कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'खुला, निष्पक्ष र व्यवसायिक पत्रकारिताको पक्षमा लड्नुपर्ने अवस्था आएको छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर पब्लिकेसनले २७ औँ वार्षिकोत्सव मनाएको छ । सेन्ट्रल बिजनेस पार्क थापाथलीमा आयोजित कार्यक्रममा पब्लिकेसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले कान्तिपुरलाई थप व्यवसायिक र मर्यादित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

'खुला, निष्पक्ष र व्यवसायिक पत्रकारिताको पक्षमा लड्नुपर्ने अवस्था आएको छ'

नेपालको राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका साथै समाजको खुलापनको सहयात्री कान्तिपुर भएको भन्दै प्रबन्ध निर्देशक सिरोहियाले सूचना, समाचार, विश्लेषण र ज्ञान प्रवाह गर्ने निष्ठा र प्रतिबद्धतामा कमी आउन नदिने बताए ।


बेलाबखत आउने प्रतिकूलतालाई सामना गर्दै व्यवसायिक पत्रकारितालाई अगाडि बढाउने उनको प्रतिबद्धता थियो । 'बेलाबखत प्रतिकूलताका काला बादल छाउने गर्छन् । मुलुकभित्रबाट मात्रै होइन बेलाबखत मित्रराष्ट्रका नियोगहरूबाट समेत धम्की र चेतावनीको सामना लगातार गरिराख्नु नै परेको छ,' उनले भने,'हाम्रो संविधानले पूर्ण व्यवसायिक पत्रकारिताको ग्यारेन्टी गरेको छ । हामी पूर्ण व्यवसायिक पत्रकारिता गर्दाखेरि कहिँ कतैबाट कुनै हालतमा डराउनुपर्ने आवश्यकता छैन र डराउने पनि छैनौं ।'


नयाँ संविधानको घोषणा र स्थायी सरकार स्थापना भएपछि संचार क्षेत्र अझ राम्रोसँग फस्टाउने बुझाइ राखेको तर सोअनुसारका लक्षण नदेखिएको उनको भनाइ थियो । 'हामी नकरात्मकबाट सकरात्मकतर्फ जानुपर्ला भनेको थिए । तर त्यस्तो भएको देखिएन । संचार क्षेत्रमा मात्रै नभइ समग्र समाजको खुलापनलाई ने खुम्च्याउने प्रयत्न हुन थालेको जस्तो महसुस हुन्छ,' उनले थपे, 'मिडिया काउन्सिल, आम संचारजस्ता विधेयकका माध्यमबाट हामीलाई कस्ने काम भइरहेको छ ।' खुला, निष्पक्ष र व्यवसायिक पत्रकारिताको पक्षमा लड्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।


कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माले नेपाली पत्रकारितामा नयाँ ढंगको अभ्यास सुरु गर्नुपर्ने बेला आएको बताए । पत्रकारितामा आएको संक्रमणले चुनौतीहरु पनि थपिएको उल्लेख गर्दै प्रधान सम्पादक शर्माले अब नयाँ र फरक ढंगले सूचना प्रवाह गर्नुपर्ने बताए । यस्तै उनले समाजसँगको संवादलाई अझ अगाडि बढाउँदै लैजाने प्रतिबद्धता जनाए ।

प्रकाशित : फाल्गुन ७, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?