सरोकारवाला निकायहरुले केही दिन अघिदेखि नै गर्दै आएका थिए। साथै पछिल्लो समय दक्षिण कोरियालगायतका मुलुकमा पनि भाइरसको संक्रमण देखिएको पृष्ठभूमिमा भारत सरकारले पछिल्लो निर्णय लिएको बताइएको छ।

भारत सरकारले एकसाता अघि विशेष निर्देशन जारी गर्दै चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्यान्ड र सिंगापुरबाट आउने यात्रुहरुको पूर्ण स्वास्थ्य परीक्षण सुरु गरेको थियो। त्यसअनुसार भारतका विभिन्न २१ वटा विमानस्थलमा त्यस्तो परीक्षण हुँदै आएको छ। त्यसैगरी बैठकले यसअघिको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्थालाई निरन्तरता दिँदै अत्यावश्यक प्रयोजनका लागि बाहेक सिंगापुरको भ्रमण नगर्न पनि आग्रह गरेको छ। मन्त्रालयका अनुसार शनिबारसम्ममा ३ लाख ९७ हजार १५२ हवाई यात्रु र समुद्री मार्गबाट भारत प्रवेश गरेका ९ हजार ६९५ यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ। साथै २१ हजार ८ सय ५ भन्दा बढीलाई सामूहिक निगरानीमा राखिएकोसमेत मन्त्रालयले जनाएको छ।

भारतमा हालसम्म तीनजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। र, दक्षिण भारतीय राज्य केरलाका ती तीनै जनालाई दसदिनसम्म क्वारेन्टाइनमा राखिएको थियो। र, हाल उनीहरु संक्रमणबाट मुक्त भइसकेको बताइएको छ।

गत पुसको दोस्रो साता वुहानबाट फैलिएको यो भाइरसको संक्रमण विश्वभरका ३२ देशका ७६ हजारभन्दा बढीमा पहिचान भइसकेको छ। चीनमा मात्र यो संक्रमणबाट २ हजार ३सयनाघिसकेकाे र अन्य मुलुकमा १५ जनाको मृत्यु भइसकेको छ। नेपालमा भने हालसम्म एक जनामा मात्र संक्रमण देखिएको थियो। र, ती संक्रमित व्यक्ति पनि उपचार पछि निको भइसकेका छन्।

प्रकाशित : फाल्गुन १०, २०७६ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×