कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हल्लाको पछि लाग्नेले मारे हाब्रे

कान्तिपुर संवाददाता

काठमाडौँ — देशका विभिन्न भागमा हाब्रे (रेडपान्डा) का छाला र अन्य अंग बरामद हुने गरे पनि तिनको विदेश निकासी भएको देखिएको छैन । औषधिलगायत अन्य प्रयोजनमा पनि उपयोग भएको पाइएको छैन । अनुसन्धानकर्ताले भने अंग बेच्दा पैसा आउँछ भन्ने हल्लाको पछि लागेर हाब्रे मारिने गरेको निष्कर्ष निकालेका छन् । 

हल्लाको पछि लाग्नेले मारे हाब्रे

अस्ट्रेलियाको ‘युनिभर्सिटी अफ क्विन्सल्यान्ड’ बाट हाब्रेमा विद्यावारिधि गरिरहेका डम्बर विष्टले १० वर्षे अध्ययनमा हाब्रेका कुनै पनि अंग विदेश निकासी भएको नदेखिएको बताए । उनले सन् २००८ देखि २०१८ सम्मका हाब्रेका अंग बरामदसम्बन्धी १२१ वटा घटना केलाएका थिए । उनले भने, ‘प्रतिशोधका रूपमा लिएर मान्छेले मारेका हुन् कि भनेर हेर्दा पनि त्यस्तो पाइएन ।’ विष्टको हाब्रेसम्बन्धी आलेख सोमबार इंल्यान्डको ‘ह्युम्यान डाइमेन्सन अफ वाइल्डलाइफ’ जर्नलमा छापिएको छ ।


विष्टका अध्ययनमा वन्यजन्तु अपराधबारे प्रहरीले अनुसन्धानका क्रममा प्रयोग गरेको रणनीति (छाला वा अंग ल्याए रकम) का कारण मान्छेले हाब्रे मार्ने गरेको पाइएको छ । ‘प्रहरीका कतिपय रणनीति र तालिममा वन्यजन्तुका अंगको बजारमा बढ्दो माग छ भन्दै पैसा तोकेरै उदाहरण दिँदा सर्वसाधारणलाई पैसा कमाउन अभिप्रेरित गरेको देखिन्छ,’ विष्टको आलेखमा उल्लेख छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले छाला भेटिए पुरस्कार दिने भनेर प्रहरीले प्रोपोगान्डा गरेपछि सिकार झनै बढेको बताए । ‘हाब्रेको अन्तर्राष्ट्रिय बजार र निकासीकर्ताको नेटवर्क भेटिएको छैन,’ उनले भने, ‘सोझो र हानि/नोक्सानी नगर्ने भएकाले मान्छेले धेरै हाब्रे मारे ।’


रेडपान्डा नेटवर्क नेपालमार्फत विष्टले नेपालका ३३ जिल्लामा हाब्रेको अध्ययन गरेका थिए । २४ जिल्लामा हाब्रेको अवशेष रहेको पाइएको छ । ७० प्रतिशत हाब्रे संरक्षण क्षेत्र बाहिर छन् । नेटवर्कका राष्ट्रिय प्रतिनिधि आङफुरी शेर्पाले चीनसँग जोडिएका तातोपानी, रसुवागढीलगायत पश्चिमका नाकामा हेर्दा हाब्रेको निकासी नदेखिएको बताए । ‘काठमाडौंभित्रै धेरै बरामद भएको देखिन्छ । अन्यत्र लगेको र यसको नेटवर्क रहेको पनि पाइएन,’ उनले भने ।


दुई हजार मिटरभन्दा बढी उचाइमा पाइने हाब्रे ‘राष्ट्रिय निकुञ्ज ऐन २०२९’ ले संरक्षित सूचीमा राखेको छ । हाब्रे र मानवबीच द्वन्द्व छैन । हाब्रे मांसाहारी हो ।


प्रकाशित : फाल्गुन ८, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?