कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फस्टाउँदै हुन्डी कारोबार

युरोप, अमेरिकालगायतका देशमा अवैध रुपमा जाने नेपालीले हुन्डीबाट एजेन्टलाई रकम पठाउने गरेका छन् ।
जनकराज सापकोटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले पुस अन्तिम साता सुन्धाराको होटल न्यु क्यासलमा काम गर्ने २५ वर्षीय सुरेश मल्ललाई पक्राउ गर्‍यो । ठगीसम्बन्धी कसुरको उजुरी परेपछि पक्राउ परेका उनको बैंक खाता अध्ययन गरेपछि प्रहरी चकित भयो । सामान्य हैसियतका होटल कर्मचारी मल्लको बैंक खाताबाट दुई वर्षमा मात्रै २० करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।

फस्टाउँदै हुन्डी कारोबार

अनुसन्धानमा संग्लन एक प्रहरी भन्छन्, ‘उनको खाताबाट भइरहेको कारोबारमा पर्दा पछाडि अरूको भूमिका छ छैन भन्ने खुलिसकेको छैन । तर अस्वाभाविक कारोबारको तार संगठित रूपमा भइरहेको मानव तस्करी र त्यस क्रममा हुने हुन्डी कारोबारसँग जोडिएको अनुमान गर्न सकिन्छ ।’


कुनै व्यापार र व्यवसायको पृष्ठभूमि नभएका मल्लको खातामा पैसा हाल्नेहरू को–को हुन् र कहाँबाट कुन प्रयोजनका निम्ति त्यत्तिका धेरै पैसा हालिएको हो भन्नेमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । मल्ल पक्राउको पृष्ठभूमिमा संगठित मानव तस्करीको एउटा घटना जोडिएको छ ।


बाँकेको सुनारी गाउँपालिका–३ का ३८ वर्षीय सर्जन केसी र रोल्पाको परिवर्तन गाउँपालिका–५ का ३८ वर्षीय बुद्धिप्रसाद घर्ती अमेरिका जान भन्दै २०७५ फागुन १३ गते मलेसियाको क्वालालम्पुर ट्रान्जिट बनाएर पर्यटक भिसामा इन्डोनेसियाको बाली पुगेका थिए । होटल तथा स्टोरमा काम लगाइदिने र मासिक ३ लाख रुपैयाँसम्म आम्दानी हुने आश्वासनका भरमा अमेरिका जान तयार भएका दुवैलाई एजेन्टले २७ लाख रुपैयाँ लाग्ने र आधा पैसा सुरुमै र आधा रकम इन्डोनेसिया पुगेपछि दिनुपर्ने सर्त राखेका थिए ।


उनीहरूलाई अमेरिका छिराउने जिम्मा लिएका एजेन्टले भोलिपल्टै सिंगापुर हुँदै अमेरिका लैजाने बताएपछि उनीहरू दुवैले एजेन्टले भनेकै मान्छेको हातमा नगदै १० लाख थमाइदिए । त्यसपछि एजेन्टले भनेअनुसार सुरुमा देवकोटाको खातामा दस लाख र मल्लको खातामा नौ लाख जम्मा गरिदिए ।


१४ दिनसम्म बालीको होटलमा राखेपछि सिधै सिंगापुर जान नमिल्ने भन्दै एजेन्टले उनीहरूलाई इथियोपियाको राजधानी अदिस अबाबा पुर्‍याए । प्रत्येक नयाँ गन्तव्यमा पुगेपछि एजेन्टले उनीहरूलाई नयाँ मान्छेको खाता नम्बर दिइन्थ्यो र भनिन्थ्यो, ‘त्यो खातामा रकम जम्मा गर्नु अनि मात्र बाँकी काम हुन्छ ।’ अदिस अबाबामा इथियोपियाबाट इक्वेडर हुँदै अगाडि जानुपर्ने र भिसाका लागि पैसा लाग्ने भन्दै एजेन्टले उनीहरूलाई तीन जनाको खाता नम्बर दिए । अमेरिका पुग्ने सपना सजाएर हिँडेका उनीहरूले एजेन्टले भनेअनुसार नै उनीहरूको खातामा रकम जम्मा गरिदिए । प्रहरीमा दर्ता गरिएको जाहेरी दरखास्तमा मुख्य एजेन्टले उनीहरूलाई आफूले भनेअनुसारको खातामा रकम जम्मा गरिदिएपछि त्यस्तो रकम हुन्डीमार्फत आफूकहाँ आउने बताएको देखिन्छ ।


इक्वेडर जान हिँडेका उनीहरूलाई अदिस अबाबास्थित विमानस्थल अध्यागमनले कागजात नपुगेको भन्दै फिर्ता पठाइदियो । त्यसपछि एजेन्टले उनीहरूलाई थाइल्यान्ड हुँदै इन्डोनेसियाको जकार्ता भएर सिंगापुर पुर्‍याइदिने बाचा गर्‍यो । उनीहरू सिंगापुर पुगे तर अध्यागमनको जाँचमा एक हजार डलर साथैमा हुनुपर्ने सर्त पूरा नगरेको भन्दै उनीहरूलाई इन्डोनेसिया फिर्ता पठाइयो ।


