१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेकपा कार्यदलले भेटायो एमसीसीमा गम्भीर आपत्तिजनक बुँदा

बबिता शर्मा

काठमाडौँ — अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अध्ययन गर्न बनेको सत्तारुढ नेकपाको कार्यदलले यससँग जोडिएका सम्झौताहरुमा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको बताएको छ ।

नेकपा कार्यदलले भेटायो एमसीसीमा गम्भीर आपत्तिजनक बुँदा

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा ती बुँदाहरु सच्चाउनुपर्ने सुझाव समेटिएको छ ।

एमसीसी सम्झौतामा गम्भीर आपत्तिजनक बुँदाहरु भेटिएको संयोजक खनालले ईकान्तिपुरलाई बताए । संयोजक खनाल भन्छन्, ‘हामीले गम्भीर आपत्तिजनक बुँदाहरु भेट्यौं । अमेरीकाको न्यूयाेर्क स्टेटको कानुन नेपालमा लागु हुनेछ भन्नेसम्मका बुँदा रहेछन् ।’

संयोजक खनालका अनुसार अहिलेको अवस्थामा एमसीसी पारित भए त्यसले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पार्छ । उनका अनुसार गम्भीर र आपत्तिजनक बुँदा हटाएपछि मात्र यसबारे निर्णय लिनुपर्छ ।

खनालले दुई अध्यक्षले दुई–तीन अध्ययन गरेपछि प्रतिवेदनमाथि पार्टीभित्र थप छलफल हुने बताए । ‘हामीले जुन सुझाव दिएका छौं, त्यसलाई कार्यान्वयन गर्नुपर्छ । त्यो सुझाव कार्यान्वयन नगरिकन एमसीसी पास हुँदैन,’ संयोजक खनालले भने ।

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनको लागि भन्दै खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन भएको थियो । उक्त कार्यदलले २० दिन अध्ययन गरेर प्रतिवेदन बुझाएको हो ।

कार्यदलले बुझाएको प्रतिवेदन अध्ययक्षद्वयले अध्ययन गरेपछि सचिवालय बैठकमा पेस हुने भएको छ । त्यसपछि मात्रै नेकपाले एमसीसीबारे थप निर्णय गर्नेभएको छ ।


प्रकाशित : फाल्गुन ९, २०७६ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?