३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जुर्मुराउँदै थारू आन्दोलन

सांसद रेशम चौधरीसहित ११ जनाको रिहाइ माग
मोहन बुढाऐर

(धनगढी) — टीकापुरमा भएको हिंसात्मक घटनापछि सामान्य बनेको थारू आन्दोलन फेरि जुर्मुराउन थालेको छ । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित ११ जना रिहाइसँगै १४ बुँदे माग राख्दै आन्दोलन चर्काउने घोषणा गरेका छन् । 

जुर्मुराउँदै थारू आन्दोलन

मोर्चाका अध्यक्ष लक्ष्मण थारूले अनिश्चितकालीन आमरण अनशनबाट आन्दोलनको सुरुवात भएको बताएका छन् । उनी बिहीबारदेखि धनगढीको क्याम्पस चोकमा अनशन बसेका छन् । शुक्रबार कोणसभा आयोजना गरेका उनीहरूले हरेक दिन शान्तिपूर्ण प्रदर्शन गर्ने बताए । ‘अब जीवनमरणकै आन्दोलन हुनेछ,’ मोर्चाका अध्यक्ष थारूले भने, ‘यसलाई यति बलियो र शान्तिपूर्ण तथा दबाबपूर्ण बनाउँछौं कि जसबाट सरकार हाम्रा मागलाई सम्बोधन गर्न बाध्य हुनेछ ।’ उनले आफ्नो अनशन थारूका अधिकार प्राप्त नहुन्जेल नटुट्ने बताए ।


उनका अनुसार १४ बुँदे माग छ । ‘मुख्य तीनवटा माग हुन्,’ उनले भने, ‘पहिलो माग टीकापुर घटनापछि झूटा मुद्दा लगाएर फसाइएका रेशम चौधरीसहित ११ जना कारागारका बन्दीको रिहाइ नै हो ।’


दोस्रो, तत्कालीन गृह मन्त्रालयका सचिव देवीराम शर्माको प्रतिवेदन र संविधान संशोधनमार्फत थारू अधिकारको मुद्दा सम्बोधन हुनुपर्ने माग रहेको उनले बताए । थारूले माघ १४ मा सरकारलाई ज्ञापनपत्र बुझाएर आमरण अनशनसहित शान्तिपूर्ण आन्दोलनमा उत्रेको बताएका थिए ।


यसअघि काठमाडौं र धनगढीमा बौद्धिक समाज र अधिकारवादी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए । ‘काराबासको बन्दी जीवनबाट मुक्त भएपछि एक वर्ष आफ्नो तयारी आन्दोलनलाई पुनः ब्युँत्याउनमा खर्चेको छु,’ उनले भने, ‘त्यसैले अबको आन्दोलन यसअघि जस्तो दबाउन सक्ने अवस्थाको हुनेछैन ।’ उत्कर्षमा पुगेको थारू आन्दोलन दबाउनकै लागि टीकापुरको हिंसात्मक घटना गराइएको उनले दाबी गरे ।


संविधान निर्माणका क्रममा ०७२ साउन–भदौमा महिनौंसम्म देशभर विभिन्न जातजाति र समुदायको पहिचानको आन्दोलन चलेको थियो । थारूहरूले पश्चिम नेपालका तराईका जिल्ला थरुहट प्रदेशको माग राख्दै आन्दोलन गरेका थिए । अर्कातिर अखण्ड सुदूरपश्चिमको आन्दोलन चलिरहेको थियो । कैलाली र कञ्चनपुरमा अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनको घम्साघम्सी र शक्ति प्रदर्शन दिनहुँ भइरहेको थियो । भदौ १० मा टीकापुरमा हिंसात्मक घटना भएको थियो । उक्त घटनामा एक नाबालक र वरिष्ठ प्रहरी अधिकृतसहित सातजना प्रहरी मारिएका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा २७ जना थारू नेता र कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । नेता लक्ष्मण थारूसहित १६ जना थारू ४२ महिनापछि जिल्ला अदालतको फैसलाबाट छुटेका थिए । जिल्ला अदालतले ०७५ फागुनमा १६ जनालाई तीन वर्षको कैद सजाय सुनाएको थियो । कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना अझै कैद सजाय भुक्तानी गरिरहेका छन् ।


थारू आन्दोलन परिचालन समितिका जिल्ला संयोजक माधव चौधरीले उक्त घटनाबाट पाठ सिकेर यो आन्दोलन बढी दबाबमूलक ढंगबाट चरम उत्कर्षमा पुर्‍याउने बताए । ‘यो आन्दोलन एक्लो थारूको मात्रै हुनेछैन,’ संयोजक चौधरीले भने, ‘अधिकार प्राप्तिका लागि संघर्षमा रहेका वर्ग, समुदाय सबैको हुनेछ ।’

प्रकाशित : फाल्गुन ३, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?