१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सप्तरीमा इस्लामिक सम्मेलन सुरु

अवधेशकुमार झा

राजिवराज — मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा शनिबारबाट सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा सुरु भएको छ । करिब २ लाख मुसलमान सहभागी हुने बताइएको उक्त इस्लामिक सम्मेलनमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सप्तरीमा इस्लामिक सम्मेलन सुरु

आयोजकले सुरुमा नेपाल सरकारलाई नेपाल तथा भारतका सहभागी मात्र हुने बताएर अनुमति लिएको र पछि तेश्रो मुलुकका पनि सहभागी आएपछि सम्मेलन विवादित बनेको थियो ।


पाकिस्तान, बंगलादेश, साउदी अरेबिया, मलेसिया र थाइल्यान्डलगायतका मुलुकबाट आएका सहभागीहरुलाई शुक्रबार साँझ आयोजकले फिर्ता पठाएपछि शनिबारबाट सम्मेलन सुरु भएको हो । यद्यपि सप्तरी सदरमुकाम राजविराजका एक होटेलमा अझै पनि केही पाकिस्तानी नागरिकहरु रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । ३ दिनसम्म चल्ने सम्मेलनका लागि खड्ग नदी किनारस्थित जाजरमा ठूलो पण्डाल लर्गाएको छ ।


शनिबार बिहानसम्ममा एकलाख सहभागी आइसकेको र अझै आउने क्रम जारी रहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए । सम्मेलनलाई ध्यानमा राख्दै व्यापक संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्लाका सुरक्षा प्रमुखहरु आफैले पनि सम्मेलनस्थलको सुरक्षाको कमाण्ड सम्हालेका छन् ।


इस्लामिक सम्मेलनबारे भारतीय सुरक्षा अधिकारीहरुले पनि चासो देखाएका छन् । शुक्रबार दिउँसो सीमावर्ती लौकही थानाका प्रमुख अरविन्दकुमार इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा आएर सप्तरीका डिएसपी तिलक भारतीसहितका सुरक्षा अधिकारीहरुलाई भेटी सम्मेलनबारे छलफल गरेका थिए । थाना प्रमुख अरविन्दकुमारले सम्मेलनमा आएका पाकिस्तानी नागरिकको घुसपैठ भारततर्फ हुन सक्ने भएकोले आपूुहरुको चासो बढाएको बताए । ‘एकातर्फ सीएए र एनआरसीबारे मुस्लिम समुदाय आन्दोलनमा छ, अर्कोतर्फ पाकिस्तानी घुसपैठको खतरा पनि उतिकै छ,’ उनले कान्तिपुरसित भने, ‘हामीले सीमामा सशस्त्र सीमा सुरक्षा बलको संख्या समेत थप गरेका छौं, निगरानी र जाँचलाई पनि बढाएका छौं ’

प्रकाशित : फाल्गुन ३, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?