१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सेनाभित्रको भ्रष्टाचार छानबिनमा सरकारको पूर्ण सहयोगः पोखरेल

जगदिश्वर पाण्डे

काठमाडौँ — उप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सेना भित्रको भ्रष्टाचार छानबिनमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आइतबारबाट सुरू भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’ को उद्घाटनमा  सेनाभित्रकाे भ्रष्टाचार नियन्त्रण कार्य तथा छानबिनमा रक्षा मन्त्रालयको पूर्ण साथ रहेको बताएका हुन् ।

सेनाभित्रको भ्रष्टाचार छानबिनमा सरकारको पूर्ण सहयोगः पोखरेल

कार्यक्रममा प्रधानसेनापति पूर्ण चन्द्र थापा, रक्षा सचिव रेग्मी राज पाण्डे, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थिति रहेको थियो । सैनिक मुख्यालयमै गएर बहालवाला रक्षा मन्त्रीले सेनामा आन्तरिक रुपमा भइरहेको भ्रष्टाचार नियन्त्रण कार्य तथा छानबिनको विषयमा सार्वजनिक रुपमा बोलेको यो पहिलो पटक हो ।


संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैंठकले अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको थियो ।

क्षत्रीले अनियमितता गरेको सम्बन्धमा उजुरी परेपछि अध्ययन गर्न गठित कार्यदलको सुझावका आधारमा समितिले छानबिनका लागि सिफारिस गरेको थियो । समितिको बैठकले क्षत्रीमाथि भएको अनुसन्धान र त्यसको परिणामको विवरणबारे लिखित जानकारी गराउन अख्तियार र विभागलाई भनेको छ ।


उपप्रधान मन्त्री पोखरेलले सेनाले विशेष गरी नागरिकता र प्रमाण पत्रको छानबिन, भर्ना छनौटमा भएको अनियमिततामाथिको छानबिन र कारबाही, आर्थिक अपचलनका विषयमा भएका र भईरहेका छानबिन एवं नियमित अनुगमन जस्ता कार्यले सेनामा सकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको बताए ।

उनले सैनिक अधिकृतहरु सामु अनावश्यक तथा अनाधिकृत चलखेल, भनसुन तथा प्रचारवाजीमा विश्वास नगर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७६ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?