१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सञ्‍चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसक्नुभयो : सभामुख

जयसिंह महरा

काठमाडौँ — सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका छन् ।

सञ्‍चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसक्नुभयो : सभामुख

बाँस्कोटाले राजीनामा दिएको प्रधानमन्त्री कार्यालयबाट आफूलाई जानकारी आएको सभामुखले बिहीबारको संसद्‍मा जानकारी गराएका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसनको मोलमोलाई गरेको सञ्‍चारमन्‍त्री र विजयप्रकाश मिश्रबीचको संवाद रहेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बर्खास्त गर्न माग गर्दै सदनमा अवरोध गरेको थियो ।

कांग्रेसले अवरोध जारी राखेपछि सभामुख सापकोटाले राजीनामाको अनौपचारिक जानकारी आएको भन्दै सदनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । तर कांग्रेस सांसदहरुले अवरोध जारी राखेपछि प्रतिनिधि सभा बैठक यही फागुन १३ गते दिनको १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेेका छन् ।


बैठकको सुरुमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले एक कम्पनीका एजेन्टसँग कमिसनको विषयमा सञ्चार बाँस्कोटाले गरेको छलफलको अडियो सार्वजनिक भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गरेकी थिइन् । मन्त्री बाँस्कोटालाई बर्खास्त गरेर कारबाही हुने प्रतिबद्बता सदनमा आएर प्रधानमन्त्रीले जनाउनुपर्ने कांग्रेस सचेतक भुसालले माग गरिन् । भुसालले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् अवरुद्ध गर्ने पनि घोषणा गरेकी थिइन् ।


सञ्‍चारमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका थिए । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बुधबार सार्वजनिक भएपछि सञ्‍चारमन्त्री बाँस्कोटाले राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सहयाेग गर्नुपर्ने माग उठिरहेकाे थियाे ।

प्रकाशित : फाल्गुन ८, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?