कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बालुवाटार जग्‍गा प्रकरणमा गगनको व्यंग्य- 'गोकुलधाममा खड्‍ग उचाल्नु र विष्णु-विष्णु भन्‍नु'

ऋषिराम पौड्याल

काठमाडौँ — कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेकपाका महासचिव विष्णु पौडेलको मिलेमतोमा बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा जोडिएका व्यक्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाउन नसकेको टिप्पणी गरेका छन् ।

बालुवाटार जग्‍गा प्रकरणमा गगनको व्यंग्य- 'गोकुलधाममा खड्‍ग उचाल्नु र विष्णु-विष्णु भन्‍नु'

प्रतिनिधिभाको शून्य समयमा मंगलबार बोल्दै थापाले स्वस्थानी व्रत कथासँग जोडेर प्रधानमन्त्री ओली, सूचनामन्त्री बाँस्कोटा र नेकपा महासचिव पौडेलमाथि व्यंग्य गरेका थिए । उनले भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि । अब उप्रान्त चोरीको सामान सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू । थाहा पाइहाले होइन–होइन भन्नू । चित्त बुझाउन नसकेर अप्ठेरो परे हत्तपत्त चोरीको सामान फर्काउनू र दुई पटक विष्णु–विष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु–विष्णु भन्नू । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इति श्री अख्तियार पुराणे कुमार विष्णु संवादे श्री स्वस्थानी व्रत कथायः बालुवाटार प्रकरण वर्णनम् कथाय प्रथम अध्याय ।’

सांसद थापाको भनाइ उनकै शब्‍दमा ः

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु । थाहा पाइहाले होइन होइन भन्नु । चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन् । इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नम: ।

ललिता निवासको सरकारी जग्गा नेकपा महासचिव पौडेलका छोरा नवीनका नाममा भेटिए पनि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छैन । जग्गा आफ्नो नाममा दर्ता गर्ने अरू सबैलाई विशेष अदालतमा मुद्दा चलाउँदा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी पनि परेका छैनन् । अख्तियारले उक्त प्रकरणमा गत माघ २२ गते १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमा कांग्रेसका उपसभापति तथा सांसद विजयकुमार गच्छदार पनि परेका छन् । ललिता निवासको जग्गाका विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराएका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा चलाइएको छैन । यसलाई सांसद थापाले सत्ता र शक्तिका कारण उन्मुक्ति दिइएको भनी टिप्पणी गरेका हुन् । जग्गा प्रकरणमा अख्तियारले पूर्वाग्रह राखेको भन्दै कांग्रेसले तीन दिन सदन अवरुद्ध गरेको थियो ।


धर्मका नाममा समाज नभड्काऊ’

कांग्रेसका सांसद अतहर कमाल मुसलमानले सदनको गरिमा ओझेलमा पर्ने गरी धर्मको विषयमा टिप्पणी गरेर विवाद नगर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । सबै खालका धर्मावलम्बीको मतले जितेका सांसदले कुनै पनि धर्मको विषयमा सदनमा अनावश्यक विवाद र बहस गर्न नहुने उनको भनाइ थियो ।

शून्य समयमा उनले हिन्दु धर्मको बाहुल्य रहेको मुलुकमा स्वस्थानीका गाथाहरू च्यात्नु र ऋषिपञ्चमीको व्रतका विषयमा अर्को धर्मावलम्बीले विवाद उठाउनु जायज नहुने बताए । ‘हिन्दु र मुस्लिम मिलेर बस्नु नै राष्ट्रको समृद्धि हो,’ उनले भने । गत माघ २८ गते प्रतिनिधिसभामा नेकपा सांसद यशोदा सुवेदी गुरुङले छाउ प्रथा अन्त्य गर्न गोठ भत्काएर मात्र नहुने भन्दै स्वस्थानी र श्रीपञ्चमी व्रत कथाका पाना च्यात्न सक्नुपर्ने बताएकी थिइन् । यस्ता कथाले मनमस्तिष्कमा गलत संस्कार बसालेको उनको भनाइ थियो ।

सांसद कलिला खातुनले मुस्लिम समुदायले सयौं वर्षदेखि प्रयोग गर्दै आएको काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित ६ आना एक पैसा जग्गा भूमाफियाले व्यक्तिगत नाममा दर्ता गरेको बताइन् । २००२ सालमा सुन्धारा मस्जिदको नाममा रहेको जग्गा उनले फर्काउन माग गरिन् ।


महराको सफाइबारे सदनलाई जानकारी

सभामुख अग्निप्रसाद सापकोटाले यौन दुर्व्यवहार मुद्दाको अनुसन्धानमा रहेका सांसद कृष्णबहादुर महराले सफाइ पाएको जानकारी मंगलबार प्रतिनिधिसभालाई दिएका छन् । महरामाथि लगाइएको अभियोग अदालतबाट ठहर नभएको उनले बताए । डिल्लीबजार कारागारमा रहेका महरा अदालतको फैसलाबाट सोमबारै थुनामुक्त भएका छन् । अब उनले संसद् बैठकमा भाग लिन पाउनेछन् ।


प्रकाशित : फाल्गुन ६, २०७६ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?