कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बंगलादेशका चिकित्सा विद्यार्थीद्वारा परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थीहरूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आफूहरूको भिसा थप प्रक्रियामा रहेको झन्झट र बंगलादेशी सरकारद्वारा दिइने छात्रवृत्तिको अपारदर्शितालगायतका समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएका छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनले बंगलादेश भ्रमणमा रहेका ज्ञवालीलाई बुधबार ध्यानाकर्षणपत्र दिई सरकारका तर्फबाट समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।

बंगलादेशमा हाल पाँच हजारभन्दा बढी नेपाली विद्यार्थीले चिकित्साशास्त्र अध्ययन गरिरहेको जानकारी एसोसिएसनका अध्यक्ष नवीन यादवले दिए । विद्यार्थीले आफ्नो भिसा थप (एक्स्टेन्सन) मा अनियमितता हुने गरेको गुनासो गरेका छन् । बंगलादेशमा स्नातक (एमबीबीएस) को अध्ययन अवधि ६ वर्ष भए पनि नेपालीले प्रत्येक वर्ष शुल्क तिरेर भिसा एक्स्टेन्सन गर्नुपरेको गुनासो गरेका छन् । एकैपटक दुई वर्षको भिसाका लागि निवेदन दिन सकिने भए पनि नेपाली विद्यार्थीले हरेक वर्ष एक्स्टेन्सन गराउनुपर्ने बाध्यता छ । ‘दुई वर्षका लागि भिसा शुल्क तिरे पनि एक वर्षको मात्रै भिसा पाइन्छ,’ यादवले भने । उनका अनुसार विद्यार्थीले यो समस्याबारे नेपाली दूतावासलाई समेत जानकारी गराइसकेका छन् ।


छात्रवृत्तिको समस्या पनि त्यस्तै छ । ‘छात्रवृत्ति प्रक्रियाको पारदर्शी मापदण्ड अभावमा केही कन्सल्टेन्सी र बिचौलियाबाट नेपाली विद्यार्थी ठगिने गरेका छन्,’ उनले भने । यस विषयमा समेत कूटनीतिक स्तरबाट समाधान गरिदिन मन्त्रीलाई आग्रह गरिएको जानकारी उनले दिए । उनका अनुसार नेपाली विद्यार्थी बंगलादेशका मेडिकल कलेजहरूको यथार्थ जानकारीको अभावका कारण कन्सल्टेन्सी र बिचौलियाबाट ठगिने गरेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?