प्रधानमन्त्रीविरुद्ध अविश्‍वास प्रस्ताव पेस गर्ने बाटो खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यकाल दुई वर्ष पूरा भएकाले उनीविरुद्ध संघीय संसद्‌मा अविश्वासको प्रस्ताव पेस गर्न सकिने संवैधानिक बाटो खुलेको छ । 

प्रधानमन्त्रीविरुद्ध अविश्‍वास प्रस्ताव पेस गर्ने बाटो खुल्यो

संविधानको धारा १०० (४) मा सरकार गठन भएको दुई वर्षपछि मात्र अविश्वास प्रस्ताव पेस गर्न पाइने व्यवस्था छ । ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका थिए । अविश्वासको प्रस्ताव दर्ता गर्ने संवैधानिक बाटो शनिबार खुले पनि ओलीको दल नेकपाको प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेकाले अहिले त्यस्तो प्रस्ताव आउने सम्भावना छैन । प्रमुख प्रतिपक्षी कांग्रेससँग अविश्वासको प्रस्ताव दर्ता गर्न आवश्यक संख्यासमेत संसद्‌मा छैन ।

अविश्वासको प्रस्ताव दर्ता गर्न संसद्को एक चौथाइ अर्थात् ६९ सांसद चाहिन्छ तर कांग्रेससँग प्रतिनिधिसभामा ६३ सांसद मात्र छन् । त्यसमध्ये विजयकुमार गच्छदार भ्रष्टाचार अभियोग र मोहम्मद आफ्ताव आलम फौजदारी मुद्दा लागेर निलम्बित छन् । कांग्रेसले अविश्वास प्रस्ताव ल्याउनुपरे अर्को प्रतिपक्षी दलको समर्थन जुटाउनुपर्छ । एक पटक अविश्वासको प्रस्ताव पेस गरेपछि अर्को एक वर्षसम्म फेरि अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । अविश्वासको प्रस्ताव पेस गर्दा भावी प्रधानमन्त्रीको नामसमेत प्रस्ताव गर्नुपर्छ ।


प्रकाशित : फाल्गुन ४, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?