२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

शिवरात्रीका कारण विमानस्थल बन्द गर्दा निगमको साखमा धक्का 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाली सेनाले गरिरहेको शिवरात्रीको पूर्वअभ्यासका बारेमा नागरिक उड्‍डयन प्राधिकरणले समयमा जानकारी नदिँदा दिल्लीबाट काठमाडौं उडेको राष्ट्रिय ध्वजावाहक नेपाली वायु निगमको ‘आरए २०६’ विमान काठमाडौंमा पुग्न लाग्दै अचानक डाइभर्ट भएर फेरि दिल्ली फर्कनु परेको छ । 

शिवरात्रीका कारण विमानस्थल बन्द गर्दा निगमको साखमा धक्का 

करिब एक घन्टा चालिस मिनेटको उडानमा काठमाडौं ओर्लन पन्ध्र मिनेट बाँकी रहेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरले एक्कासि अवतरण निषेध नोटाम) लगाइएको भन्दै अवतरण अनुमति बनाउन नदिएपछि पुनः फर्केर नयाँदिल्लीस्थित इन्दिरागान्धी हवाई अड्डामा अवतरण गरेको थियो । नोटाम लगाइएको बारेमा विमान चालकहरुले काठमाडौं नजिक पुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरसँग सम्पर्क भएपछि मात्र जानकारी पाएका थिए । त्यसपछि उनीहरुले १३५ यात्रु बोकेको जहाजलाई अन्य डाइभर्ट गर्नुभन्दा फेरि दिल्लीमै अवतरण गराए । दिल्लीमा करिब एक घन्टा रोकिएर जहाजलाई पुनः काठमाडौंका लागि उडाइयो ।


यसरी पूर्वसूचनाबेगर जहाजलाई फर्काउनु हवाई सुरक्षाका हिसाबले जोखिमपूर्ण त थियो नै, घाटामा चल्दै आएको निगमलाई थप आर्थिक भार परेको छ । दिल्लीबाट काठमाडौं जाँदा र फर्किँदा जहाजले थप तीन घन्टा उडान गर्नुपर्‍यो । जानकारहरुका अनुसार एअर बस ३२० ले प्रतिघन्टा डेढ टन हवाई इन्धन खपत गर्ने हिसाबलाई आधार मान्दा पनि मंगलबार जहाजले दोहोरो उडान भर्नुपर्दा करिब साढे चार टन हवाई इन्धन अतिरिक्त खर्च हुन गएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) को मंगलबारको मूल्यसूचीअनुसार त्यसको मूल्य ३ हजार डलर अर्थात करिब साढे ३ लाख रुपैयाँ हुन हुन्छ ।


मंगलबारको घटनामा इन्धनमा मात्र होइन चालक दलका सदस्यहरुलाई पनि तीन घन्टाको भत्ता दिनुपर्ने परिस्थिति सिर्जना भएको छ । दुई जनाको पाइटलका लागि प्रतिघन्टा पचास डलरका दरले तीन सय डलर अर्थात् ३४ हजार २०० रुपैयाँ खर्च भयो । त्यसैगरी अन्य आठ जना कर्मचारीका लागि औसत दश डलरका दरले पनि २७ हजार रुपैयाँभन्दा बढीको व्ययभार निगमले बेहोर्नु परेको छ । यसरी हेर्दा सरकारको लापर्बाहीका कारण तीन घन्टाभित्रै निगमले चार लाख भन्दा बढी नोक्सानी बेहोर्नु परेको छ । मंगलबारको घटनाले निगमलाई आर्थिक नोक्सानी त भएको छ नै अन्तर्राष्ट्रिय हवाई सेवामा बिस्तारै आर्जन हुँदै गरेको साखमा पनि धक्का पुगेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?