२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अंग्रेजी भाषाले परम्परामाथि ‘आँच’

कान्तिपुर संवाददाता

काठमाडौँ — अंग्रेजी भाषाको मोहले मुलुकका भाषा र सांस्कृतिक परम्परामाथि आँच आएको विज्ञले बताएका छन् । भाषा आयोगद्वारा बुधबार आयोजित कार्यक्रममा विज्ञहरूले अंग्रेजीलाई माध्यम भाषा बनाएर पढाइँदा दीर्घकालीन रूपमा बहुभाषिक, बहुसांस्कृतिक मुलुक नेपालको पहिचान गुम्ने चिन्तासमेत व्यक्त गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लोकतान्त्रिक संविधानले समावेशी सिद्धान्त सुनिश्चित गरेको बताउँदै मुलुकको भाषा, संस्कृतिको संवर्द्धन कार्य सरकारले प्राथमिकतामा राखेको बताए ।


भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भने, ‘नेपालको संविधानले निर्दिष्ट गरेका प्रावधानहरुलाई बेवास्ता गर्दै समाज अघि बढेको देखिन्छ, बहुभाषिक मुलुकको पहिचानमाथि आँच पुर्‍याउने काम भइरहेको छ । मुलुकमा बोलिने मातृभाषाहरु, सरकारी कामकाजको भाषा नेपाली र त्यसपछि अंग्रेजी सिकाइ हुनुपर्छ भनेर आयोगले सिफारिस गरेको छ । यसतर्फ सरकार र समाजको ध्यान पुग्न सकेको छैन ।’


प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकमा बोलिने भाषाहरुको संस्थागत विकास गर्न सरकारी निकायहरूको पहलमात्र अपुग हुने बताए । ‘मातृभाषा संरक्षण गर्ने सामूहिक दायित्व हो,’ उनले भने, ‘सम्बन्धित मातृभाषा समुदायको पहिलो प्राथमिकतामा राख्न सक्नुपर्छ ।’ भाषा आयोग र त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागले गरेको अनुसन्धानले ६ वटा नयाँ भाषा सूचीकृत गरेको छ ।


राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा मुलुकमा १२३ भाषा छन् । आयोगले पत्ता लगाएको समेत गरी भाषा संख्या १२९ वटा पुगेको छ । नयाँ भाषालाई आगामी जनगणना २०७८ ले सत्यापन गर्ने आयोगकी सदस्य उषा हमालले बताइन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?