कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भारतमा बस दुर्घटना : घाइतेको उपचारमा बेवास्ता

(नयाँदिल्ली) र (इटहरी) — सरकारी अस्पतालमा उपचारमा लापरबाही भएको भन्दै दुर्घटनाका घाइतेलाई आफन्तले अन्यत्र लैजान सुरु गरेका छन् । दक्षिण भारतका तीर्थस्थल दर्शनका लागि सुनसरीबाट गएको बस बुधबार राति दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो भने २१ घाइते भएका थिए ।

भारतमा बस दुर्घटना : घाइतेको उपचारमा बेवास्ता

तमिलनाडुको सालेममा भएको दुर्घटनापछि घाइतेलाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको थियो । घटनापछि त्यहाँ पुगेका आफन्तहरूले घाइतेलाई बंगलुरु, चेन्नई र भेलौर लान थालेका हुन् । कन्याकुमारीबाट तमिलनाडुको मीनाक्षी मन्दिर दर्शनपछि बुधबार राति महाराष्ट्रको नासिकतर्फ जाँदै गरेका बेला नेपाली तीर्थालुको बसलाई सालेम जिल्लाको ४४ नम्बर हाइवेमा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको थियो । घाइतेमध्ये १४ जना शुक्रबार साँझसम्म सालेमकै सरकारी अस्पतालमा उपचाररत छन् । त्यसमध्ये एक जना महिला र एक पुरुषको अवस्था चिन्ताजनक रहेको तीर्थयात्रासँगै रहेका अमरनाथ चौधरीले फोनमा बताए । ‘उपचारमा भइरहेको लापरबाहीले बिरामी र तिनका आफन्तलाई चिन्तित बनाएको छ,’ उनले भने ।


घाइतेका एक आफन्तका अनुसार अस्पतालका चिकित्सक र कर्मचारीले बिरामीहरूको नियमित जाँच र परीक्षण पनि गर्ने गरेका छैनन् । कतिपय घाइतेलाई त्यत्तिकै बेडमा सुताइएको मात्र छ । न नियमित औषधि दिइएको छ न त जाँच नै नियमित गरिएको छ । दुर्घटनाका घाइतेमध्येका सदानन्द घिमिरेलाई शुक्रबार नजिकैको मनिपाल अस्पतालमा सारिएको छ । श्रीमती, सासू–ससुरा घाइते भएपछि काठमाडौंबाट त्यहाँ पुगेका घिमिरेका ज्वाइँ कुमार निरौला भने ‘सरकारी अस्पतालको त्यस्तो अवस्थामा उपचार नहुने देखेर मनिपाल सार्नु पर्‍यो ।’ गम्भीर अवस्थामा रहेका घिमिरेको घाँटीको हड्डी भाँचिएको छ । ढाडभन्दा तल्लो भाग चलेको छैन । करङका ६ वटा हड्डी भाँचिएका छन् ।


अस्पतालका स्वास्थ्यकर्मीले हिन्दी र अंग्रेजी दुवै राम्ररी नबुझ्ने र नबोल्ने भएकाले दक्षिण भारतमा भाषाले नेपालीहरूलाई थप समस्या पारेको छ । भाषा नबुझिँदा घाइतेहरूको उपचार के कसरी भइरहेको छ भन्ने जानकारी पनि पाउन नसकेको चौधरीले बताए । ‘एक त व्यवहार पनि राम्रो छैन, अर्को भाषा पनि बुझिँदैन,’ उनले भने, ‘त्यसैले दोहोर्‍याएर सोध्न पनि मिल्दैन ।’


