निर्माणाधीन पाल्पा सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला
पाल्पा — आफ्ना माग पूरा नगरेको भन्दै शनिबार बेलुकी स्थानीय बासिन्दाले तालाबन्दी गरेपछि रैनादेवी छहरा गाउँपालिका-२ साेमादीमा निर्माणाधीन सिजी सिमेन्ट उद्योगको काम तीन दिनदेखि ठप्प भएको छ । निर्माण कम्पनी भारतीय आईयूके र सिजी सिमेन्ट उद्योगको प्रशासनमा स्थानीय बासिन्दाले तालाबन्दी गरेपछि तीव्र गतिमा भइरहेको निर्माणका काम ठप्प भएको हो ।
स्थानीय बासिन्दाले धुलोधूवाँ गराएको, तीव्र गतिमा टिपर चलाएको, आईयूके कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको बताएका छन् । कम्पनीले आफ्ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको बताएका छन् ।
केही दिनअघि पनि यही विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, कम्पनीबीच छलफल भएको थियो । समिति निर्माण गरेर वार्ता गर्ने र समस्या समाधान गर्ने भन्ने निष्कर्षमा पुगेको थियो । स्थानीय दीपक पाण्डेयका अनुसार कम्पनीका केही कर्मचारीले स्थानीय बासिन्दालाई धम्की दिएकाले तालाबन्दी गर्नु परेको बताए । उनका अनुसार स्थानीय युवाहरुले शनिबार बेलुकीदेखि तालाबन्दी गरेर काम ठप्प भएको छ ।
सोमबार रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, वडाध्यक्ष जीवनाथ पोखरेल, स्थानीय बासिन्दा र कम्पनीका महाप्रबन्धक कल्याण पन्तबीच छलफल भइरहे पनि निष्कर्षमा पुगेको छैन । स्थानीयले तालाबन्दी गरेर काम रोकेको थाहा पाएपछि आफू कम्पनी निर्माणस्थलमा पुगेको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
कम्पनीका महाप्रबन्धक पन्तले जानकारी बिना तालाबन्दी गरेको बताए । उनले लिखित माग कोही कसैले नदिएको र केही युवाहरुले आएर अचानक सिजीको प्रशासनमा तालाबन्दी गरेको बताए । उनले कम्पनी निर्माणको चरणमा भएको तर सुरक्षाको प्रत्याभूति हुन नसकेको बताए । खेतमा सिंचाइ गर्ने कुलो पुरिएको विषयमा दुई साता अघि पनि स्थानीय बासिन्दा र कम्पनीबीच विवाद भएपछि जनप्रतिनिधि, स्थानीय समाजसेवी, अगुवा बसेर समाधान भएको थियो ।
चौधरी ग्रुपले सोमादीको सर्देवामा सिमेन्ट उद्योग स्थापना गर्न झण्डै ५ सय रोपनी जग्गा खरिद गरिसकेको छ । यस्तै रिब्दीकोट गाउँपालिका–२, देउरालीको डम्बकमा समेत ३ सय ८० रोपनी जग्गा खरिद गरेर राखेको छ ।
प्रकाशित : फाल्गुन ५, २०७६ ०९:२१