इन्डोनेसिया फर्केको केही दिनसम्म एजेन्टले उनीहरूलाई भियतनामको बाटो हुँदै अमेरिका छिराउने आश्वासन दिएका थिए । तर केही दिनपछि एजेन्ट नै सम्पर्क बाहिर भए । अमेरिका जाने सपना बीचैमा अलपत्र परेपछि उनीहरू नेपाल फर्कने प्रक्रियामा लागे । ‘ओभर स्टे’ को आरोपमा १४ दिन अध्यागमन हिरासतमा बसेर उनीहरू मंसिर १३ गते नेपाल फर्के ।


संगठित मानव तस्करीको फन्दामा परेर इन्डोनेसियाबाट फर्केका पीडितले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले यो घटनाबारे अनुसन्धान थाल्यो । मानव तस्करीको घटनामा हुन्डी पनि जोडिएको देखिएपछि प्रहरी परिसर काठमाडौंले अनुसन्धान नयाँ शिराबाट बढाएको छ । त्यही क्रममा मल्ल पक्राउ परेका हुन् ।


ब्युरोका अनुसार मानव तस्करीको फन्दामा परेका अधिकतर पीडितले विभिन्न देशमा बसेका तस्करीका विभिन्न एजेन्टलाई बुझाउने रकम हुन्डीमार्फत प्रवाह हुने गरेको देखिन्छ । ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार बोलिभिया, इक्वेडर, पानामादेखि भारतका विभिन्न सहर, बैंककदेखि दुबईसम्म फैलिएका मानव तस्करीका एजेन्टले पीडितबाट असुलेको रकम हुन्डीबाटै परिचालन गर्ने गर्छन् । ‘मानव तस्करी सँगसँगै हुन्डीको कारोबार, कालो धनको ओसारपसार र मनी लाउन्ड्रिङ पनि समानान्तर रूपले चलिरहेका छन्,’ थपलियाले भने ।


त्यसो त पछिल्ला २० महिनामा मात्रै अवैध बाटो हुँदै अमेरिका पुगेर ‘डिपोर्ट’ भएकाहरूले मात्रै २१ करोड ४७ लाख रुपैयाँभन्दा धेरै गुमाएको देखिन्छ । ब्युरोका अनुसार पीडितहरूले एजेन्टलाई बुझाएको यतिका धेरै रकममध्ये ठूलो हिस्सा हुन्डीबाटै प्रवाह भएको छ । जस्तो, गत मंसिरमा मात्रै अवैध रूपमा अमेरिका छिर्ने भन्दै हिँडेका ४ जनालाई अफ्रिकी देश मलावीबाट, ५ जनालाई इन्डोनेसियाबाट र ६ जनालाई इथियोपियाबाट उद्धार गरिएको थियो । ब्युरोले लिएको प्रारम्भिक बयानमा १५ जनाले महिनौं लामो अवैध यात्रामा दुई करोडभन्दा धेरै रकम फसाएको देखिन्छ । पीडितहरूका अनुसार उनीहरूले अवैध यात्राका क्रममा देशपिच्छेका एजेन्टलाई बुझाउने रकमदेखि यात्रामा आवश्यक व्यक्तिगत खर्चसमेत हुन्डीबाटै प्राप्त गरेका थिए ।


संगठित मानव तस्करीमा हुन्डीको सम्बन्ध कसरी कहाँ–कहाँसम्म फैलिएको छ भनेर बुझ्न काठमाडौं जिल्ला अदालतमा परेको मानव बेचबिखनको एउटा मुद्दालाई हेर्न सकिन्छ । २०७६ जेठ २७ मा दाङ घोराहीका एक युवालाई संगठित मानव तस्करले आफूलाई झुक्याएर भारतको दिल्ली हुँदै रसिया, कोस्टारिका, पानामा, कोलम्बिया, इक्वेडर, पेरु, बोलिभिया, स्पेन, मेक्सिको हुँदै अमेरिका पुर्‍याएको र उनी १७ महिना थुनामा बसेर नेपाल डिपोर्ट भएको घटनामा प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले मुद्दा दर्ता गर्‍यो ।