एकातिर उपचार सन्तोषजनक छैन भने अर्कोतर्फ आफ्ना सामान केकस्तो अवस्था छ भन्नेसमेत जानकारी छैन । दुर्घटनालगत्तै सबै सामानहरूलाई प्रहरीले स्थानीय चौकीमा पुर्‍याएको थियो । तीर्थयात्रामा जाँदा नेपाली तीर्थालुहरूले खानबस्न र किनमेलका लागि नगद बोकेका थिए । लुगाफाटाका ब्यागहरू थिए । दुर्घटनामा प्रायः सबैजसोलाई चोटपटक लागेका कारण उक्त चौकीमा लगिएका आफ्ना सामानहरूको बारेमा थाहा नभएको उनीहरूले बताएका छन् । उपचारका लागि अन्यत्र गएकाहरू पनि सामान नलिँदै हिँडेका छन् । ‘प्रहरी चौकी पुगेर त्यो सामान लिन जाने अवस्था नै छैन । एक त भाषाको समस्या अर्को सबैलाई पहिले उपचार गरौं भन्नेछ,’ निरौलाले भने ।

आफूहरूले सास्ती खेपिरहँदा दिल्लीस्थित दूतावासबाट केही सहयोग नभएको भन्दै घाइते र तिनका आफन्त दुःखी छन् । घटनाको तीन दिन बितिसक्दा पनि दिल्लीस्थित नेपाली दूतावासबाट कोही पनि प्रतिनिधि सालेम पुगेका छैनन् । ‘दूतावासबाट फोनमात्र गर्नुभन्दा कोही आइदियो धेरै राहत हुन्थ्यो,’ चौधरीले भने, ‘अनि यहाँका डाक्टरहरूले पनि राम्ररी हेर्थे कि ।’


तर, दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले घटनाका बारेमा जानकारी पाएदेखि नै घाइतेहरूको उपचारका लागि भारतको विदेश मन्त्रालयमार्फत स्थानीय प्रशासनसँग समन्वय भइरहेको दाबी गरे । ‘उपचारमा त्यस्तो समस्या नहुनुपर्ने हो,’ उनले भने, ‘भाषामा समस्या हुन सक्छ । तमिलनाडु सरकार र केन्द्रीय सरकारले पनि आवश्यक सहयोग गरिरहेका छौं भनेर जानकारी गराएको छ ।’ आवश्यक परेको खण्डमा दूतावासका प्रतिनिधि पठाउने र त्यसका लागि छलफल पनि भइरहेको उनले कान्तिपुरलाई बताए ।


दुर्घटनामा परेको को१ख ५३३४ नम्बरको बस ३४ यात्रु लिएर २३ माघमा सुनसरीको दुहबीबाट करिब एक महिनाको दक्षिण भारतको तीर्थाटनमा निस्केको थियो । तीर्थालुहरूले कन्याकुमारी, रामेश्वरम, मीनाक्षी मन्दिर, जगन्नाथ, बाबाधाम, गंगासार घुमिसकेका थिए । उनीहरूको तमिलनाडुको मदुराई गएर महाराष्ट्रको नासिक हुँदै राजस्थानको बाटो नेपाल फर्कने कार्यक्रम थियो । चालकले राति गाडी नचलाउने भनेपछि केही यात्रुहरू रात बिताउन मन्दिर खोज्ने क्रममा बस राजमार्गको छेउमा रोकिराखेको थियो । एउटा मन्दिर भेटिएपछि चालकले बसलाई त्यतैतर्फ मोड्दै थिए तर त्यहीबेला विपरीत दिशाबाट तीव्र गतिमा आएको रात्रिबसले नेपाली तीर्थालु सवार बसलाई ठक्कर दिएको थियो ।


‘हमरा थाहा नै छो’

दुर्घटनामा मृत्यु हुने सातमध्ये इटहरीको एउटै बस्तीका ६ जना परेका छन् भने अर्का एकजना विराटनगरका छन् । दुर्घटनामा तीन आफन्त गुमेपछि इटहरी–१० का लक्ष्मणकुमार चौधरीको परिवार शोकमा डुबेको छ । ७० वर्षीय बुवा रसिलाल चौधरी, ५५ वर्षीया आमा बुधनीदेवी चौधरी र फुपू ६० वर्षीया फूलसरी चौधरीको उक्त दुर्घटनामा निधन भएको छ ।


