सेनाभित्रको भ्रष्टाचार छानबिनमा सरकारको पूर्ण सहयोगः पोखरेल

जगदिश्वर पाण्डे

काठमाडौँ — उप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सेना भित्रको भ्रष्टाचार छानबिनमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आइतबारबाट सुरू भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’ को उद्घाटनमा  सेनाभित्रकाे भ्रष्टाचार नियन्त्रण कार्य तथा छानबिनमा रक्षा मन्त्रालयको पूर्ण साथ रहेको बताएका हुन् ।

कार्यक्रममा प्रधानसेनापति पूर्ण चन्द्र थापा, रक्षा सचिव रेग्मी राज पाण्डे, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थिति रहेको थियो। सैनिक मुख्यालयमै गएर बहालवाला रक्षा मन्त्रीले सेनामा आन्तरिक रुपमा भइरहेको भ्रष्टाचारनियन्त्रण कार्य तथा छानबिनको विषयमा सार्वजनिक रुपमा बोलेको यो पहिलो पटक हो।


संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैंठकले अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको थियो।


क्षत्रीले अनियमितता गरेको सम्बन्धमा उजुरी परेपछि अध्ययन गर्न गठित कार्यदलको सुझावका आधारमा समितिले छानबिनका लागि सिफारिस गरेको थियो। समितिको बैठकले क्षत्रीमाथि भएको अनुसन्धान र त्यसको परिणामको विवरणबारे लिखित जानकारी गराउन अख्तियार र विभागलाई भनेको छ ।


उपप्रधान मन्त्री पोखरेलले सेनाले विशेष गरी नागरिकता र प्रमाण पत्रको छानबिन, भर्ना छनौटमा भएको अनियमिततामाथिको छानबिन र कारबाही, आर्थिक अपचलनका विषयमा भएका र भईरहेका छानबिन एवं नियमित अनुगमन जस्ता कार्यले सेनामा सकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको बताए।


उनले सैनिक अधिकृतहरु सामु अनावश्यक तथा अनाधिकृत चलखेल, भनसुन तथा प्रचारवाजीमा विश्वास नगर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।


प्रकाशित : फाल्गुन ४, २०७६ २१:२८

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एकतामाथि कुनै दुविधा छैन : दाहाल

मधु शाही, रुपा गहतराज

बांके — नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका कार्यकतामाथि देखिएको दुविधा हटाउन प्रशिक्षण आवश्यक रहेको बताएका छन् । आइतबार कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले लामो समयदेखि पार्टी एकताको विषयमा कार्यकता र नेतृत्व तहबीच छलफल नभएको हुँदा दुविधा उत्पन्न हुनु स्वाभाविक भएको बताए ।

‘यसैका लागि प्रशिक्षण गरिएको हो’, उनले भने, ‘ढुक्क हुनुस् एकतामा कुनै दुविधा छैन।’

पार्टीको निर्णय अनुसार दुवै अध्यक्ष प्रशिक्षणमा सहभागी हुने थियो। तर, कार्य व्यस्तता र स्वास्थ्यस्थितिका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको उपस्थिति हुन नसकेको उनले जानकारी गराए। तर, यसको अर्थ दुवैमा वेमेल छ भन्ने होइन भन्दै प्रष्टिकरण पनि दिएका थिए। ‘हामी दुवै अध्यक्षले प्रशिक्षण दिने निर्णय गरेका थियौं’, उनले भने, ‘अरु प्रदेशमा सँगै हुन सक्छौं।’ पार्टी सुधार र पार्टी विस्तार नै प्रशिक्षणको मुख्य ऐजेन्डा रहेको उनले बताए।

नेपाल कम्युनिस्ट पार्टीको एकतापछि पहिलो पटक प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। बाँकेको कोहलपुर नगरपालिकास्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा गरिएको प्रशिक्षण कार्यक्रममा स्थानीय कमिटी सदस्य, केन्द्रीय नेतृत्व, प्रदेश ५ का सम्पूर्ण जिल्ला र नगर कमिटीका कार्यकतासमेत उपस्थित थिए।
तस्बिर : मधु शाही

कार्यक्रममा कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल मुख्य प्रशिक्षक थिए। त्यस्तै, पार्टीका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर ‘बादल’, प्रदेश ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल लगायतले बोलेका थिए।
शंकर पोखरेलले प्रशिक्षण कार्यक्रममा पार्टी एकता भनेको चुनाव जित्नका लागि मात्रै होइन समाज बदल्ने दृष्टिकोण तयार गर्नका लागि पनि रहेको बताए।

प्रशिक्षणको मुख्य उदेश्य नै पार्टीमा एकलय सिर्जना गरेरअघि बढ्नु रहेको उनकाे धारणा थियाे। केन्द्रीय बैठकको निर्णय अनुसार फागुन ४ देखि प्रशिक्षणको तयारी सुरु भएको हाे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम रहने छ।

प्रकाशित : फाल्गुन ४, २०७६ २१:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×