सिंहदरबार १५ (परिवर्तित नाम) का नाममा दर्ता भएको त्यस मुद्दामा पीडितले ग्वाटेमाला, निकारागुवा र होन्डुरसमा आफूलाई बन्धक बनाएर पीडितले पैसा असुलेको बताएका छन् । प्रहरीसँगको बयानमा पीडितले साउदी अरबमा रहेका आफ्ना बाबुले समेत हुन्डीमार्फत एजेन्टलाई पैसा पठाएको बताएका थिए । यस मुद्दाका प्रतिवादी दाङका टोपबहादर जीसीले पीडितलाई विदेश पठाउने क्रममा विभिन्न देशका एजेन्टसँग बारम्बार सम्पर्क गरेको तथ्य प्रहरीले उनको मोबाइल कल डिटेलबाट पत्तो पाएको थियो । अदालतबाट कान्तिपुरलाई प्राप्त कागजातमा जीसीले संयुक्त अरब इमिरेट्समा रहेका एजेन्टसँग २७३ पटक, भारतमा रहेका एजेन्टसँग ३०७ पटक, मलेसियामा रहेका एजेन्टसँग १३ पटक, मेक्सिकोमा रहेका एजेन्टसँग १० पटक, क्यानडा र अमेरिकामा रहेका एजेन्टसँग ६ पटक कुराकानी गरेको देखियो ।


इन्डोनेसिया र होन्डुरस, ग्वाटेमाला, पानामा र बोलिभियामा रहेका एजेन्टसँग पनि बारम्बार उनको टेलिफोन सम्पर्क रहेको देखिएको थियो । मानव तस्करीको यही मुद्दामा मुछिएका अर्का प्रतिवादी मुकुन्दराज जीसीले अमेरिकामा रहेका एजेन्टसँग १२ पटक, भारतमा रहेका एजेन्टसँग ४० पटक र साउदी अरबमा रहेका एजेन्टसँग एकपटक कुराकानी गरेको देखिएको थियो । उक्त मुद्दाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारी भन्छन्, ‘नेपाली एजेन्टको सम्पर्कमा रहेका सबैजसो विदेशी एजेन्टको हातमा हुन्डीमार्फत नै पैसा पठाउने गरेको देखिन्छ ।’


मानव तस्करको सञ्जालमार्फत कामको खोजीमा युरोप, अमेरिकालगायतका देशमा अवैध रूपमा छिर्न हिँडेका नेपालीले पनि हुन्डीकै माध्यमबाट एजेन्टलाई रकम पठाउने गरेको देखिन्छ । प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका कामदारहरूको कमाइको ठूलो हिस्सा पनि हुन्डीमार्फत नै नेपाल भित्रिन्छ । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीको बुझाइमा हुन्डी कारोबारीको सक्रियता खाडीलगायतका देशमा रहेका कामदारको पैसा बैंकिङ प्रणाली छलेर आइरहेको देखिन्छ ।


‘मानव तस्करीका निम्ति कस्तो प्रकृतिको हुन्डीमार्फत कति पैसाको कारोबार भइरहेको छ भन्नेबारे प्रहरीसँग यकिन तथ्यांक छैन तर यति भन्न सकिन्छ, मानव तस्करहरूले पीडितबाट हुन्डीकै बाटो प्रयोग गरी पैसा बुझ्ने गरेका छन्,’ उनले भने ।


अन्तर्राष्ट्रिय श्रम संगठनले सन् २०१४ मा गरेको एक अध्ययनले विश्वव्यापी रूपमा १७१ खर्ब रुपैयाँको अवैध कारोबार हुने गरेको निष्कर्ष निकालेको छ । भूमिगत रूपमा सञ्चालित खर्बौं रुपैयाँको यस्तो कारोबारमा नेपालको हिस्सा कति छ भन्नेबारे प्रहरी र अन्य सरकारी निकायसँग यकिन तथ्यांक छैन ।


प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा हुन्डी कारोबारका २५ घटनामा ५३ जना पक्राउ परेका छन् भने उनीहरूबाट ५ करोड ६५ लाख ३५ हजार ५७० रुपैयाँ बरामद भएको छ । आर्थिक वर्ष २०७५/७६ मा भने प्रहरीले अघिल्लो वर्षभन्दा निकै थोरै मान्छेलाई हुन्डी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको देखिन्छ । यो वर्ष प्रहरीले हुन्डीका ८ घटनामा २५ जनालाई पक्राउ गरी २९ करोड ९१ लाख ६६ हजार ५ सय २५ रुपैयाँ बरामद गरेको छ । आर्थिक वर्ष २०७६/७७ को माघसम्म प्रहरीले हुन्डी कारोबारका २६ घटनामा ४२ जनालाई पक्राउ गरी २३ करोड ४७ लाख ५५ हजार २० रुपैयाँ बरामद गरेको छ ।


प्रवक्ता डीआईजी क्षत्रीका अनुसार हुन्डीको बढ्दो कारोबारले औपचारिक अर्थतन्त्रलाई नै जोखिममा पार्ने खतरा हुन्छ । उनले भने, ‘अवैध सुनको कारोबारमा पनि हुन्डी कारोबारको सम्बन्ध देखिन्छ । मानव बेचबिखन र तस्करीका घटना पनि हुण्डीकै बलमा भएको देखिन्छ ।’

प्रकाशित : फाल्गुन ७, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?