कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोही किन भ्रष्ट हुन्छ ?

घनश्याम खड्का

काठमाडौँ — बेलायती इतिहासविद्, लेखक तथा राजनीतिज्ञ जोन एक्टनको प्रसिद्ध कथन छ, ‘शक्ति (सत्ता) भ्रष्ट हुन्छ, पूर्ण शक्तिले पूर्ण भ्रष्टाचार गर्छ ।’ यहाँ एक्टनले भनेको शक्ति सत्ता वा पदको हो । पदमा नरहँदा इमानदार लाग्ने हाम्रा नेता र कर्मचारी जति माथिल्लो निकायमा पुग्छन्, उति भ्रष्ट हुने सम्भावनाबाट गुज्रिन्छन् ।

कोही किन भ्रष्ट हुन्छ ?

अघिल्लो साता मात्रै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार मन्त्रीविरुद्ध अख्तियारले ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर गर्‍यो । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीविरुद्ध अकुत सम्पत्तिको अनुसन्धान गर्न प्रतिनिधिसभा राज्यव्यवस्था समितिले गत साता मात्रै सरकारलाई सिफारिस गरेको छ । यो प्रसंग सेलाउन नपाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको अडियोले बजार तताएको छ ।


आमबुझाइ के छ भने, गच्छदार र बाँस्कोटाहरू मौका, परिस्थिति बिग्रनाले उजागर हुन पुगेका भ्रष्ट प्रवृत्तिका पात्र मात्रै हुन्, छानबिन हुने हो भने पद दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउनेहरूको सूची धेरै लामो हुन्छ । बाँस्कोटाले केही दिनअघि मात्रै संसद्मा आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताएका थिए । बोली र व्यवहारमा यस्तो अन्तर आउनुलाई मनोविज्ञानले एक विकारका रूपमा अर्थ्याउने गरेको छ ।


‘परिवार चलाउन र सामान्य जीविकोपार्जन गर्न खाइपाइ आएको तलबले नपुगेर कसैले बाध्यतावश केही पैसा गडबडी गरेर कमाउँछ भने त्यो सामान्य मानवीय प्रवृत्ति हो,’ मनोविद् भरत गौतमले भने, ‘तर भोग गरेरै नसकिने करोडौं सम्पत्ति जोड्न खोज्नुचाहिँ मानसिक विकार हो जुन समाजमा हुर्काइका क्रममा विकसित हुन्छ ।’


मनोविश्लेषक सिग्मन्ड फ्रायडको सिद्धान्त यहाँ लागू हुने उनी ठान्छन् । उनका अनुसार हुर्कने क्रममा घर, परिवार र समाजमा भएको भ्रष्ट प्रवृत्ति र राजनीतिमा लाग्ने क्रममा आदर्श मानेका नेताहरूमा हुने भ्रष्टताले अन्य नेता/कार्यकर्ताको अवचेतन मनमा पदमा पुगेपछि कमाउनुपर्छ भन्ने मनोभाव विकास गराउँछ ।


‘शक्तिमा पुगेपछि मान्छेमा एकैपटक धेरै ठूलो स्रोतको पहुँच हुन्छ,’ अर्का मनोविद् माधव खतिवडाले भने, ‘यस्तो बेला वर्षौंदेखि दमित इच्छाले मानिसलाई आसक्त पार्छ र त्यसको पूर्ति गर्ने क्रममा भ्रष्टाचार, दुराचारलगायतका अनैतिक काम हुन पुग्छन् ।’

गौतमझैं उनी पनि मनको यो अवस्थालाई विकृत नै मान्छन् र यस्तो विकार आमरूपमा नेता, कर्मचारी र समाजका लब्धप्रतिष्ठित धेरैजसोमा भएको ठान्छन् ।


पश्चिमा मनोवैज्ञानिक आरोन बेकले भ्रष्टाचार अपराधभन्दा पनि एउटा रोग हो जसले पूरै समाजलाई पिरोल्छ भनेका छन् । उनका अनुसार यसबाट पार पाउन पूरै समाज स्वस्थ हुनुपर्छ र त्यसका लागि बच्चाहरू हुर्काउने क्रममै दमित इच्छाहरू अवचेतन मनमा पस्न नपाओस् भनेर असल वातावरण तयार पार्नुपर्छ ।


योगीहरू भने अध्यात्मको कमी हुँदा व्यक्ति भ्रष्ट हुने तर्क गर्छन् । ‘अज्ञानताका कारण भौतिक सुखसयल नै जीवन हो भन्ने भाव मानिसमा हुन्छ, शरीरलाई नै आफू ठान्छन् उनीहरू र यसैलाई खुसी पार्न हुने नहुने अनेकथरी कर्म गर्छन्,’ तीन दशकदेखि गुरुकुलीय शिक्षाको प्रचार गर्दै आइरहेका अरबिन्दो आश्रमका संस्थापक रामचन्द्र भुसालले भने, ‘आफू भन्नाले शरीर मात्रै होइन, चेतना, मन र मानवीय सत्ता छ भनेर बुझ्यो भने व्यक्तिले आफूभन्दा जगतलाई फरक देख्दैन, यस्तो बेला उसलाई आफ्ना लागि मात्रै थुपारौं भन्ने भाव आउँदैन र कुनै भ्रष्टाचार हुन पाउँदैन ।’


