१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

बारामा मेयरविरुद्ध बोल्ने कुटिए

मेयरका विरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन
लक्ष्मी साह

बारा — महागढीमाई नगरपालिका–२ मैनी टोलका एक युवकलाई मेयर उपेन्द्र यादवका चालक, उनका स्वकीय सचिव र नगर प्रहरीले बिहीबार राति बरियारपुर बजारमा निर्घात हुनेगरी कुटेका छन् । कुटिएका मुकेश कुसवाहालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । कलैया अस्पतालमा उपचार हुन नसकी वीरगन्ज मेडिकल कलेज पुर्‍याइएको थियो । पछि त्यहाँ पनि अवस्था समान्य नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो ।

मुक्का प्रहारबाट उनको छाती र पेटमा गहिरो चोट लागेको छ । मेयरका पक्षधरहरुले उनलाई गाउँबाट समातेर ल्याएका थिए । उनलाई मेयरका पक्षधरहरुले बजारमै घेरा हालेर कुटपिट गरिरहँदा स्थानीयले प्रतिकार गरेका थिए । नजिकै रहेका सशस्त्र प्रहरीले मुकेशलाई उद्धार गरी उपचारको लागि कलैया अस्पताल पठाएको थियो । पछि मेयर यादवका पक्षधरका व्यक्तिहरुलाई स्थानीय कुटपिट गरेका थिए । सोही क्रममा मेयर यादवका चालक साहेबप्रसाद यादव, स्वकीय सचिव साजन गुप्ता र यी दुवैका अर्का साथी धीरेन्द्र लहेरालाई चोटपटक लागेको छ ।

उनीहरुको वीरगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । साहेबको टाउकोमा चोट लागि घाउ भएको छ । गाउँमा निर्माणाधिन नाला अधुरो रहेको विषयमा मेयर यादवलाई मुकेशले पटकपटक ध्यानाकर्षण गराउँदै आएपनि मेयर यादवले वास्ता नगरेपछि उनले मेयरका विरुद्धमा आफ्नो फेसबुकमा स्टाटस लेखेका थिए । त्यसपछि मेयर उनीमाथि खनिएका थिए । मेयर यादवले मुकेशका बुबा महेन्द्र कुसवाहालाई खेतमा काम गरिरहेको बखत नगर प्रहरी खटाएर पक्राउ गर्न लगाएका थिए ।

पछि महेन्द्रले छोरा मुकेशको जिम्मेवारी लिन नमानेपछि मेयर यादवले महेन्द्रलाई चर्पीमा केहीबेर थुनेको महेन्द्रको आरोप छ । तर मेयर यादवले भने आफूले महेन्द्रलाई छोरालाई सम्झाइदिन मात्र भनेको बताएका छन् । ‘कसैलाई पक्रिएको, कुटिएको वा थुनिएको छैन,’ मेयर यादवले भने, ‘राजनीति रिसइबी साँधेर बदनाम गराउन खोजेका छन् ।’ उता महेन्द्र यादवले आफूलाई मेयरले थुनेको भन्दै प्रहरीमा बिहीबार मेयरमाथि कारबाही गर्न प्रहरीमा उजुरी दिएका छन् ।

मेयरले पनि महेन्द्रका छोरा मुकेशमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गराएका छन् । मेयर यादवले गाउँकै अर्का एक युवक दिपेन्द्र कुसवाहामाथि साइबर क्राइमसम्बन्धी मुद्दा दिएपछि प्रहरीले दिपेन्द्रलाई पक्राउ गरिसकेको छ । दिपेन्द्रलेसमेत विदेशमा रहँदा मेयरविरुद्ध त्यहीँबाट सामाजिक सञ्जालमा विरोध गर्दै आएका थिए । उनी वैदेशिक रोजगारबाट फकिर्एपछि मेयरले उनीविरुद्ध मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेका हुन् । बरियारपुरमा भइरहेको पटकपटकको घटनाबारे प्रहरीले नजिकबाट नियाल्दै अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक शेख अदालतले बताए ।


मेयरका विरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडि सर्वसाधरणहरुको विरोध प्रदर्शन जारी छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?