कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चको लेटरप्याडमै किर्ते 

भूषण यादव, लक्ष्मी साह

(वीरगन्ज) र (बारा) — सर्वोच्च अदालतको लेटरप्याड किर्ते गरी झूटा आदेश बनाएर जग्गा नामसारी गराएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्वोच्च अदालतका पूर्वनायब सुब्बा पनि छन् । 

सर्वोच्चका पूर्वनासु हस्तबहादुर नेपाली, कलैयाका प्रह्लादप्रसाद रेग्मी, महागढीमाईका वोहाव अन्सारी, पर्साका चन्द्रबहादुर सिंहसहित पक्राउ परेकाहरूलाई मंगलवार इलाका प्रहरी कार्यालय सिमराले सार्वजनिक गरेको हो । उनीहरूविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए ।


बारा जिल्लाको साबिक रामपुर टोकनी गाविस–२ हाल जितपुर सिमरा–२३ को मसानघाटको एक बिघा जग्गा किर्ते गरी काठमाडौंको कुलेश्वरका प्रद्युम्नराज पाण्डेले आफ्नो नाममा गराई बेचबिखन गरेका थिए । पाण्डेले एक बिघा १० कट्ठा सार्वजनिक जग्गा किर्ते गरी नामसारी गराएको भन्दै मालपोत कार्यालयले २०६६ असोज १ मा उक्त बदर गरी सरकारको नाममा ल्याएको थियो । मालपोतको उक्त निर्णयलाई चुनौती दिँदै मालपोत कार्यालय, मालपोत विभाग र भूमिसुधार मन्त्रालयविरुद्ध पाण्डेले सर्वोच्चमा मुद्दा हालेका थिए ।


२०७४ मंसिर २८ मा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको इजलासले उक्त जग्गामा पाण्डेले आफ्नो हो भन्ने प्रमाण पुर्‍याउन नसकेको ठहर गर्दै प्राकृतिक न्यायको सिद्धान्तअनुसार बुझेर पुनः निर्णय गर्न मालपोतलाई परमादेश आदेश जारी गरेको थियो । तर, पाण्डेका अधिकृत वारेस वोहाव अन्सारीले सर्वोच्चको आदेश मालपोत कार्यालयको विपक्षमा आएको दाबीसहितको किर्ते कागजात पेस गर्दै मोठ स्रेस्ता कायम गरिपाउँ भनी ०७५ असोज १९ मा मालपोत कार्यालय सिमरामा निवेदन दिएका थिए ।


निवेदनसहित उनले मोठ स्रेस्ता कायम गरिदिनेबारे उल्लेख गरिएको सर्वोच्च अदालतको पत्रसमेत समावेश गरेका थिए । उक्त पत्रमा ‘निवेदक प्रद्युम्नराज पाण्डेविरुद्ध मालपोत कार्यालय बारासमेत भएको उत्प्रेषणयुक्त परमादेश मुद्दामा यस अदालतको संयुक्त इजलासबाट २०७४ मंसिर २८ मा भएको फैसलामा निवेदकलाई बुझी मोठ स्रेस्ता कायम गर्नका लागि पुनः निर्णय गर्नू भन्ने रिट जारी भएकाले कित्ता नम्बर ३६२ को एक बिघा १० कट्ठा जग्गा निवेदक प्रद्युम्नराज पाण्डेका नाउँमा मोठ स्रेस्ता कायम गरिदिनू हुन,’ उल्लेख छ । कर्मचारीलाई विवादित जग्गाबारे सर्वोच्चको आदेशको पत्रमा शंका लागेपछि मालपोतले अदालतलाई पत्राचार गरेको थियो । सर्वोच्चले उक्त मुद्दाका सम्बन्धमा गरेको फैसलाको प्रति पठाएपछि सर्वोच्चकै लेटरप्याड दुरुपयोग गरी किर्ते फैसला लेखेर मालपोतमा पेस गरेको खुलासा भएको थियो । मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले भने, ‘सर्वोच्चको पत्र किर्ते गरिएको पाइएपछि कारबाहीका लागि प्रशासनलाई पत्राचार गरेका थियौं ।’


पाण्डेले उक्त जग्गा राजाको हुकुम प्रमांगीबाट आफ्नो पुर्खाले पाएको दाबी गरे पनि अदालतमा उनले प्रमाण पुर्‍याउन नसकेको सर्वोच्चको उक्त मुद्दाको फैसलामा उल्लेख छ । पाण्डेका नाममा स्रेस्ता कायम गरिदिन सर्वोच्चले पठाएको भन्दै मालपोतमा पेस गरिएको पत्र तत्कालीन नासु नेपालीले बनाइदिएको खुलेको प्रहरीले जनाएको छ । नेपालीले गत साउनमा सर्वोच्चको सेवाबाट अवकाश पाएका हुन् । ‘किर्ते कागजात पेस गरेर सार्वजनिक तथा निजी जग्गा नामसारी र बेचबिखन भइरहेको यो एक्लो मुद्दा होइन,’ डीएसपी पुरीले भने, ‘अरू पनि मुद्दा छन्, हामी अनुसन्धान गरिरहेका छौं ।’


घडेरीका लागि महँगो मूल्यमा जग्गा किनबेच बढ्दा यससम्बन्धी अपराध पनि बढेका छन् । पछिल्लो समय सिमरा आसपास क्षेत्रका जग्गा किर्ते प्रमाण बनाई खरिद गर्ने क्रम बढेको पाइएको छ । जितपुर सिमरा उपमहानगरपालिका–२ एयरपोर्ट नजिकैको किनं. ११३० को १० धुर जग्गा ज्ञानेश्वर थपलियाका नाममा दर्ता छ । गत माघ २० मा उक्त जग्गामा अपरिचित व्यक्तिले बिक्रीका लागि नापजाँच गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वीरगन्ज–१८ का बलराम रौनियार र बहुदरमाई नगरपालिका–३ का सलिम मियाँलाई नियन्त्रणमा लिएपछि उनीहरूका साथबाट उक्त जग्गाको नक्कली धनीपुर्जा बरामद भएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?