कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम्युनिस्ट चरित्रबारे दाहालका अभिव्यक्ति : निशाना कता ?

बबिता शर्मा

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केही दिनयता सत्तामा गएपछि कम्युनिस्टहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको इतिहास र प्रसंग सुनाउँदै आएका छन् । यसका लागि दाहालले अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन विघटनको इतिहास खोतल्ने गरेका छन् ।


सत्तामा गएपछि कम्युनिस्ट नेताहरुमा बिग्रने रोग रहेको, नेताहरु मनोगत हुने गरेको र यसका असरहरु नेपालमा देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनको यो चिन्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि गम्भीर प्रश्न देखिन्छ।


आफ्नै पार्टी नेतृत्वको झन्डै दुई तिहाई प्राप्त सरकार रहेको बेला पार्टीका कार्यकारी अध्यक्ष दाहालले सत्ता र पार्टीबीच तालमेल नभएको संकेत दिएका छन्। फागुन महिनाकै मात्र कुरा गर्दा दाहालले १ र ९ गते (शुक्रबार) गरी दुईपटक यस विषयमा बोलिसकेका छन्।


प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर (फागुन ४) पुगेर सरकार ढाल्ने षडयन्त्र भइरहेको बताएको केही दिनमा दाहालले सत्तामा गएपछि कम्युनिस्टहरुमा नैतिक, राजनीतिक र सांस्कृतिक भ्रष्टीकरण हुने गरेको अभिव्यक्ति दिए।


दाहालले कहिले के भने?


फागुन १ मा पार्टी कार्यालय धुम्बाराहीमा जनआन्दोलन तथा जनयुद्ध दिवसका सहिदहरुको सम्मानमा आयोजित कार्यक्रममा दाहालले भनेका थिए, ‘हाम्रो रोग हामी आफै हो। विरोधीले कहिल्यै पछार्न सकेनन्। आन्दोलन, क्रान्तिमा कम्युनिष्टहरु विजयी भएर आए। तर, सत्तामा पुगेपछि वैचारिक स्खलन र सांस्कृतिक स्खलनको प्रक्रिया, त्यागको ठाउँमा स्वार्थ हाबी हुँदै जाँदा काल त्यही भयो,’ उनले थप अगाडि भनेका छन्, ‘पहिलो र दोस्रो विश्वयुद्धमा तीन करोड मान्छे मरेर बनाइएको सोभियत संघ उल्टिएर पुँजीपति, साम्राज्यवादीको हातमा गयो। कम्युनिष्ट नेतामा भएको भ्रष्टिकरण, सत्तामा पुगेपछि सत्ता स्वार्थ, अन्धो भएर सबै चिज मनोगत ढंगले विश्लेषण गर्दा दुर्गति व्यहोर्नु पर्यो। हामीले त्यो पक्षमा ध्यान दिनुपर्छ।’


त्यसको एक सातापछि फागुन ९ (शुक्रबार) गते भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा दाहालले भने, ‘हिजो मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने मान्छेहरुमा शासन हातमा आइसकेपछि बिस्तारै जनताबाट कटेको जस्तो देखिने गर्छ। पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा झन्डै तीन करोड मान्छे मारिए। तर, पछि पुँजीपतिहरुले चलाखीसाथ सत्ता लगे। कम्युनिस्टपार्टीको नेतृत्वनै आफ्नो आदर्शबाट च्यूत भएपछि आफैंले आफैलाई सिध्याउने रहेछ। यसो हेर्‍यो भने हाम्रो पनि त्यही नियति त्यतै जाने खतराका संकेतहरु देखियो। अहिले भैसक्यो भन्या हैन। मेरो भनाईलाई बढि नबुझियोस्। तर, संकेत त त्यति राम्रा देखिएनन् नि। आजभोलि यसो घटना हेर्‍याैं मान्छेहरु बिग्रिने–बिग्रनेतिर जस्तो देखिदैं छ।’


लगातार दाहालको यस्तो अभिव्यक्ति किन आएको होला? राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन्, ‘दाहालको निशाना बेला–बेला केपी ओलीतिर जान्छ। ओलीले त्यसको प्रतिवाद गरिसकेपछि दाहालले फेरि अर्कोतिर ‘ड्राईभट’ गर्न खोज्छन्। उनीभित्र एउटा छटपटाहट छ, कहिले आफ्नो पालो आउने हो भनेर,’ उनले इकान्तिपुरसित भने, ‘अहिले नेकपाको आन्तरीक स्थितिलाई हेर्ने हो भने हत्पत्ति पार्टीले दाहालाई नेतृत्व स्वीकार गर्लाजस्तो लाग्दैन। त्यसकारण बेला–बेला अत्तालिएका अभिव्यक्ति, असुरक्षाका अभिव्यक्ति हुन्।’


