कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

तुइनबाटै गाडी

पारि लगे ६० हजार र वारि ल्याए ३० हजार तिर्नुपर्छ
हरि गौतम

रुकुम पश्‍चिम — ठूलीभेरी नदी वारपार गर्न तल्लु–छोटेबगरमा पुल छैन । तर पनि वारिका गाडी पारि पुग्छन्, पारिका गाडी वारि आउँछन्– तुइनमा झुन्डिएर । सवारीधनीले पारि लगे ६० हजार र वारि ल्याए ३० हजार रुपैयाँ तुइन सञ्चालकलाई तिर्छन् ।

तुइनबाटै गाडी

जाजरकोट–डोल्पा सडकअन्तर्गत तल्लु–छोटेबगर खण्ड जोड्न गाडी तार्नकै लागि तुइन बनाइएको हो । तुइनमा झुन्ड्याएर गाडी आठबीसकोट नगरपालिका–४ छोटेबगरसम्म ल्याउने गरिएको हो । छोटेबगरदेखि डोल्पासम्म गाडी चल्छ । बिग्रेका गाडी मर्मतका लागि राडीबजार, सुर्खेत र नेपालगन्ज लैजान पनि छोटेबगरबाटै नदी तारिन्छ । तुइनमार्फत तारिएका जिप, ट्याक्टर रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको छोटेबगरेखि त्रिवेणीसम्म र त्यहाँदेखि डोल्पाको दुनैसम्म सञ्चालन भइरहेका छन् ।

डोल्पा–जाजरकोट सडकको छोटेबगर–डोल्पा खण्डको ट्र्याक खुलेपछि २०७१ सालमा तुइन बनाइएको हो । आठबीसकोट नगरपालिका–४, ५ र ६ का स्थानीयले आफ्नै लगानीमा तुइन निर्माण गरेका हुन् । नदीमाथि तुइन जडान गर्न १७ लाख ५० हजार रुपैयाँ लगानी भएको स्थानीय घनश्याम भण्डारीले बताए । भण्डारी, कमल थापा, यज्ञराज खड्का, हेमन्त विष्ट र चंखलाल भण्डारीलगायत नौ जनाले साझेदारीमा तुइन चलाएका हुन् । ‘सडक तयार भए पनि गाडी ल्याउन ठाउँ नभएपछि आफैं लगानी गरेर तुइन बनाएका हौं,’ घनश्यामले भने, ‘तुइन बनाएपछि छोटेबगरदेखि त्रिवेणीसम्म गाडी चल्न थाले ।’ नेपाली सेनाले सडक निर्माण गरे पनि नदीमा पुल बनेको छैन ।


डोल्पाको खदाङ र त्रिपुराकोटस्थित ठूलीभेरी नदीमा पनि पुल छैन । अहिले डोल्पामा मात्रै ३० वटाभन्दा बढी जिप चल्छन् भने त्यही क्षेत्रमा ट्याक्टर सय वटाभन्दा बढी छ । छोटेबगर–खण्डमा पनि जिप र ट्याक्टर गरी डेढ सय सवारी छन् । सबै सवारी यही तुइनमार्फत तारिएको उनले बताए ।


‘तल्लुबगरबाट छोटेबगर लगे एउटा जिप वा ट्र्याक्टर तारेको ६० हजार र छोटेबगरबाट तल्लुबगर ल्याए ३० हजार भाडा लाग्छ,’ उनले भने । सडक बनेको ५ वर्षसम्म पुल निर्माणको कुनै प्रक्रिया अघि बढेको छैन् । स्थानीय दीनानाथ विकले भने, ‘ठूलो समस्या भए पनि पुल निर्माणमा सरकारको चासो गएको छैन, सडक छ, तर ठूलीभेरीले ठप्पै बनाएको छ, पुल बनिसक्नुपर्ने बेलामा प्रक्रिया नै सुरु भएको छैन ।’


जाजरकोट–सडकमा एउटा मात्र पुल बनेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र जाजरकोट जोड्न चिसापानीमा ठूलीभेरी नदीमाथि बनेको पुल भर्खरै सञ्चालनमा आएको छ । उक्त पुल बन्नुअघि त्यहाँ पनि तुइनबाटै जिप र ट्र्याक्टर तारिन्थ्यो ।चौरजहारी सडक डिभिजनले पाँचवटा बेलिब्रिज बनाउने प्रक्रिया अघि बढेको जनाएको छ । ती बेलिब्रिज बनेपछि पनि तल्लु र छोटेबगरको समस्या समाधान हुने छैन । कार्यालयका अनुसार डोल्पाको खदाङ र त्रिपुराकोटस्थित ठूलीभेरी नदीमा बेलिब्रिज बन्नेछन् । खदाङखोला, छलगाड र रूपागाड खोलामा पनि बेलिब्रिज बनाउन प्रक्रिया थालिएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?