बाल मन्दिरले खोसेको शिशु फिर्ता

जनकराज सापकोटा

काठमाडौँ — बाल मन्दिरले आफ्ना निर्देशक पक्राउ परेपछि जबर्जस्ती फिर्ता गरेको शिशु काठमाडौं जिल्ला अदालतको आदेशपछि निःसन्तान दम्पतीकै जिम्मा लगाएको छ । बेलायती महिला डोना स्मिथलाई अवैध रूपमा धर्मसन्तान बेच्न लागेको आरोपमा गत साउन ३२ मा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेलगत्तै कर्मचारीले उक्त शिशु खोसेका थिए ।

बाल मन्दिरले खोसेको शिशु फिर्ता

डंगोलकै सक्रियतामा निःसन्तान दम्पतीलाई शिशु दिइएको थियो । शिशु खोसिएपछि दम्पतीले शिशु दिने प्रक्रियामा डंगोलले अवैध रूपमा साढे पाँच लाख रुपैयाँ लिएको भन्दै जाहेरी दरखास्त दिएका थिए । डंगोल अहिले पुर्पक्षका लागि थुनामा छन् ।


शिशु खोसिएपछि विक्षिप्त बनेका दम्पतीबारे गत भदौ ११ मा कान्तिपुरले ‘मातृत्वसँग खेलबाड’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि सामाजिक आलोचना खेपेको बाल मन्दिर शिशु फर्काउन तयार भएको थियो ।


विवाह भएको १५ वर्षसम्म सन्तान नभएपछि अनेकतिर भौंतारिएका यी दम्पतीले बाल मन्दिरबाट शिशु पाउन महिनौं दौडधुप गरेका थिए । सन्तानको रहरमा रहेका दम्पतीको परिबन्ध बुझेका निर्देशक डंगोलले उनीहरूबाट पटक–पटक गरी साढे पाँच लाखभन्दा धेरै रकम असुलेका थिए । शिशु घर भित्र्याएलगत्तै श्रीमान् वैदेशिक रोजगारीका निम्ति साउदी अरब उडेका थिए । श्रीमान् उडेको केही दिनमै डंगोल पक्राउ परे र महिलाबाट बाल मन्दिरले शिशु खोस्यो ।


महिना दिन अस्पतालमा र एक साता घरमा आफ्नै सन्तानजसरी स्याहारेको शिशु खोसिएपछि ती महिला मानसिक रूपमा विक्षिप्त बनेकी थिइन् । उनी कानुनी रूपमा शिशु लिनका निम्ति जिल्ला अदालत काठमाडौं पुगेकी थिइन् । गत पुस २४ मा काठमाडौं जिल्ला अदालतले धर्मपुत्रका रूपमा उक्त शिशु निःसन्तान दम्पतीलाई दिन सकिने ठहर गरेपछि उनीहरूले फिर्ता पाएका हुन् ।


शिशु फिर्ता पाएपछि कान्तिपुरसँगको कुराकानीमा ती महिलाले बाल मन्दिरले शिशु दिने र खोस्ने गर्दै भावनासँग खेलबाड गरेको बताइन् । महिनौं लामो उल्झन र मानसिक तनावपछि उनले फिर्ता लिएको शिशुको नाम अविरल राखेकी छन् । ‘पहिला जति खुसी थिएँ, त्यति खुसी अहिले छैन, फेरि केही अड्को थाप्छन् कि भनेर डर लाग्छ,’ उनले भनिन् ।


घटना यस्तो थियो

गत असार २५ को कुरा हो । ललितपुरको बुङमतीस्थित विनायक कोलनीछेउमा सालनालसहितको शिशु भेटिएको खबर पाएपछि प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरी स्वास्थ्य जाँचका निम्ति पाटन अस्पताल पुर्‍यायो । शिशुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार जारी राखियो भने प्रहरीले बाल मन्दिरलाई शिशुको बाँकी जिम्मेवारी सुम्पियो ।


शिशुको खोजीमा २०७५ माघमै बाल मन्दिरको सम्पर्कमा रहेका दम्पतीलाई निर्देशक डंगोलले यही शिशु जिम्मा लगाउने प्रक्रिया अगाडि बढाए । शिशु पाइने आसमा डंगोललाई यी दम्पतीले २०७५ माघ २९ मै डेढ लाख बुझाइसकेका थिए । धर्मसन्तान स्विकार्दा हुने सामाजिक प्रश्नलाई छल्न उनीहरू आफैं सन्तान जन्माएर ल्याउने भन्दै करिब नौ महिना काठमाडौंमा डेरा गरेर बसेका थिए ।


यसरी सन्तानको खोजीमा बसेको दम्पती डंगोलले भनेअनुसार शिशु पाइने आसमा उपचार प्रक्रियामा सामेल भए । ३० दिन बिरामी शिशु स्याहारेर अस्पताल बसे । उपचार खर्च बेहोरे र साउन २३ मा शिशु लिएर घर गए ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?