कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘भ्रूण हत्या’ आरोपपछि गाउँपालिका अध्यक्ष फरार

आनन्द गौतम

(फिदिम, पाँचथर) — अन्तर्जातीय विवाह गरेकी एक दलित युवतीको जबर्जस्ती गर्भपतन (भ्रूण हत्या) गराएको आरोप लागेपछि कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । 

अध्यक्ष चेम्जोङमाथि १९ वर्षीया किशोरीको २१ साताको गर्भपतन गराउन दबाब दिएको आरोप छ । पीडित युवतीले अध्यक्ष चेम्जोङसहित कुम्मायक–५ स्याबरुम्बाका रमेश खड्कासहित सात जनाविरुद्ध किटानी जाहेरी दिएकी छन् । विवाह गरेकाले आफ्ना श्रीमान् भनी दाबी गरेका खड्का पनि फरार छन् । प्रहरीका अनुसार जाहेरीका आधारमा तीन स्वास्थ्यकर्मी पक्राउ परिसकेका छन् । ‘गर्भपतन गराइएको भनिएको सदरमुकाम फिदिमको समर्पित अस्पतालका डाक्टरसहित तीन जना हिरासतमा छन् । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दै छौं,’ डीएसपी सिद्धराज न्यौपानेले भने । अध्यक्ष चेम्जोङलाई खोज्न गाउँपालिका कार्यालय र उनको निवाससम्म प्रहरी पठाए पनि नभेटिएको उनले बताए । ‘फोन सम्पर्क हुन सकेको छैन,’ उनले भने ।


पक्राउ नगर्न राजनीतिक दबाब नभएको र चेम्जोङ प्रहरीका लागि एउटा मुद्दाको प्रतिवादी भएको न्यौपानेले बताए । अध्यक्ष चेम्जोङले माघ २३ मा निर्णय गराई गाउँपालिकाको जिम्मेवारी उपाध्यक्ष सीता आचार्यलाई दिएका छन् । उपाध्यक्ष आचार्यका अनुसार अध्यक्षले घरायसी काम दर्साएर जिम्मेवारी दिएका हुन् । प्रहरीका अनुसार किशोरीको गर्भमा रहेको भ्रूण गत पुस २४ राति फालिएको थियो । किशोरीले किटानी जाहेरी भने झन्डै एक महिनापछि माघ २२ मा दिएकी थिइन् ।


मेगा बैंकको यासोक शाखामा कार्यरत खड्का र किशोरीबीच गत साउन २८ मा प्रेमविवाह भएको थियो । उनीहरूले स्थानीय शिवालय मन्दिरमा गएर विवाह गरेका थिए । त्यसपछि बसेको गर्भपतनका लागि रमेशका दाजु–दिदी, पालिका अध्यक्षले समेत दबाब दिएको जाहेरीमा उल्लेख छ । गाउँमै गर्भपतनको प्रयास भएको भन्दै गाउँका स्वास्थ्यकर्मी पनि तानिएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनअनुसार महिलाको मञ्जुरीमा १२ सातासम्मको मात्रै गर्भपतन गर्न मिल्छ । गर्भवतीको मानसिक र शारीरिक अवस्थामा जोखिम हुन सक्ने तथा विकलांग बच्चा जन्मिने अवस्था भए इजाजतप्राप्त चिकित्सकको रायपछि २८ सातासम्मको गर्भ फाल्न सकिन्छ । उक्त घटनाबारे प्रतिनिधिसभामा सांसद मीन विश्वकर्माले बोलेका छन् । पीडित किशोरीको न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?