तर, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली भने अध्यक्ष दाहाल पार्टीको नीति, विचार र दृष्टिकोण अनुसार नै बोलेको दाबी गर्छन्। ‘सत्तामा पुग्दा सुविधा भोग, आर्थिक प्रलोभनको कुरामा लगाव बढ्ने खतरा रहन्छ। त्यसकारण यस्ता कुरामा सर्तक हुनुपर्छ भनेर हाम्रो पार्टीको मुल दस्तावेजमा लेखिएको छ।


पछिल्लो केन्द्रीय कमिटीमा आएका दस्तावेजमा पनियी कुरा लेखिएको छ। अध्यक्षले अहिले जे बोल्नु भएको छ, ठिक बोल्नु भएको छ,’ ज्ञवालीले भने, ‘पछिल्ला घटनाक्रम त्यस्तै पनि देखिए। उहाँको अभिव्यक्ति सरकार माथिको आक्रमण होईन। सरकारमा पुग्दा यस्तो प्रवृत्ति देखिन्छ है, यसमा होसियार बन भनेर शिक्षाको रुपमा बुझ्नुपर्छ। सरकारको विरोधको रुपमा हैन।’


राजनीतिक विश्लेषक हरि रोकाको बुझाई केही फरक छ।‘स्पष्ट बहुमतको कम्युनिष्ट सरकार बनिसकेपछि पनि भ्रष्टाचारका धेरै घटना घटेको देखिन्छ। मतलव यो सत्ताले छरेको वितृष्णालाई लिएर उहाँले यस्ता अभिव्यक्ति दिनु भएको होला,’ रोकाले इकान्तिपुरसित भने, ‘तर, त्यसभित्र उहाँ पनि पर्नुहुन्छ नि।यी सबै कुरा रोक्न नीतिगत र सांगठनिक रुपबाट के गर्नुभयो? यस्तो प्रवृत्ति देखा पर्दा पार्टीले किन सामुहिक उत्तरदायित्व पुरा गर्न सकेन भन्ने प्रश्न उहाँसँग पनि जोडिएर आउँछ।’ प्रकाशित : फाल्गुन ९, २०७६ २०:४६

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कस्तो छ धुर्मुस-सुन्तलीको 'सेन्टी भाइरस' ?

रीना मोक्तान

पछिल्लो समय सबैको रोजाईमा परेका निर्देशक हुन् रामबाबु गुरुङ । 'कबड्डी'बाट निर्देशनमा आफ्नो छुट्टै छाप छोड्न सफल रामबाबुले यो पटक सिताराम कट्टेल(धुर्मुस)को नयाँ फिल्म निर्देशन गरेका छन्, 'सेन्टी भाइरस' । शुक्रबारबाट प्रदर्शनमा आएकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ फिल्ममा सामाजिक अभियान्ताद्वय कलाकार कट्टेल र कुञ्जना घिमिरे(सुन्तली)को प्रमुख भूमिका छ ।

टेलिश्रृङ्खला 'मेरी बास्सै'बाट दर्शक हसाउँदै आएका यी दुई धुर्मुस सुन्तली जोडिएसँगै अपेक्षित हो, हाँसो। फिल्ममा दर्शक हँसाउने अनेकन संवाद छन्। फिल्ममा निर्देशक गुरुङ स्वयं दर्शक हँसाउन केन्द्रित छन्। सेन्टीभाइरस त्यसैको प्रतिफल हो। पछिल्लो समययता फिल्मकर्मीमा दर्शकले कमेडी मनपराउँछन् भन्ने मनोविज्ञान गढेर बसेको छ। निर्देशक गुरङले लेखेको कथा अनि पटकथामा यही मनोविज्ञान हाबी देखिन्छ।

फिल्मको कथा हो, छथर जोरपाटीको। गाउँमा प्रतिनिधि सभाको चुनाव लागेको छ। सुर्यविक्रम(बसन्त भट्ट) जनउत्थान पार्टीको उम्मेद्वार हो। उसँग पैसा अनि शक्ति छ। पार्टीको सिद्धान्त विपरित जानै नसक्ने बलियो कार्यकर्ता धुर्वरामको साथ छ। त्यस्तै पछिल्लो वर्ष पनि चुनाव हारेका खगेन्द्र(राजाराम पौडेल)ले यसपटक फेरि चुनावको लागि टिकट पाउँछ। प्रतिपक्षी खगेन्द्रको पृष्ठभूमी कमजोर छ। छोरी जूनेली(कुञ्जना)को पूरा समर्थन। एकता बस्ती दुई पार्टीका लागि निर्णायक भोट हुन्। पति धुर्वराम जनउत्थान पार्टीको सिद्धान्त पछाउने यता पत्नि जूनेली लोकतान्त्रिक पार्टी । जूनेली पति धुर्वरामलाई लोकतान्त्रिक पार्टीमा समावेश गरेर बुबालाई जिताउन चाहन्छिन्। पुर्ख्यौली पार्टी छोड्न नचाहने धुर्वरामले के ससुरा खगेन्द्रलाई साथ देलान् ?

