१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चिनियाँ प्राविधिक र कामदार नफर्किंदा बुटवल–नारायणगढ सडक निर्माण ठप्प

नारायण शर्मा

नवलपरासी — पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ खण्ड निर्माण कार्य रोकिएको छ । नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ प्राविधिक र कामदार नफर्किएपछि  राजमार्ग निर्माण कार्य रोकिएको हो ।

चिनियाँ प्राविधिक र कामदार नफर्किंदा बुटवल–नारायणगढ सडक निर्माण ठप्प

नयाँ वर्ष मनाउन स्वदेश पुगेका वेला चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु नेपाल फर्कन समस्या भएको हो । राजमार्गको बुटवल–नारायणगढ खण्डको १ सय १४ किलोमिटर खण्ड निमार्ण चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले गरिरहेको छ ।

कम्पनीका तर्फबाट राजमार्गमा प्राविधिक र कामदार गरी ४० चिनियाँ नागरिकले काम गरिरहेका छन् । ति मध्ये कम्पनीका फिल्ड इञ्चार्ज लिन हुंग ताओसहित व्यवस्थापन हेर्ने १५ चिनियाँ नयाँ वर्ष मनाउन स्वदेश गएर नफर्किएका कारण निर्माण कार्य रोकिएको महेन्द्र राजमार्गको दाउन्ने–गैडाकोट सडकखण्डका प्रमुख सुजन अधिकारीले जानकारी दिए ।

निर्णय गर्ने तहका व्यक्तिहरु नयाँ वर्ष मनाएर चीनबाट नफर्किएकाले निर्माण कार्य ठप्प रहेको उनको भनाइ छ ।

यहाँ रहेका चिनियाँ कामदारले कोरोना भाइरसका कारण नयाँ वर्ष मनाउन गएकाहरु नेपाल फर्कन समस्या भएको बताउँछन् । तत्काल नेपाल फर्कदा १४ दिन क्वारेन्टाइन चेकपोष्टमा बिताउन पर्ने भएकाले केहि ढिलो पत्र इञ्चार्ज लिनले पठाएको सडकखण्डका प्रमुख अधिकारीले बताए । आफुहरुले सडक निर्माणको काम सक्न ढिला भइसकेकाले छिटो फर्किन पत्राचार गरेको अधिकारीले बताए ।

अहिलेसम्म राजमार्गको सो खण्डको किनारमा रहेका रुख काटने बाहेक फिलिङ, कल्भर्ड निमार्ण र ठुला पुल निमार्ण बीचमै अलपत्र परेको छ । चिनियाँ कम्पनीका जिम्मेवार अधिकारीहरु नफर्कदासम्म निर्माण कार्य अघि बढाउन कठिन रहेको अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?