२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कम्युनिस्टहरु आदर्शबाट विचलित हुँदै गएको लक्षणहरु देखिँदैछ : दाहाल

कान्तिपुर संवाददाता

भक्तपुर — नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिमा ठूल्ठूला त्याग गर्ने कम्युनिस्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन् ।

कम्युनिस्टहरु आदर्शबाट विचलित हुँदै गएको लक्षणहरु देखिँदैछ : दाहाल

नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष दाहालले सत्तामा पुगेपछि कम्युनिस्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताए । ‘आन्दोलन, क्रान्तिमा हुँदा निकै ठूलो त्याग, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, जनता जहाँ बस्छन्, जे खान्छन्, जसरी काम गर्छन् त्यसरी नै काम गरेर जनताका मन जित्‍नचाहिँ सक्ने कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहीं न कहीं त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा पनि छन्,' उनले भने, 'नेपालको इतिहासमा पनि त्यसका संकेतहरु, लक्षणहरु देखिने गरेका छन् ।’


मृत्युलाई पनि सामना गरेर जस्तोसुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका काम गर्न छाड्ने र कम्युनिस्ट सिद्धान्तबाट विचलित हुने गरेको दाहालले बताए । ‘त्यहाँ गइसकेपछि पद, प्रतिष्ठा, लोभलालचमा अनि विभिन्न खालका विसंगति-विकृति भ्रष्टाचारजन्य क्रियाकलापहरु देखिन जाने,' उनले भने, 'हिजो मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै तिनीहरु नै अर्कैअर्कै जनताबाट अलिकति कटेको जस्तो भावनालाई सम्मान गर्न नसकेको जस्तो देखिने गर्छ,' उनले भने ।


उनले कम्युनिस्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्‍व इतिहास उल्लेख गर्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताए । उनले भने, ‘यसो हेर्‍यो भने हाम्रो पनि त्यही नियति । त्यतै जाने खतराका संकेतहरु त्यति राम्रा देखिएनन् आजभोलि यसो घटना हेर्‍यौं मान्छेहरु बिग्रने-बिग्रनेतिर गएको जस्तो देखिँदै छ ।’

प्रकाशित : फाल्गुन ९, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?