कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तमिलनाडुमा बस दुर्घटना : ७ नेपालीको मृत्यु, २१ घाइते[अपडेट]

चालकले राति चलाउँदिनँ भनेपछि यात्रुहरु बास बस्न मन्दिरका कुनै धर्मशाला खोज्दै थिए 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाली तीर्थयात्री सवार बस बुधबार राति दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । 

तमिलनाडुमा बस दुर्घटना : ७ नेपालीको मृत्यु, २१ घाइते[अपडेट]

कन्याकुमारीबाट तमिलनाडु हुँदै महाराष्ट्रको नासिकतर्फ जाँदै गरेको को१ख ५३३४ नम्बरको बस सालेम जिल्लाको ४४ नम्बर हाइवेमा विपरीत दिशाबाट आएको बससँग ठोक्किएको हो । ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष र दुई जना महिला छन् । ‘तमिलनाडुकै मिनाक्षी मन्दिर दर्शन गरेर नासिक जाँदै थियौं, अचानक यस्तो दुर्घटना भयो,’ सँगै यात्रा गरिरहेका अमरनाथ चौधरीले फोनमा भने । उनका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा वीरबहादुर राई, टीकाराम चौधरी, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, विष्णु दाहाल, रशिलाल चौधरी छन् । रशिलाल र बुधनी श्रीमान–श्रीमती हुन् ।


चौधरीका अनुसार नेपाली तीर्थालु बोकेको बससँग विपरीत दिशाबाट आएको बस ठोक्किएको हो । ‘हाम्रो ड्राइभरले राति गाडी नचलाउने भनेपछि केही यात्रुहरू रात बिताउन मन्दिर खोज्दै थियौं । बस राजमार्गको छेउमा रोकिराखेको थियो,’ उनले भने, ‘एउटा मन्दिर भेटिएपछि ड्राइभरले बसलाई त्यतै मोड्दै थियो, तर त्यही बेला अर्कातिरबाट रफ्तारमा आएको नाइट बस हाम्रो बससँग सोझै ठोक्कियो ।’


तीव्र गतिमा आएको बसले ठक्कर दिँदा तीर्थयात्री सवार बस हावामा उछिट्टिएर कतिपय यात्रुहरू झ्यालबाटै बाहिर खसेको चौधरीले बताए । ठक्कर दिने बसका यात्रुहरूलाई भने खासै चोटपटक लागेको छैन । ‘मलगायत केही साथीहरू उत्रिएर मन्दिरमा बास बस्न प्रबन्ध के कस्तो छ भनेर बुझेर आउँदै थियौं, बस हावामा भकुन्डो फालिएजस्तो देखें,’ उनले भने । दुर्घटनामा घाइतेको सालेमकै सरकारी अस्पतालमा उपचार भइरहेको छ । चार जनाको अवस्था गम्भीर छ भने अधिकांशको हातखुट्टा भाँचिएको र केहीको ढाडमा चोट लागेको छ । सख्त घाइते हुनेमा सहचालक सुमन चौधरी पनि छन् ।


सुनसरीको दुहबीबाट गत माघ २३ मा दक्षिण भारतका विभिन्न स्थानका तीर्थस्थल दर्शनका लागि एक महिने यात्रामा निस्केको बसमा ३४ यात्रु थिए । तीर्थालुले कन्याकुमारी, रामेश्वरम, मिनाक्षी मन्दिर, जगन्नाथ, बाबाधाम, गंगासार घुमिसकेका थिए । उनीहरूको तमिलनाडुको मदुराई गएर महाराष्ट्रको नासिक हुँदै राजस्थानको बाटो नेपाल फर्कने कार्यक्रम थियो । त्यही क्रममा बाटैमा दुर्घटना भएको हो । ठक्कर दिने भारतीय बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


नेपाली पक्षले क्षतिपूर्तिका लागि दाबी गरेको चौधरीले कान्तिपुरलाई बताए । तर, कागजी प्रक्रियाका लागि भाषाका कारण दोहोरो कुराकानी गर्न समस्या परिरहेको समेत उनले सुनाए । दक्षिण भारतका तमिलनाडुलगायत राज्यका ग्रामीण भेगमा तमिल भाषा मात्र बोलिन्छ । ‘कानुनी प्रक्रियाका लागि र अस्पतालमा भाषाले गर्दा निकै समस्या परेको छ,’ चौधरीले भने । घाइतेको उपचार र मृतकहरूको शव फिर्तालगायतका प्रक्रियाका लागि दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको प्रवक्ता हरि ओडारीले जानकारी दिए । ‘बिहानैदेखि भारतको विदेश मन्त्रालय, स्थानीय प्रशासनसँगको मृतकहरूको शव फिर्ता र घाइतेहरूको उपचारका लागि समन्वय गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन ८, २०७६ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?