२१ महिनापछि ‘फिल्ड’मा पुग्यो नेकपा

बबिता शर्मा

काठमाडौँ — तत्कालीन एमाले र माओवादीबीच पार्टी एकताको २१ महिनापछि एकीकृत पार्टी नेकपा ‘फिल्ड’मा पुगेको छ । यो अवधिभर नेकपाको मूल नेतृत्व पार्टी एकीकरणको काम र बैठकका लागि राजधानीमै व्यस्त थियो । यद्यपी एकीकरणका केही काम अझै बाँकी छन् । 

तल्लो तहका कार्यकर्तासम्म पुग्ने नेकपाको तीन महिने विशेष अभियानका कार्यक्रम आइतबारबाट सुरु भएका छन् । पार्टी एकतापछि नेकपाले कार्यकर्ता तहमा चलाउन थालेको यो पहिलो अभियान हो ।


शीर्ष नेताकै उपस्थितिमा ‘पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान’को तयारीका रुपमा प्रदेशस्तरीय प्रशिक्षण नेकपाले सुरु गरेको हो । प्रदेश–५ को बाँकेको कोहलपुरबाट सुरु भएको प्रशिक्षणमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु पुगेका छन् ।


प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टी एकताको विषयमा कार्यकर्ता र नेतृत्वबीच लामो समयदेखि छलफल नहुँदा द्वविधा उत्पन्न भएको भन्दै भेला प्रशिक्षण सुरु गरेको बताएका छन् । पार्टी एकताका विषयमा कुनै द्वविधा नभएको भन्दै दाहालले पार्टी सुदृढिकरण र संगठन विस्तार नै प्रशिक्षणको मुख्य एजेन्डा रहेको बताए ।


नेकपाको सात भौगोलिक र गैरभौगोलिक क्षेत्रमा चल्ने अभियानको तयारी बैठक तथा भेलामा पार्टीका शीर्ष नेता जाने कार्यक्रम तय भएको थियो । प्रदेश ५ को प्रशिक्षण कार्यक्रममा महासचिव विष्णु पौडेल,सचिवालय सदस्य रामबहादुर थापा, प्रदेश ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोख्रेललगायतका सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटीका नेताहरु सहभागी थिए ।


नेकपाले फागुन महिनालाई अभियानको तयारी महिना भनेको छ । यसैअनुसार हरेक प्रदेशमा प्रदेशस्तरीय भेला र बैठक आयोजना हुँदैछन् । प्रादेशिक भेला र बैठक फागुन ४ देखि सुरु भएर फागुन २१ मा सकिनेछन् । चैत्र १ बाट जिल्ला जिल्लामा अभियान सञ्चालन गर्ने योजना नेकपाको छ ।


प्रदेश ५ मा फागुन ४ गते भेला र ५ गते बैठक, कर्णाली प्रदेशमा फागुन ६ र ७, सुदूरपश्चिम प्रदेशमा ९ र १०, गण्डकी प्रदेशमा १२ र १३, वागमती प्रदेशमा १५ र १६, प्रदेश २ मा १८ र १९ र प्रदेश १ मा २० गते भेला र २१ गते बैठक गर्ने कार्यसूची छ । विशेष प्रदेश र सम्पर्क समन्वय विशेष कमिटीको पनि छुट्टै भेला गर्ने तयारी छ ।


यी भेला तथा बैठकमा नेता–कार्यकर्तालाई अभियानको उद्देश्यबारे प्रशिक्षण दिइनेछ । वैचारिक,राजनीतिक,भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्ने अभियानको मुख्य उद्देश्य छन् ।


नेकपा नेताहरुका अनुसार अभियानकै क्रममा तत्कालीन् एमाले र माओवादीका पार्टी सदस्यको अभिलेखसहित पार्टी सदस्यताको नवीकरण हुनेछ । यसबाहेक यो अभियानमा नयाँ सदस्यतासमेत वितरण हुने बताइएको छ । आठ लाख सदस्य नेकपाको दाबी छ ।केन्द्रीय सचिवालय,सबै केन्द्रीय सदस्य,प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र स्थानीय कमिटी परिचालन मार्फत् सबै ८ लाख सदस्यलाई अभियानमा जोड्ने नेकपाको तयारी छ ।


