कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली सरकारका २ वर्ष : संसदबाहिर सत्तारुढ र प्रतिपक्षी नेताका समीक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्षे कार्यकालमा भए गरेका कामको फेहरिस्त प्रतिनिधिसभामा झन्डै १ घण्टा लगाएर सुनाए । नेकपाका र प्रतिपक्षी दलका शीर्ष नेताहरूले ध्यान दिएर उक्त भाषण सुने । र, संसद भवनबाट निस्केपछि प्रधानमन्त्रीले सुनाएका कामको प्रतिक्रिया दिए ।

ओली सरकारका २ वर्ष : संसदबाहिर सत्तारुढ र प्रतिपक्षी नेताका समीक्षा

प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले दुई वर्षमा दुईवटा पनि राम्रा काम गर्न नसकेको प्रतिक्रिया दिए । ओली सरकारका दुई वर्षे कामबारे पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने,‘दुई वर्षमा दुईवटा पनि महत्वपूर्ण काम गरेको देखिँदैन।’

अर्का पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले दुई तिहाइको सरकारले अर्थतन्त्र तथा सामाजिक क्षेत्रमा गुणात्मक काम गर्न नसकेको बताए । सरकारबाट जनताले कामको अपेक्षा गरेको तर दुई वर्ष बित्दा पनि हात केही नलागेको उनको भनाइ थियो । ‘विगतदेखि हुँदै आएका केही कुराहरूका सकारात्मक सूचक छन् । विद्युत परियोजनाका पुरानै काम भइरहेका थिए, अहिले पूरा भए र १२ सय मेगावाटसम्म विद्युत उत्पादन भयो,' उनले भने,'संयोगले यो वर्ष पूरा भएका परियोजनालाई आफ्‍नो कारणले बनेको भन्नुभयो । पुरा हुन नसकेका, नबनेका परियोजनाको दोष विरासत भनेर लगाउनुभयो । यसरी पन्छाउने, कुतर्क गर्ने कुरा शोभनीय होइन ।'

प्रधानमन्त्रीको कार्यशैली सुध्रने सम्भावना नदेखेको भट्टराईको भनाइ थियो । प्रधानमन्त्री ओली कै विषयमा चिन्तित हुनुपर्ने अवस्था रहेको भट्टराईको भनाइ थियो । सरकारका काम निराशाजनक छ भनेर आफ्‍नै पार्टीले भनेको अवस्थामा त्यसलाई स्वीकार गरेर सच्याउने दिशामा जाने भन्दा पनि अत्यन्त अहंकारपूर्ण ढंगले र प्रतिक्रियात्मक ढंगले प्रस्तुत भएकाले चिन्तित हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले व्यंग्यमिश्रित प्रतिक्रिया दिए । उनले प्रधानमन्त्रीले राम्रो भाषण दिएको बताएका थिए । ‘खै सुन्दाखेरी त कत्ति न राम्रो गरेको छ भन्ने लागेको होला, भाषण त धेरै राम्रै थियो तर त्योअनुसार मुलुकमा जनताले अनुभुति गरेको छ कि छैन त्यो मुख्य सवाल हो । मलाई लाग्दैन उहाँले भनेजस्तै जनताले त्यहीँ अनुसार प्राप्त गरेको छ । अनुभुति गरेको छ । सम्झेको छ । त्योअनुसार चाहिँ पटक्कै होइन,' महतोले भने,'उहाँले सबै कुरा राम्रो देख्नुभएको छ तर मुलुकमा सबैकुरा राम्रो भएको छैन ।’ प्रधानमन्त्रीको यो प्रवृत्तिले संविधानको औचित्य कुन दिन समाप्त हुने हो भन्ने ठेगान नभएको महतोको भनाइ थियो ।

नेकपाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सरकारको पाँच वर्ष मध्ये दुई वर्षमा आधार तयार भएको दाबी गरे । ‘जनतामा अपेक्षा र आशा बढी छ । विगतमा जे भयो र जुन प्रकारका अप्ठ्यारा हामीले सामना गरेर यहाँसम्म आइपुग्यौं त्यो हेर्दा जनतामा अपेक्षा र आशा बढी हुनुलाई अन्यथा मान्नु हुँदैन,' उनले भने,'अब हामीले एउटा आधार तयार गरेका छौं । बाँकी रहेको यो तीन वर्षमा हामीले जनतासमक्ष गरेका प्रतिबद्धता पुरा गर्ने ठोस आधार तयार गरेका छौं ।’

कांग्रेस नेता प्रकाशमान सिंहले दुइवर्षको अवधिमा केही काम गर्न नसकेपनि सरकारले बोल्न नछोडेको बताए । विकास बजेट खर्च गर्न नसकेको स्वीकर प्रधानमन्त्रीले नै गरेको र जनतालाई चित्त बुझ्दो काम गर्न नसकेको प्रष्ट भएको उनको भनाइ थियो । उनले भने, 'प्रधानमन्त्रीले दुई वर्षको फेहरिस्त प्रस्तुत गर्नलाई प्रयास गर्नुभयो । त्यहाँ उल्लेखनीय काम केही भएका छैनन् । काम नै भएका छैनन् भने के दम रहन्छ र ?' सरकारका कामलाई लिएर प्रधानमन्त्रीले दमदार प्रस्तुति दिन नसक्‍नुबाट नै सरकारका काम कस्ता भए भन्ने प्रष्ट भएको नेता सिंहको भनाइ थियो ।

पूर्वअर्थमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री ओलीले गरेको व्याख्या व्यवहारमा नमिल्ने बताए । महँगी बढेको र असुविधा बढ्दै गएका कारण नेपाली जनता निराश भएको दाबी गर्दै उनले भने,‘खास गरेर २ वर्षको सरकारको उपलब्धिको बारेमा जति प्रधानमन्त्रीले व्याख्या गर्नुभयो त्यो व्यवहारसँग नमिल्दो छ । अहिले नेपाली जनतामा निराशा छाएको छ । नेपाली जनता महँगीबाट आक्रान्त छन् । असुविधाबाट आक्रान्त छन् । जुन सपना बाँडिएको थियो र जुन सपनाको बारेमा अहिले व्याख्या गरिएको छ । त्यो केवल व्याख्या छ । यो वास्तविकतासँग त्यसले मेल खाइरहेको छैन ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको प्रगति सुनेर कांग्रेस लगायतका प्रतिपक्षी दल छक्क परेको दाबी गरे । उनले भने,‘कांग्रेसबाट विरोध आएन । कांग्रेसले चुप्प लागेर सुन्यो र प्रगति सुनेर कांग्रेस आफैं छक्क पर्‍यो । किन भने तथ्यांक यही हो र जनताकोबीचमा पनि यो पुग्छ । हामीले जे काम गरेका छौं त्यो प्रधानमन्त्रीले राम्रोसित राख्‍नुभयो र त्यसप्रति कांग्रेसको तर्फबाट प्रश्‍न आयो विरोध आएन ।

विकास बजेट खर्च हुन नसकेको आरोप खेपिरहेका अर्थमन्त्री युवराज खतिवडाले केही ठूला संरचना निर्माणमा स्वभाविक रूपमा समय लाग्ने प्रतिक्रिया दिए । तत्काल जति काम गर्न सकिने हो ती काम सम्पन्‍न भएको उनको भनाइ थियो । बैंकिङ क्षेत्रको सुधार, रोजगारका कार्यक्रम, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको भनाइ थियो ।

प्रकाशित : फाल्गुन ३, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?