कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कान्तिपुर प्रकाशकीय : निर्भीक पत्रकारिताको जग हामी कहिल्यै बिर्सने छैनौं 

प्रकाशकीय

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्सले आज २७ वर्ष पूरा गरेर २८ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा म कान्तिपुर मिडिया ग्रुपका तर्फबाट हाम्रा सम्पूर्ण पाठकवृन्द, बिक्रेता, वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

कान्तिपुर प्रकाशकीय : निर्भीक पत्रकारिताको जग हामी कहिल्यै बिर्सने छैनौं 

कान्तिपुरले झन्डै तीन दशकअघि व्यावसायिक पत्रकारिताको जग बसाल्दा मुलुकमा भर्खरै प्रजातन्त्रको पुनरागमन भएको थियो । समाज खुलापनतर्फ लम्किँदै जाँदा हामी पनि त्यसको सहयात्री भई सूचना, समाचार, विश्लेषण र ज्ञान प्रवाह गर्ने अगुवा माध्यम बन्न पुग्यौं । हाम्रो त्यो सुरुवाती निष्ठा एवं प्रतिबद्धतामा कहिल्यै कमी आएको छैन, भलै बेलाबखत प्रतिकूलताका काला बादल छाउने गर्छन् । त्यसलाई चिर्दै अगाडि बढ्न हामीलाई समयले अभ्यस्त बनाइसकेको छ ।


मुलुकमा संवैधानिक संक्रमणको अन्त्य र राजनीतिक स्थायित्वको आगमनसँगै पत्रकारिताको दायरा अरू फराकिलो हुने र यो राम्रोसँग फल्ने–फुल्ने–फस्टाउने हाम्रो बुझाइ थियो । तर, पछिल्ला परिदृश्य अलि फरक देखिएका छन् । यसबीच अनुदारवादी कानुन ल्याई संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई कस्ने कोसिस किन भइरहेको हो, त्यसको कारण हामीलाई थाहा छैन । तर यो प्रतिकूलताको प्रभाव समाजका अन्य क्षेत्रमा झैं पत्रकारितामा पनि परेको छ । त्यसबाट हामी केही अप्ठेरोमा छौं, तर निष्पक्ष पत्रकारिताप्रति हाम्रो निष्ठामा किञ्चित कमी आउने छैन ।


अहिले मुलुकको आर्थिक परिवेश खल्बलिँदा त्यसको असर समाजभरि परेको छ । त्यही भएर हामीले निजी क्षेत्र र सरकारी निकायहरूबीच सार्थक संवाद होस् भनेर कान्तिपुर इकोनमिक समिट आयोजना गर्‍यौं, जसमा विभिन्न विज्ञ, राजनीतिक नेतृत्व, प्रशासक र उद्योगी–व्यवसायीहरूको सक्रिय सहभागिता रह्यो । हालै हामीले कान्तिपुर कन्क्लेभको दोस्रो संस्करण पनि सम्पन्न गर्‍यौं, जहाँ स्वदेश–विदेशबाट आएका ४० भन्दा बढी वक्ताहरूले दुई दिन सारगर्भित छलफल गरे । सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई हामी निरन्तरता दिनेछौं ।


विगत वर्षमा हामीले पब्लिकेसन्सको आन्तरिक प्रणालीलाई चुस्त बनाउनुका साथै विभिन्न प्रकाशनलाई थप पठनीय बनाउने प्रयास गरेका छौं । डिजिटल संस्करणहरूलाई अद्यावधिक एवं आकर्षक बनाउने काम भएको छ । हामी हाम्रा सबै प्रकाशनहरूलाई अझ राम्रो बनाउन सजगताका साथ निरन्तर लागिपर्ने छौं ।


पाठकहरू नै हाम्रो प्रतिबद्धता र प्रेरणाका स्रोत हुन् । निर्भीक पत्रकारिताको यो जग हामी कहिल्यै बिर्सने छैनौं । धन्यवाद !

प्रकाशित : फाल्गुन ७, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?