मान्छेका इच्छाको अन्त हुँदैन, भोगको कुनै सीमा छैन र एक दिन यो संसारबाट सबै छाडेर मरेर जानुपर्छ भन्ने सत्यलाई हृदयकै तहबाट मनन गर्‍यो भने पनि पद दुरुपयोग गरेर सम्पत्ति थुपार्ने काम हुन नसक्ने उनले बताए ।


आध्यात्मिक चेत भयो भने पदमा पुग्नु भनेको समाज र देशका लागि सेवा गर्ने अवसर हो भन्ने बुझाइ विकास हुने र भ्रष्टाचार हुन नपाउने तर्कसँग मनोविद् गौतम पनि सहमत छन् । ‘मानिस मनको गहिरो विकारमा भएकाले र समाजमा यस्तै विकार भएका मानिसको बाहुल्य भएकाले भ्रष्टाचार गर्नुलाई कुनै अनौठो नमान्ने र यसलाई मनोविकृति नठान्ने चलन छ,’ उनले भने, ‘त्यसो हुँदा आध्यात्मिक पक्षबाट यसलाई पर्गेलेर बुद्धले मनको विकार हटाउन सिकाएको सतिपट्ठान भन्ने ध्यानको अभ्यास गर्‍यो भने पनि मनोचिकित्सा हुन्छ र मानिसमा दमित इच्छाको रूपान्तरण हुन पुग्छ । यस्तो स्वस्थ मनको मानिसले भ्रष्टचारलगायतको काम गर्दैन ।’


केहीअघि लोकसेवा आयोगले नयाँ अधिकृतहरूलाई काममा लगाउनुअघि १० दिनको विपश्यना ध्यानमा पठाउने चलन चलाएको थियो जसलाई उनी अवचेतन मनको विकार हटाउने चिकित्साकै एक तरिका मान्छन् ।


अचेल ‘माइन्डफुलनेस’ भनेर युरोप, अमेरिकाका विद्यालयले बालबालिकालाई अभ्यास गराउने सतिपट्ठान ध्यानलाई हाम्रा शिक्षालयले पनि सुरु गर्नॅपर्ने र सार्वजनिक जवाफदेहिता भएका हरेकलाई यसको अभ्यास गराउनुपर्ने उनले बताए । ‘साइकोलोजिस्टकामा थेरापी गरायो भने पनि अवचेतन मनको विकार हटाउन सकिन्छ तर यसो गर्नुलाई समाजले पागलपनको संज्ञा दिने हुनाले कोही तयार छैन,’ उनले भने, ‘त्यसैले, ध्यान गरेरै दमित वासनाबाट मानिसलाई केही हदसम्म मात्रै भए पनि मुक्त गराइयो भने जगतै कमाऔं भन्ने भ्रष्ट प्रवृत्तिमा कमी आउँछ ।’


नेताहरूमा मसानघाट पनि सिधै कुर्सीबाटै पुग्न परे हुन्थ्योजसरी पदलोलुप मानसिकता हुनुको पछाडि जति कमाए पनि र जति पदमा बसे पनि नअघाउने मनको त्यही विकृत भावदशा जिम्मेवार भएको मनोविद्हरू ठान्छन् । यसका लागि ध्यान नै सजिलो र सुलभ चिकित्सा भएको गौतमको निचोड छ । अर्का मनोविद् खतिवडाले भने दण्ड र पुरस्कारको संस्कृतिलाई कायम राख्नुपर्नेमा जोड दिए । ‘खराब व्यवहारलाई दण्ड दियो भने त्यसलाई नदोहोर्‍याउने मनको स्वभाव हुन्छ भने असल व्यवहार पुरस्कृत भयो भने मनले त्यसलाई फेरिफेरि गर्ने जाँगर देखाउँछ,’ उनले भने, ‘भ्रष्टाचारी र घुसखोरहरूलाई कानुनले दण्ड दिनु भनेको छ, त्यसअनुसारै काम भयो भने पनि मानिसमा भ्रष्ट मनोवृत्ति घट्छ ।’


भ्रष्टाचार गर्नेहरू दण्डित हुनुभन्दा समाजमा तिनकै मानमनितो बढेको र राज्यका माथिल्लो निकायमा तिनकै हालिमुहाली भएको हुँदा भ्रष्ट मनोवृत्तिको विकास भएको उनले बताए । ‘यसो हुन नदिन भ्रष्ट व्यवहारलाई दण्डित गर्नैपर्छ, अनि मात्रै अरूले पनि यसो गर्ने इच्छा राख्दैनन्,’ उनले भने, ‘होइन भने, जे गरे पनि हुने रहेछ भन्ने मनोभाव विकास हुन्छ ।’

प्रकाशित : फाल्गुन ९, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?