प्रधानमन्‍त्रीलाई सांसद्‍को जवाफ :  'आफैं बालुवाटारमा बाँसुरी बजाउने अनि किन छाप्यौ भनेर थर्काउने'

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएकी छन् ।

प्रधानमन्‍त्रीलाई सांसद्‍को जवाफ :  'आफैं बालुवाटारमा बाँसुरी बजाउने अनि किन छाप्यौ भनेर थर्काउने'

दुई वर्षको समयमा सरकारले कुनै ठोस कार्यक्रम देखाउन नसकेको भन्दै उनले सरकारको प्रशंसा गरेर समाचार नछापेको भन्दै सञ्‍चारमाध्यमलाई थर्काउने काम भएको बताइन् । 'आफैं बालुवाटारमा बाँसुरी बजाउने अनि किन छाप्यौ भनेर थर्काउने भन्दै उनले प्रश्‍न गरिन् ।


सांसद अतहर कमाल मसलमानले संसद्‍‌भित्र धर्मका विषयमा टीकाटिप्पणी नगर्न आग्रह गरेका छन् । जनताबाट निर्वाचित जनप्रतिनिधिले सदनभित्र विभिन्न धर्मका मत प्राप्त गर्ने र ती धर्मका बारेमा टीकाटिप्पणी गर्दा सदनको गरिमा आँच आउने भएकाले धर्मका विषयमा अनावश्यक विवाद र बहस नगर्न आग्रह गरे ।


सांसद अमरेशकुमार सिंहले उखु किसानहरुले भुक्तानी नपाएको कुरा पटक पटक उठे पनि अझसम्म भुक्तानी पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए । उद्योग मन्त्रालयमा भएको सहमति अझै पनि कार्यान्वयन भएको भन्दै उनले सरकार किसान र जनता को हो कि ? विचौलिया र दलालको को हो ? भन्दै प्रश्‍न गरे । उनले उनले चाँडै किसानहरुको भुक्तानी दिनका लागि सरकारको ध्यानाकर्षण गराए ।


सांसद अमृता थापाले सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेकोप्रति आभार व्यक्त गर्दै छाउप्रथा, बोक्सीप्रथा लगायतका महिला हिंसा भेदभावहरुको भित्री कारण खोजेर मनको गोठ भत्काउने अभियान सुरु गर्नुपर्ने बताइन् । उनले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा समाचारमा आएपछि मात्रै सरकारले थाहा पाउने गरेको भन्दै दुःख समेत व्यक्त गरिन् ।


सांसद इन्दुकुमारी शर्माले सरकारी कार्यालयमा माथिल्लो दर्जाका कर्मचारीले तल्लो दर्जाका कर्मचारीहरुलाई गर्ने व्यवहार सामन्ती सरकारको जस्तो भएको टिप्पणी गरिन् । आफू मातहतका कर्मचारीहरुलाई हेपाहा प्रवृतिका भाषा प्रयोग नगर्न उनले आग्रह गरिन् ।


सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका २२ सुन्धारा छेउमा रहेको सरकारी जग्गा १ सय वर्षदेखि मुस्लिम समुदायले प्रयोग आएकोमा अहिले त्यहााको जग्गा विचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । २००२ सालमा मस्जिद बनाएर मुस्लिम समुदायले प्रयोग गरिरहेको जग्गा अहिले कसरी व्यक्तिको नाममा आयो भन्दै उनले प्रश्न समेत गरिन् ।


सांसद गौरीशंकर चौधरीले टीकापुरबाट निर्वाचित सांसद रेशम चौधरी लगायत थारु आन्दोलनका क्रममा जेल परेकाहरुको रिहाइको माग गरे । उनले टीकापुर घटनाका विषयमा गठित लाल आयोगको प्रतिवेदन माग गर्दै चौधरी लगायत अन्यमाथि लागाइएका झुठा मुद्दाहरु फिर्ता गरि रिहाइको माग गरे ।

प्रकाशित : फाल्गुन ६, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?