अभियानसम्बन्धी कार्ययोजना माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकबाट पारित भएको थियो । फागुनमा तयारी र असार–साउनमा समीक्षा गरेर अभियान सम्पन्न गर्ने नेकपाको योजना छ । अभियानमार्फत् पार्टीभित्रका गुटबन्दी निरुत्साहित गर्ने नेकपाको योजना छ । प्रकाशित : फाल्गुन ४, २०७६ १८:५८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री

अर्जुन राजवंशी

झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भएको बताएका छन् । झापाको दमकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले विकासको रफ्तार रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने षड्यन्त्र भएको दाबी गरेका हुन् ।

सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेको ओलीको भनाइ थियो। उनले मुलुकको विकासको रफ्तारलाई रोक्न सरकार ढाल्ने क्रियाकलापजारी रहेको बताएका हुन्। सरकार ढाल्न लागिरहेको भनेका उनले कसले त्यो षड्यन्त्र गरिरहेको छ भन्ने कुरा खुलाएनन्।

सरकारको दुई वर्ष पूरा भएको एकदिनपछि आइतबार प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो। सरकार दुई वर्ष पुगेपछि अविश्वासको प्रस्ताव संसदमा पेस गर्न सकिने संवैधानिक व्यवस्था छ।
सम्बन्धित समाचारः
आइतबार गृहनगर झापाको दमक नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले षड्यन्त्र रचेको भरमा देश विकासको गति नरोकिने बताए। उनले आफू ५० वर्षदेखि निरन्तर विभिन्न पक्षसँग लड्दैअघि बढिरहेकाले सरकार विचलित नभइ अघि बढ्ने दृढता व्यक्त गरे।

‘५० वर्षअघि यहीँ जिल्लामा ज्यान हत्केलामा राखेर निरंकुश शासकविरुद्ध लडाइँ सुरु गरेको हुँ,’ उनले भने, ‘२० वर्ष पञ्चायतविरुद्ध लडें। १४ वर्ष जेल जीवन बिताए। ६ वर्ष भूमिगत हुनुपर्‍यो। १८ वर्ष राजतन्त्रविरुद्ध लड्नुपर्‍यो।’

राजा फालेर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपनि संघर्ष समाप्त नभएको ओलीको भनाइ थियो।‘अहिले पनि लडिरहेको छु। ४६ वर्षदेखि रोगसँग लडिरहेको छु। त्यसैले मलाई रोग, जनविरोधी, प्रतिक्रियावादीहरूसँग लड्न डर लाग्दैन’ उनले भने।

आफू बिरामी भएपनि अझै केही वर्ष बाच्ने ओलीको दाबी थियो। ‘मलाई केही गर्दा रोक्न नसक्नेहरू मेरो मृत्यु पर्खेर बसेका होलान्। तर, म अझै केही वर्ष बाच्छुं,’ उनले भने, ‘देशमा भ्रष्टाचार रोक्न र भ्रष्टाचार गर्न नदिन म बाचिरहेको छु।’

प्रधानमन्त्री ओलीले जालझेल गरेर, शक्तिका भरमा अतिक्रमण गरेर हत्याएका सरकारी जमिन सरकारले फिर्ता ल्याउने अभियान सुरु गरिसकेको बताए। सरकारले उच्चस्तरीय छानबिन मार्फत सरकारी जमिन अतिक्रमण भएको, जालझेल गरेर व्यक्तिगत बनाएको पुष्टि भएको खण्डमा सरकारले कुनै हालतमा फिर्ता ल्याउने बताए। यद्यपी, सुकुम्बासी र भूमिहीनका समस्या समाधानको लागि सरकारले ठोस काम गर्ने उनले बताए।

प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्नुअघि आइतबार आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको दमक नगरपालिकास्थित कृष्ण मन्दिर–बेलडाँगी कालोपत्रे सडकको उद्घाटन गरेका थिए। त्यस्तै, झापाको दमक र मोरङको मधुमल्ला जोड्ने गरी मावा नदीमा निर्माण भएको पुलको उद्घाटन गर्नुका साथै झापा, इलाम र पाँचथर जिल्लालाई जोड्ने रणनीतिक सडकको पनि शिलान्यास गरे भने दमक–चिसापानी कालोपत्रे सडकको पनि शिलान्यास गरेका थिए।

प्रकाशित : फाल्गुन ४, २०७६ १८:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×