अंग्रेजी, गणित र विज्ञान पढाउन स्वयंसेवक

देशभरका ७० वटा विद्यालयमा मात्रै तीनवटै विषयका शिक्षक छन्
सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारका विषय अध्यापन गराउन स्वयंसेवक शिक्षक खटाउने भएको छ । यी विषयका शिक्षक नभएका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक खटाउन लागिएको हो । 

अंग्रेजी, गणित र विज्ञान पढाउन स्वयंसेवक

मन्त्रालयले गठन गरेको कार्यदलको सर्वेक्षणअनुसार मुलुकभरका तीन हजार विद्यालय छन् । यी तीनवटै विषयका शिक्षक रहेकाको संख्या भने ७० वटा मात्रै छ । सरकारले दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने घोषणा गरे पनि प्राविधिक धारको पढाइ सञ्चालित विद्यालयमा रहेको शिक्षक अभाव टार्न मन्त्रालयले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि–२०७६ स्वीकृत गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई शिक्षण स्वयंसेवकमा खटाउने घोषणा गरिएको थियो । त्यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।


धेरै विद्यार्थी थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिनेछ । ‘शिक्षक विद्यार्थी अनुपात धेरै भएका र अंग्रेजी, गणित, विज्ञान शिक्षक नभएका विद्यालयमा स्वयंसेवक परिचालन गरिनेछ,’ कार्यविधिमा भनिएको छ ।


प्राविधिक धारका शिक्षा विस्तार भएका सामुदायिक विद्यालयमा पनि स्वयंसेवक शिक्षक खटाइने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा शिक्षण स्वयंसेवक समन्वय तथा परिचालन समिति गठन गर्ने व्यवस्था गरिएको छ । शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले स्थानीय तहगत रूपमा स्वयंसेवक शिक्षकको संख्या निर्धारणको काम गर्नेछ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले शिक्षक अभाव रहेका विद्यालयको संख्या यकिन गर्ने व्यवस्था गरिएको छ । संख्या यकिन भएपछि समितिले स्वयंसेवक शिक्षकका लागि पालिकागत दरखास्त आह्वान गर्नेछ । योग्यता पूरा गरेर छनोट भएकामध्येबाट सम्बन्धित स्थानीय तहले नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ । १८ वर्ष उमेर पूरा गरी ४० वर्ष नाघेकाले स्वयंसेवक शिक्षकलाई आवेदन दिन सक्नेछन् । स्नातक र स्नातकोत्तर तहमा उच्चतम अंक ल्याउने आवेदकलाई प्राथमिकता दिएर छनोट गरिने कार्यविधिमा उल्लेख छ ।


स्वयंसेवक शिक्षकलाई साताको कम्तीमा २४ पिरियड पढाउनुपर्ने र प्रचलित मापदण्डअनुसार उक्त विषयको परीक्षाबाट विद्यार्थीको मूल्यांकन गर्नेसम्मको जिम्मेवारी दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणअनुसार स्वयंसेवकहरूले निर्वाह भत्ता पाउने व्यवस्था कार्यविधिमा गरिएको छ । उनीहरूले वर्गीकरण र शैक्षिक योग्यताका आधारमा न्यूनतम २४ हजारदेखि ३२ हजारसम्म मासिक भत्ता पाउनेछन् । सम्बन्धित विद्यालयका प्रधानाध्यापक र जिल्लास्थित शिक्षा विकास समन्वय इकाईले स्वयंसेवक शिक्षकको त्रैमासिक र मासिक रूपमा अनुगमन गरेर प्रतिवेदन केन्द्रमा पठाउनुपर्नेछ । उनीहरूले मासिक भत्ता भने स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरिएको हो ।


विषयगत शिक्षकहरू अभाव आंशिक रूपमा पूर्ति गर्न स्वयंसेवक परिचालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । ‘ठूलो संख्यामा शिक्षकको कमी छ, बजेटका कारण अहिल्यै स्वयंसेवक शिक्षकबाट अभाव टर्दैन,’ उनले भने । आगामी शैक्षिकसत्र (वैशाख) देखि विद्यालयहरूमा शिक्षक पुग्ने गरी छनोट प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?