चुनावी प्रतिस्पर्धामा पति र पत्नीबीच हुने संघर्षमै घुमेको छ फिल्मको कथा ।

यो फिल्मको केन्द्रिय द्वन्द्व अलमलमा छ। मुख्य पात्रहरु कहिले चुनावका लागि संघर्ष गर्छन् त कहिले एकता बस्तीका लागि। निर्देशक गुरुङले एकपछि अर्को समस्या सिर्जना गर्न खोज्दा फिल्म विषयान्तर भएको छ। दुई पार्टीबीचको प्रतिस्पर्धा देखाउनसाथ सुकुम्बासी बस्तीमा चल्ने डोजरको समस्या फिल्ममा जबरजस्ती घुसाइएको छ। यस्ता बस्तीमा हुने डोजर काण्डका गम्भिर विषयलाई निर्देशकले सतहीमै छोडेका छन्। यसअर्थमा निर्देशक रामबाबु र लेखकद्वय कुमार कट्टेल र दीपक आचार्य गम्भीर देखिन्न्। उपकथामा विशेष ट्रिटमेन्ट आवश्यक लाग्छ।

२ घण्टाको फिल्मले दर्शक होल्ड गराउन सक्दैन। फिल्म हेरिरहँदा लाग्छ पति पत्नीकै झगडा मात्र छ फिल्ममा। निर्देशक गुरुङ निर्देशनमै चिप्लिएका छन्। कतै पनि उनको निर्देशकिय कला झल्किन्न। फिल्मको क्लाइमेक्स निकै कमजोर छ।

दृश्यलेभन्दा पनि संवादले दर्शक हँसाउने प्रयास नेपाली फिल्मको पुरानो रोग बन्दै गएको छ। यही रोगबाट ग्रसित देखिए रामबाबु पनि। फिल्ममा धुर्मुस र सुन्तलीको चर्को आवाजले दर्शक हँसाउने प्रयास भएको छ। फिल्ममा उनी दुईको अभिनय 'मेरी बास्सै'को भन्दा खास छैन। टेलिश्रृङ्खलामा मुख बङ्गाउँथे फिल्ममा त्यसैको मात्र कमी छ। सुर्यविक्रमको अभिनय निभाएका बसन्तको अभिनय पात्रलाई न्याय दिन्छ।

कमेडियनहरुको बाक्लो भिड फिल्ममा कमेडीकै लागि समावेश गरिएको हो। बुद्धि तामाङ, विल्सन विक्रम राई, पवन खतिवडालगायतको कमेडियनहरुको भीडमा दयाहाङ राईलाई पनि मिसाइएको छ। रामबाबुका फिल्ममा दया छुट्दैनन्। साथी रामबाबुकै लागि यस्ता फिल्ममा अभिनय गर्ने दयाहाङ राई दर्शकप्रति अब इमान्दार छैनन् भन्ने प्रमाणित हुन्छ। यस्तै विषयमा काम गर्दै जाने हो भने दयाहाङको करियर पनि ओरालो लाग्ने निश्चित हो। यस्तै फिल्म निर्देशन गर्न थाले रामबाबुलाई दर्शकले पत्याउन छोड्नेछ।

फिल्ममा राजनीतिको विषय उठाउन खोजिएको छ। जबकि राजनीति वा सामाजिक मुद्दा घुसाउन साथ फिल्मको वजन बढ्ने होइन। जब त्यसको प्रस्तुति विश्वनिय र गहिरो हुन्न। बरु फिल्मको आधा आम्दानी रंगशाला दिने भनेर दर्शकको संवेदनालाई क्यास गर्न खोजेको जस्तो देखिन्छ। तर, फिल्म हेर्दा त्यो अपेक्षाकृत खुराक नपाउँदा तीनै दर्शकको मन खल्लो हुन्छ।

यस किसिमको फिल्मले न दर्शकको दायरा बढाउँछ, न रचनात्मक रुपमा नेपाली फिल्मलाई योगदान दिन्छ। बरु आशातित फिल्मकर्मीसँग दर्शक भड्कन सक्छन्।

प्रकाशित : फाल्गुन ९, २०७६ २०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×