३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सेक्युरिटी प्रेस खरिद प्रकरण : कांग्रेसको अवरोधपछि संसद्‍ स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेपछि सभामुख अग्‍निप्रसाद सापकोटाले बैठक फागुन १३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरण : कांग्रेसको अवरोधपछि संसद्‍ स्थगित

बैठकको सुरुमा बोल्दै कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले बाँस्कोटाको बर्खास्तीसँगै कारबाही प्रक्रिया अगाडि बढाउन माग गरिन् । उनले उक्त घटनामा प्रधानमन्त्री स्वयम्‌ले संसदमा जवाफ दिनुपर्ने मागसमेत गरिन् । उनले भनिन्, ‘बर्खास्त गरेर मात्रै यो विषयले विश्राम लिँदैन । कांग्रेस बर्खास्तीले मात्रै चुप बस्दैन । यो विषयमा सत्य-तथ्य कुराहरु जानकारी गराउन पनि माग गर्न चाहन्छ । प्रधानमन्त्रीले सबैले सुन्‍ने गरी संसदमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’


'नयाँ संविधान जारी भइसकेपछि बनेको नयाँ सरकार र प्रधानमन्त्रीले उद्घोष गर्नुभएको थियो म आफू पनि भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्नेको अनुहार पनि हेर्दिनँ भन्‍नुहुन्थ्यो तर सञ्‍चारमन्त्री गोकुल बाँस्कोटालाई ७० करोडको कमिसनबारे छलफल गरेको अडियो सार्वजनिक भएको छ । नेपाली जनताले सुशासन आर्थिक समृद्धि खोजेका थिए तर भ्रष्टाचारका विभिन्न माध्यमबाट बाहिरिएकोमा कांग्रेसको ध्यानाकर्षण भएको छ,' उनले भनिन् । सेक्युरिटी प्रेसबारे सञ्‍चारमन्त्री र विजयप्रकाश मिश्र शर्माबीच भएको संवाद आम नेपाली जनताले बुझ्ने भाषामा बाहिर आएको छ । प्रधानमन्‍त्रीले यो विषयलाई कसरी लिनुहुन्छ भन्‍नेबारे हामी जवाफ चाहन्छौं ।'


'मेरो सञ्‍चारमन्‍त्री अब्‍बल दर्जाको छ भन्‍नुहुन्थ्यो यस्तै भ्रष्टाचार गर्नेमा उपमा दिनुभएको हो भन्‍ने प्रश्‍न उठेको छ', सचेतक भुसालले भनिन्,'भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही गर्छु भनेर प्रधानमन्त्रीको अभिव्यक्ति आएको केही दिन पनि भएको छैन । गोकुल बाँस्कोटालाई मन्त्रिपरिषद्‍बाट तत्काल बर्खास्त गर्नुपर्ने हुन्छ ।' सञ्‍चारमन्‍त्री बाँस्कोटाले भने राजीनामा दिइसकेका छन् ।


कांग्रेसले बालुवाटार प्रकरणमा जग्गा फिर्ता गरेकाले कारबाही नभएको भन्दै सञ्चारमन्त्रीले राजीनामा दिएका कारण कारबाही हुँदैन भन्‍न नपाइने बताएको छ । कांग्रेसले आफ्ना मागहरु पूरा नभएसम्म सदन चल्न नदिने बताएको छ । सभामुख सापकोटाले बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएकाले नियमित कारबाही अगाडि बढाउन माग गरे पनि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए ।


दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेमात्रै सुरु भएको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७६ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?