कन्याकुमारी र मीनाक्षी मन्दिर दर्शनका लागि उनीहरू घरबाट हिँडेका थिए । बर्सेनि तीर्थ गर्दै आएका दम्पती यस पटक पनि एक महिनाअघिदेखि निकै उत्साहित थिए । गत वर्ष पनि चौधरी दम्पती केदारनाथ र बद्रीनाथ पुगेका थिए । यो वर्ष जम्मा ६४ हजार रुपैयाँ खर्च गरेर तीर्थ हिँडेका थिए ।


गाउँटोलमा तीर्थ जान इच्छुक भेला पारेर लैजाने गरेका ठेकेदार अमरनाथ चौधरीले यस पटक पनि आफ्नै नेतृत्वमा लिएर हिँडेका थिए । य सपटकको यात्रामा भएको दुर्घटनाको खबरले सबैका आफन्त शोकाकुल छन् । उक्त दुर्घटनामा परेर ५५ वर्षीया मिरादेवी चौधरीले ५८ वर्षीय श्रीमान् टीकाराम चौधरीलाई गुमाएकी छन् । चार वर्षअघि दम्पती नै मीनाक्षी र कन्याकुमारी पुगिसकेकाले टीकाराम यस पटक तीर्थ जान खासै इच्छुक थिएनन् । तर स्थानीयको आग्रहमा उनले आफ्नो वडाका तीर्थयात्रीको नेतृत्व गर्नैपर्ने भयो । मिरा भने यस पटक घरको काम र नातिलाई छाडेर नजाने भनेपछि रोकिएकी थिइन् । ‘कते छो नै छो, बिरामी छो कि मोरल छो, हमरा थाहा नै छो (कहाँ छन् छैनन्, बिरामी छन् कि मरे भन्ने मलाई थाहा छैन),’ मिराले भनिन् । तीर्थयात्राबाट फिरेपछि बन्धकी राखेको सुन निकालिदिन्छु भनेको उनले भावुक हुँदै सुनाइन् । छोरी निर्मला र जेठा छोरा नवीन बुवाको शव लिन शुक्रबार भारततर्फ गएका छन् ।


यस्तै उनका छिमेकी मधुशाला राईको परिवार पनि शोकमा छ । ६५ वर्षीय ससुरा वीरबहादुर आठपहरिया राई गुमाउन पुगे । सासू आमा मन्जुदेवीको उपचार भइरहेको छ । ऐलानीमा बस्दै आएका दम्पती विगत एक दशकदेखि सानो किराना पसल गर्थे । बर्सेनि तीर्थ जाने गरेका उनीहरू यसपालि अन्तिम पटक दर्शन गर्न हिँडेका थिए ।


इटहरी–१० की महिला जनप्रतिनिधि मेनुका कार्की चौधरीका अनुसार नेपाली दूतावासले शव ल्याउन, मृतकको क्षतिपूर्ति र घाइतेको उपचारका लागि पहल गरिरहेको बताइन् । ‘तीर्थयात्रामा गएको टोलीमा दुर्घटनामा परेर मृत्यु हुने हाम्रो वडाका मात्रै ६ जना परेका छन्,’ उनले भनिन्, ‘वडा नै शोकमग्न छ ।’


तमिलनाडुमा भएको दुर्घटना मृत्यु हुनेमा ७० वर्षीय रसिलाल चौधरी, ५५ वर्षीया बुधनीदेवी चौधरी, ६० वर्षीया फूलसरी चौधरी, ५८ वर्षीय टीकाराम चौधरी, ६५ वर्षीय वीरबहादुर आठपहरिया राई, ५६ वर्षीय गोपाल तामाङ र विराटनगर कञ्चनबारीका ६० वर्षीय विष्णु दाहाल छन् । तीर्थयात्रीको टोलीका सदस्यमध्ये बुधबारको रात बासको व्यवस्था गर्न निस्केका सातजना र चालकमात्र सकुशल छन् । १७ जना सामान्य घाइते र तीन जनाको अवस्था गम्भीर रहेको आफन्तले फोनबाट जानकारी पाएको बताएका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?