छिमेकीसँग सन्तुलित सम्बन्ध राख्‍ने प्रयास हामीले गरिरहेका छौं : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकसँग सम्बन्ध सन्तुलित बनाउँदै अगाडि बढ्नु पर्ने बताएका छन् । आफूले लेखेको पुस्तक ‘भिजन टु एक्सन’ को विमोचन कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले सरकार छिमेकीहरुसँग पारस्परिक सम्बन्ध राखेर अघि बढ्न खोजिरहेको बताए ।

छिमेकीसँग सन्तुलित सम्बन्ध राख्‍ने प्रयास हामीले गरिरहेका छौं : प्रधानमन्त्री

‘सूर्यको वरिपरि ९ ग्रह सन्तुलनमा घुमिरहन्छन् । उनीहरुलाई सन्तुलनमा राख्न डोरी बाँध्न र झुण्ड्याउन आवश्यक पर्दैन,’ ओलीले भने, ‘त्यसैगरी हामीले भिन्न-भिन्न विचार राख्ने दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्छ । सरकार त्यही नीति अख्तियार गरेर अगाडि बढिरहेको छ ।’


नेपाल दुई ढुंगाबीचको तरुल भएकाले फैलन नसक्ने भएपनि आफूसँग उपलब्ध स्थानमा समृद्धि हासिल गर्न भने सक्ने ओलीले बताए । ‘हामीले हाम्रो भूमि विस्तार गर्न सक्दैनौं । किनकी हाम्रा छिमेकीहरु हाम्रा छिमेकीहरु सबै तबरले शक्तिशाली छन् । तर, अहिले उपलब्ध भूमिमा समृद्धि हासिल गर्न उनीहरुले रोक्दैनन्,’ ओलीले भने, ‘अहिले सरकारले अख्तियार गरेको सन्तुलित सम्बन्धका कारण उनीहरु हाम्रो समृद्धिका यात्रामा सहयोग गर्न तयार देखिएका छन् ।’


प्रधानमन्त्री ओलीले जाँच दिँदा अरुको कापी च्याथिदिनेले भन्दा त्यो भन्दा राम्रो लेखेर उत्कृष्ट हुने प्रयास गर्नेले प्रगति गर्ने बताए । ‘सधै जाँच दिँदा अरुको कापी च्यात्ने होइन, अरुको भन्दा राम्रो लेख्ने प्रगतिपथमा अगाडि बढ्छन्,’ ओलीले भने, ‘क्रियशन र भिजन भएका व्यक्ति नै हो, आफू पनि अगाडि बढ्ने र मुलुक पनि अगाडि बढाउने उसैले हो ।’


लामो समय लगाएर मुलुकमा जनता सर्वेसर्वा हुने शासन व्यवस्था ल्याएको भन्दै यसलाई अझ व्यवस्थित बनाउनु पर्ने ओलीको भनाइ छ । ‘हामीले लामो संघर्ष पश्चात जनता सर्वेसर्वा हुने व्यवस्था स्थापित गरेका छौं,’ ओलीले भने, ‘यसलाई सही तरिकाले अगाडि बढाउने या नबढाउने भन्ने हाम्रो हातमा छ ।’

नेपालमा घर बनाउने ढुंगा, माटो, पानी, काठ सबै हुँदा पनि अव्यवस्थाका कारण घर बनाउन नसकिएको ओलीको भनाइ छ । जनचाहना अनुरुपको व्यवस्था र स्थायित्वका लागि आफू लागिरहेको ओलीले बताए ।


आफूले लेखेको पुस्तकमा विगतमा के भए भन्दापनि मुलुक बनाउन के गर्नुपर्छ भन्ने उल्लेख गरेको ओलीले जानकारी दिए ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकको काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले विमोचान गरेका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?